संखुवासभा -संखुवासभाको मादी नगरपालिका ६, सातघुम्तीको भीरमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ । गम्भिर पाँच घाईतेको उद्धार गरी चैनपुर स्वास्थ्यचौकीमा लगिएको छ । मादीबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस सातघुम्तीको भीरवाट करिव तीन सय किलोमिटर खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
बस अप्ठारो ठाउँमा अड्किएकोले घाईते तथा मृतकको उद्धार गर्न कठिनाई भएको मादी नगरपालिका वडा नं ६ का वडाध्यक्ष धननारायण तामांगले आवर अल न्यूजलाई वताए । अहिलेसम्म वाटोमा १२ जनाको शव ल्याईएको र बाँकीको शव निकालेर ल्याउने प्रयास भईरहेको वडाध्यक्ष तामांगले वताए । उनले तीन जना घाईतेलाई उद्धार गरी अस्पतालतर्फ पठाइएको जानकारी दिए । दुर्घटनामा परेकाहरुको सनाखत हुन बाँकी रहेको छ । बस भीरवाट खसेर ठुलो ढुंगामा बजारिएपछि फेरि तल खोचमा खसेकोले ठुलो मानवीय क्षति हुन पुगेको वडाध्यक्ष तामांगले वताए ।
दुर्घटनापछि आफन्त र गाउँलेहरु घटनास्थलमा आईपुगेका छन । घटनास्थलमा रुवावासी मच्चिएको छ । मृतक १४ मध्ये धेरै जनाको सनाखत भएकोले मृतकहरुको शव र घाईतेहरुको उद्धार गर्न निकै समस्या भएको मादि नगरपालिका ५ का वडाध्यक्ष नेत्र दाहालले आवर अल न्यूजलाई वताए । घटनास्थल चिप्लो र भीरालो भएकोले जुत्ता, चप्पल लगाएर जान नसकिने भएकोले उद्धार टोलीलाई कठिनाई भएको दाहालले वताए । सालघारीको भीरमा बस खसेपछि विहानैदेखि उद्धारमा खटिएका टोलीले पानी समेत नखाईकन मेहनत गरेका थिए । दाहालले बसमा १९ यात्रु रहेकोमा जिवितै उद्धार गरिएका पाँच घाईतेलाई चैनपुर स्वास्थ्यचौकीमा लगिएको जानकारी दिए । घटनास्थलमा अहिले स्थानीयवासी र सुरक्षाकर्मीको टोली उद्धारमा खटिएकोले प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले वताए ।