पोखरा- स्वदेशमा पुगेर विदेशमा बसेका अभियुक्तलाई प्रहरीले १६ बर्षपछि अन्र्तराष्टिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ गरेको छ ।
पोखरा सात मुहानेका अशोक गुरुङलाई हत्याको १६ बर्षपछि पक्राउ गरेको हो । अभियुक्त राईले सुनसरीवाट पोखरामा मजदूरी गर्न आएका २० बर्षिय रोजन राईलाई १६ बर्षअघि हत्या गरेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मंगलवार नेपाल ल्याईएका अभियुक्त गुरुङलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीको अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापाले बुधवार पत्रकारहरुसँगको भेटमा पोखरा सातमुहाने घर भएका गुरुङ हत्याको घटनापछि कुवेत र बहराइन पुगेका वताए ।
घटनाका प्रत्यक्षदर्शीको भनाइ र घटनास्थल मुचुल्काका आधारमा अनुसन्धान अघि बढाइ गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले वताए ।
प्रहरीका अनुसार यस्तो थियो घटना
मजदूरीका लागि पोखरा झरेका धरानका रोजन तत्कालिन लेखनाथ नगरपालिका–१३, सातमुहानेस्थित खुदी खोलामा ग्याबिन तारमा ढुंगा भर्ने काम गर्थे । प्रहरीका अनुसार २९ वैशाख ०६३ को राति करिब ८ः४५ बजे गुरुङले राईलाई दाउराले कुटपिट गरी सिकिस्त बनाएका थिए ।
राईको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारकै क्रममा २ जेठ २०६३ मा उनको मृत्युपछि गुरुङ फरार भएका थिए ।
घटनाको अनुसन्धान अघि बढाएको प्रहरी गुरुङसम्म पुग्न सकेन । त्यसको फाइदा उठाउँदै उनी काठमाडौंबाट पोखरा फर्किएर १० लाख रुपैयाँ लिएर भारत हुँदै कुवेत पुगे । ‘प्रहरीले सम्पूर्ण डाटाबेस राखेको थिएन । तर, उनी आफैं हत्या पश्चात भाग्दै हिँडेको देखियो । पोखरा आउँदा पनि राति दुई बजे आएको देखिन्छ,’ एसपी थापाले भने ।
दुई वर्ष कुवेत बसेर नेपाल फर्किएका गुरुङ काठमाडौंमा बस्न थाले । २०६६ सालतिर उनी फेरि बहराइन गए । बहराइनबाट भने नेपाल फर्किएका थिएनन् । गुरुङ नभेटिएपछि हत्याको अनुसन्धान भने थाती नै रह्यो ।
गत असारमा कास्की प्रहरी प्रमुख भएर आएका एसपी रमेश थापाले ११ भदौ मा रोकिएका फाइलको अनुसन्धान अघि बढाउन निर्देशन दिए । प्रहरीले तत्कालीन समयको मुचुल्का नियाल्यो, घटनाका प्रत्यक्षदर्शीसँग सोधपुछ ग¥यो । घटनाका प्रत्यक्षदर्शीले अन्दाजी ३२÷३३ को पुरुषले राईलाई कटुसको दाउराले प्रहार गरेको देखेको र छेक्ने र छुटाउने कामसमेत गरेको प्रहरीमा बयान दिए ।
‘मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै रोजनलाई तेरो घर कहाँ छ ? के काम गर्छस् ? को हो भन्दै गालामा एक थप्पड हानेपछि उनी भाग्दै सिसुवातर्फ भागे । त्यसपछि पनि पछिपछि लखेट्दै गएको थियो,’ प्रत्यदर्शीको भनाइ उधृत गर्दै डीएसपी तिवारीले भने, ‘केही पर पुगिसकेपछि केही हल्ला भएको सुनियो । त्यहाँ पुगेर हेर्दा उनले राईको टाउकोमा समेत चोट लागेको देखियो ।’
अनुसन्धानपछि प्रहरीले थाहा पायो, घटनाका आरोपी अशोक गुरुङ हुन् । तर, उनी बहराइनमा थिए । त्यसपछि प्रहरीले ७ असोज २०७८ मा जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लियो ।
१२ अरोजमा प्रहरीले इन्टरपोलको सहयोग रेड नोटिस जारी गर्न आवश्यक कागजपत्र पठायो । २८ मंसिरमा रेड नोटिस जारी भयो र त्यसैका आधारमा आरोपी गुरुङलाई १ पुसमा बहराइन पुलिसले पक्राउ गर्यो ।
कूटनीतिक प्रक्रिया पूरा गर्नुपर्ने भएकाले नेपाल ल्याउन लामो समय लागेको एसपी थापाले जानकारी दिए । ‘पीडितको पक्षमा राज्यले जनुसुकै बेला पनि सहयोग गर्छ । अपराध गरिसकेपछि कोही त्यसबाट भाग्न सक्दैन भन्ने देखाएका छौं,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
मृतकका आफन्त सम्पर्कमै छैनन्
१६ वर्षअघिको घटनाको फाइललाई पुनः अनुसन्धान प्रक्रिया अघि बढाएर प्रहरी अभियुक्तसम्म पुग्यो । तर, मृतक राईको आफन्त भने अझै फेला पर्न सकेका छैनन् ।
राई कसरी पोखरा आइपुगे र उनका आफन्तबारे अझै सम्पर्क हुन नसकेको एसपी थापा सुनाउँछन् । ‘आफन्त मृतकका कोको हुनुहुन्छ अझै थाहा छैन । अर्को जिल्लाबाट अर्को जिल्लामा काम गर्न आएकाले पनि पहिचान गर्न गाह्रो भइरहेको छ,’ उनले भने ।
मृतक राईको ठेगानासमेत तत्कालीन समयको मुचुल्काका आधारमा मात्रै पत्ता लागेको एसपी थापाले जानकारी दिए । ‘घटना एकदमै पुरानो हो । अहिले हामी सम्बन्धित ठाउँका प्रहरी, प्रशासनसँग समन्वय गरेर मृतकका आफन्त पहिचान गर्ने प्रयासमा छौं,’ उनले भने ।