पोखरा – कास्कीको अन्नपूर्ण गाउँपालिका ६, लुम्लेमा अढाई बर्षका एक बालकको शव हत्या गरिएको अबस्थामा फेला परेको छ । स्थानीय सन्तोष विकका साढे दुई बर्षका छोरा सन्देशको शव गाउँ नजिकैको ठाडे भीरको जंगलमा फेला परेको हो । घोप्टो परेको अवस्थामा स्थानियबासीले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । शवको प्रकृति हेर्दा वालकको टाउको, निधार र दाहिने हातमा गम्भिर चोट लागेकोले कसैले हत्या गरी जंगलमा लगेर छाडिदिएको आशंका गरिएको छ । शव फेला परेको स्थानभन्दा करिव ७५ फिट पर घटनास्थल बच्चाको चप्पल र टोपी फेला परेको स्थानीयवासीले वताएका छन । बच्चाको हजुरवुवा बलवहादुरले शनिवार एघार बजेसम्म घरमै भएको बच्चा आईतवार विहान आठ वजेतिर भीरमुनि भेटिएको वताए । बालक सन्देसको शव फेला परेपछि घर परिवारमा रुवावासी मच्चिएको छ । गाउँलेहरुले घटनाको गम्भिर छानवीन गरी दोषिमाथि कडा भन्दा कडा कार्वाहीको माग गरेका छन । बच्चा कहाँवाट, कस्ले कसरी लग्यो भन्ने वारेमा केहि थाहा नभएको परिवारले वताएका छन ।
घटनास्थल घरदेखि करिव २५ मिनेटको पैदल दूरीमा पर्दछ । बालक शनिवारदेखि हराएका थिए । लुम्लेको ठाडो भीरको जरास्थित गुप्तेको कुना जंगलमा आईतवार भेटिएको लुम्ले गाउँपालिका वडा नं ६ का वडाध्यक्ष चुत्रवहादुर गुरुङ्गले वताए । स्थानीयवासीले खवर गरेपछि प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बालकको टाउकोमा चोट लागेको देखिएको वताउँदै अनुसन्धान शुरु गरिएको वताए । बालकको शवको पोष्टमार्टम गरेर आफन्तलाई बुझाईएको प्रहरीले जनाएको छ ।