काठमाडौँ -नेपाल आयल निगमले विहीबार मध्यराति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर पाँच रुपयाँ बढाएपछि इन्धनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।
प्रति लिटर ९३ रुपयाँमा खरिद गरेको पेट्रोल एक सय ५० रुपयाँमा बिक्री गर्दा पनि निगमले अझै प्रति लिटर १६ रुपयाँ घाटा देखाउँदै फेरि उपभोक्ताको खल्ती लुटने दाउ रचेको छ । मूल्य बृद्धि पछि अव उपभोक्ताले पेट्रोल प्रतिलिटर १ सय ५०, डिजेल १ सय ३३ र मट्टीतेल १ सय ३३ रुपैयाँ तिर्नुपर्नेछ ।
इन्डियन आयल कर्पोरेसन आईओसीले ३ दिनअघि मार्च १ मा पठाएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । सर्वसाधारणले धान्नै नसक्ने गरी मूल्य बढाए पनि सरकारले इन्धनमा लगाएको अनावश्यक कर घटाएर राहत दिन भने कुनै चासो दिएको छैन । आईओसीबाट ९३ रुपैयाँ ७६ पैसामा खरिद गरेको पेट्रोलमा ५९.४८ रुपैयाँ र ९४ रुपैयाँ १२ पैसामा खरिद भएको डिजेलमा ४२.१६ रुपैयाँ कर लाग्छ । त्यस्तै ८८.८३ रुपैयाँमा किनिएको मट्टीतेलमा १३.३६ रुपैयाँ र १६४१.२३ रुपैयाँमा खरिद गरेको ग्यासमा २८०.३० रुपैयाँ कर लाग्ने गरेको छ । त्यसबाहेक निगमको खर्च, ढुवानी भाडा, पेट्रोलियम विक्रेता खर्चरमुनाफासहित जोडेर बिक्री मूल्य तय हुन्छ ।
निगमले इन्धनमा अझै घाटा रहेको जनाएको छ । पेट्रोलमा १६ रुपैयाँ २८ पैसा र डिजेलमा ११ रुपैयाँ ७८ पैसा घाटा हुने निगमको दाबी छ । मट्टीतेलमा भने निगमलाई प्रतिलिटर १९ रुपैयाँ ५१ पैसा नाफा छ । पूर्वाधारका नाममा प्रतिलिटर १५ रुपैयाँ कर थपिए पनि त्यस्तो बचत सरकारी कोषमा छैन । सुरुमा बूढीगण्डकी जलविद्युत् परियोजनाका नाममा रकम उठाउन थालिए पनि यो परियोजना सुरु भएको छैन । रकम विभिन्न पूर्वाधारमा खर्च भएको अर्थ मन्त्रालयका अधिकारीहरूको दाबी छ ।
‘द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य अस्वाभाविक रूपमा बढिरहेको छ, मूल्य समायोजन नहुँदा निगमको १५ दिनको नोक्सानी ३ अर्ब ९ करोड थियो,’ निगमका सहप्रवक्ता पुष्कर कार्कीले भने, ‘समायोजनपश्चात् निगमको नोक्सानी ५९ करोड घटेको छ । अब १५ दिनको नोक्सानी २ अर्ब ५० करोड हुने अनुमान छ ।’
कार्कीका अनुसार स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार निगम व्यवस्थापनले सानो अंक करिब ३ रुपैयाँसम्म मात्रै समायोजन गर्न सक्छ । उक्त अंकले घाटा खासै कम नभएपछि निगम सञ्चालक समितिले प्रतिलिटर ५ रुपैयाँ बढाउने निर्णय गरेको कार्कीले जानकारी दिए । ‘चालु आर्थिक वर्ष २०७८र७९ को फागुन मसान्तसम्म निगमलाई करिब २८ अर्ब नोक्सानी भएको छ,’ उनले भने, ‘यही अवस्था रहे ऋण लिएर आपूर्ति व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’
निगमले लागू गरेको मूल्यले नेपालमा नयाँ रेकर्ड कायम गरेको छ । यसअघि गत माघ १९ मा मूल्य समायोजन गर्दा पेट्रोल प्रतिलिटर १ सय ४२ रुपैयाँ पुगेको थियो । उक्त मूल्य पनि इतिहासकै उच्च थियो । २०७० फागुन ३० मा पेट्रोल प्रतिलिटर १ सय ४० रुपैयाँ पुगेको थियो । २०७३ साउनमा घटेर प्रतिलिटर ९७ रुपैयाँ भएको थियो ।
उतारचढाव हुँदै २०७६ चैतमा फेरि ९७ रुपैयाँ कायम भएको थियो । त्यसयता निरन्तर मूल्य बढिरहेको छ । पेट्रोलसँगै डिजेल र मट्टीतेलको मूल्य पनि इतिहासकै उच्च हो ।
‘तत्काल राहत दिन अनावश्यक कर घटाउनुको विकल्प नभएको जानकारहरू बताउँछन् । ‘नोक्सानीबाट बचाउन कर्मचारीलाई दिँदै आएको पोसाक संरक्षण खर्च कटौती र मूल्य संरचनामार्फत प्रतिशतमा दिइँदै आएको विक्रेता कमिसन हाललाई २०७८ फागुन ७ मा कायम भएअनुरूप यथावत् राखेका छौं,’ निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले भने, ‘तत्काल राहतका लागि प्रतिलिटर ५र१० रुपैयाँ कर छुट गर्नैपर्छ ।’
पेट्रोल रु ९३ मा किनेर १५० बेच्छ, तर भन्छ १६ रुपैयाँ घाटा भयो
पेट्रोल रु ९३ मा किनेर १५० बेच्छ, तर भन्छ १६ रुपैयाँ घाटा भयो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु