काठमाडौँ-आफुलाई चोरीको झुठो मुद्दा लगाएर मानसिक यातना दिएको भन्दै एकै परिवारका पाँच जनाले विष सेवन गरेर आत्महत्याको प्रयास गरेको घटनाका आरोपिहरुमाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
विष सेवन अघि लेखिएको सुसाइड नोटमा आरोप लगाइएका ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, कर्मचारी र अन्य व्यक्तिमाथि प्रहरीले अनुसन्धान थालेको हो ।
काठमाडौंको नागार्जुन–६ रामकोट डाँडापौवामा भएको घटनामा सामूहिक विष सेवन अघि सेवनकर्ताहरुले आफुलाई दुःख दिने सहकारीका कर्मचारीहरुको नाम र सम्पर्क नम्वरसहितको सुसाईट नोट लेखेर छाडेका थिए । अहिलेको स्वार्थी समाजमा बाँच्नका लागि चौतर्फि ठक्कर र हण्डर खेप्नु परेको वताउँदै उनीहरुले निरासा भएर तीन दिनअघि नै सामुहिक बिष सेवन गर्ने योजना बनाएको खुलेको छ । सोमबार राति प्रधान परिवारका ५ जनाले विष सेवन गरेका थिए, एक जनाको मृत्यु भएको छ ।
काठमाडौं–१५ डल्लु स्थायी घर भएका प्रधान परिवार रामकोटमा डेरा बस्दै आएका थिए । घटनामा ३८ वर्षीय भीममान प्रधान, उनकी ६२ वर्षीया आमा इन्दिरामाया, ३५ वर्षीया श्रीमती मन्दिरा प्रधान, ११ वर्षीया छोरी सुप्रिना र ३३ वर्षीय भतिज सुवर्णमान प्रधानले सोमबार राति विष सेवन गरेका थिए ।
विष सेवनअघि सुवर्णले आफूहरूले ‘आत्महत्या गर्न लागेको’ भन्दै केही आफन्तलाई ‘सुसाइट नोट’ पठाएको खुलेको छ । त्यसको केही समयमै आफन्त र प्रहरी डेरामा पुग्दा इन्दिरामाया, भीममान र सुप्रिया एउटा कोठामा, मन्दिरा र सुवर्णमान छुट्टाछुट्टै कोठामा बेहोस भेटिएका थिए ।
प्रहरीले तत्काल मनमोहन मेमोरियल अस्पताल सीतापाइला पुर्याए पनि सुवर्णमानको मृत्यु भएको थियो । बाँकी चार जनाको सोही अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताए ।
उनीहरू डा.उद्धव पुरीको घरमा ४ महिनादेखि बस्दै आएका थिए । प्रहरीले घटनास्थलबाट औंठाछाप सहितको ७ पेज लामो सुसाइड नोट बरामद गरेको छ । भीममानको कोठामा भेटिएको नोटमा आफू ‘दुनियाँदेखि नै दुःखी र पीडित’ भएको उल्लेख गरेका छन् । आफूले ६ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको समेत उनले खुलाएका छन् । इन्दिरामाया क्यान्सरपीडित र सुवर्णमान पनि दीर्घरोगी भएको खुलेको छ । डिप्रेसनमा रहेको, कमजोर आर्थिक अवस्था र बिरामी परिवारका सदस्यको हेरचाह गर्नुपर्ने कारण भीममान तनावमा रहेको हुन सक्ने प्रहरीको भनाइ छ ।
उनकी श्रीमती मन्दिरा ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थामा रकम संकलनकर्ताका रूपमा काम गर्थिन् । सदस्यबाट उठाएको करिब ७ लाख रुपैयाँ हिनामिना भएको भन्दै सहकारी व्यवस्थापकले आरोप लगाएपछि दुई पक्षबीच खटपट सुरु भएको थियो । सहकारीको उजुरीपछि प्रहरी वृत्त जनसेवाले शुक्रबार मन्दिरालाई छलफलका लागि बोलाएको थियो ।
जेठाजु कुमार प्रधानले ‘बोलाएका बेला उपस्थित गराउने’ सर्तमा जिम्मा लिएर फर्किएका थिए । प्रहरीबाट छुटेको साँझ मन्दिराका श्रीमान्ले सुसाइड नोट लेखेर योजनाबद्ध रूपमा परिवारले नै विष सेवन गरेको हुन सक्ने प्रहरीको आशंका छ । घटनास्थलबाट दुई किसिमका विषादीका खोल तथा प्याकेट नखोलिएका केही कीटनाशक औषधि पनि भेटिएको छ ।
सुसाइड नोटमा सहकारीले मानसिक यातना दिएको उल्लेख गर्दै संस्थाका ६ जना कर्मचारीको परिचय र मोबाइल नम्बर पनि छ । ‘सामूहिक आत्महत्या गर्दै छौं । हाम्रो मृत्यु भइसकेपछि कसैले नोट भेटाउँदा नच्याती सुरक्षित राखिदिनू’ भनेर लेखिएको नोटमा भीममान दम्पतीले हस्ताक्षर गरेका छन् भने अन्यको औंठाछाप छ । नोटमाथि परीक्षणपछि यकिन हुने एसपी मैनालीले बताए ।
भीममानले आफूलाई ठूलो बुद्ध चोकमा एक व्यक्तिले जुत्ताले हानेको र परिवारका सबै सदस्यलाई मार्नेसम्मको धम्की दिएको लेखेका छन् । अर्का एक जनासँग गाडी किनेको र लकडाउनमा पैसा तिर्न नसक्दा फिर्ता लगी धम्क्याएको समेत उल्लेख छ ।
तीनको अबस्था चिन्ताजनक, एकको सुधारोन्मुख
सामुहिक बिष सेवनपछि गम्भिर घाईते भएर उपचार गराईरहेका चार मध्ये तीन जनाको अवस्था चिन्ताजनक भएको र एक स्वास्थ्य अवस्था सुधारोन्मुख भएको अस्पतालले जनाएको छ ।
भीममान प्रधान, उनकी आमा ६२ वर्षीया इन्दिरामाया र ११ वर्षकी छोरी सुप्रियाको अवस्था गम्भीर भएको हो। भीमकी श्रीमती ३५ वर्षकी मन्दिरा प्रधानको भने स्वास्थ्यमा सुधार भएको अस्पतालले जनाएको छ । सँगै विष पिएका ३३ वर्षीय सुवर्णमान प्रधानको भने सोमबार राति साढे १० बजे मृत्यु भएको थियो ।