धनगढी – सेती प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीको उपचारका लागि एक करोड ४६ लाखमा खरिद गरिएका सातवटा डायलाइसिस मेसिन ६ महिनादेखि भर्याङमुनि बेवारिसे छन् । नयाँ मेसिन अलपत्र पारेर बिरामीको डायलाइसिस गराउने ठेक्का भने निजी कम्पनी विरंग हेल्थ केयरलाई दिइएको छ, जसबापत पछिल्लो सात महिनामा मात्रै अस्पतालले ४८ लाख उसलाई बुझाएको छ ।
संघ सरकारले गत जेठमा बजेटको सुनिश्चितता गरेपछि अस्पतालले मेसिन खरिदका लागि असारमा टेन्डर आह्वान गरेको थियो । टेन्डर पारेको जेएस मेडिहेल्थ कन्सर्न भक्तपुरले असोजमा अस्पताललाई मेसिन उपलब्ध गराएको थियो । तर, भुक्तानी नगर्दा मेसिन भर्याङमुनि प्लास्टिकले छोपेर छाडिएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। हेमराज पाण्डेयले संघीय सरकारले बजेट दिने सुनिश्चितता गरेपछि मेसिन खरिद गरिएको, तर अहिलेसम्म बजेट प्राप्त नहुँदा कम्पनीलाई पैसा दिन नसकेर मेसिन अलपत्र परेको बताए । ‘संघले बजेट दिने सुनिश्चितता गरेपछि हामीले टेन्डर प्रक्रियाबाट डायलाइसिस मेसिन खरिद गर्यौँ । तर, आपूर्तिकर्ता कम्पनीलाई एकसुको भुक्तानी दिन नसक्दा मेसिन हस्तान्तरण नै भएको छैन । सातवटै मेसिन भर्याङमुनि त्यसै थन्क्याउनु परेको छ,’ उनले भने, ‘कम्पनीलाई भुक्तानी गरेपछि मात्रै उसले मेसिन जडान गरिदिन्छ । हामीले स्वास्थ्य मन्त्रालयमा पटक–पटक ताकेता गरेका छौँ, तर पैसा कहिले आउने हो टुंगो छैन ।’
कोरोना संक्रमणको दोस्रो लहरका वेला संक्रमित मिर्गौला रोगीहरूको डायलाइसिसमा समस्या भएपछि संघ सरकारले मेसिन खरिदका लागि अनुमति दिएको थियो । तर, तेस्रो लहरसमेत आएर मत्थर भइसक्दासम्म बजेट निकासा नगर्दा मेसिन जडान हुन सकेका छैनन् । मेसिन खरिदसम्बन्धी सम्झौता अवधि पनि चैत मसान्तसम्म मात्रै छ ।
स्वास्थ्य मन्त्रालयको नीति योजना शाखाका उपसचिव प्रकाश अधिकारीले अर्थ मन्त्रालयमा फाइल पुगे पनि स्वीकृत नभएको बताए । ‘बजेट मागको फाइल अर्थ मन्त्रालयमा पुगेको छ, तर स्वीकृत भएको छैन,’ उनले भने, ‘अर्थले स्वीकृत गरेपछि अस्पतालले माग गरेअनुसार रकम निकासा हुन्छ ।’
सेती प्रादेशिक अस्पतालको भुइँतलाको भर्याङमुनि प्लास्टिकले छोपेर ६ महिनादेखि थन्क्याइएका डायलाइसिस मेसिन
मेसिन राख्न भौतिक संरचना र जनशक्ति पनि अभाव
संघीय सरकारले बजेट नदिँदा मेसिन बेवारिसे भए पनि सेती अस्पतालमा मेसिन जडान गर्ने संरचना र सञ्चालन गर्ने जनशक्ति पनि छैनन् । मेसिन जडान गर्ने ठाउँकै अभाव छ । मेसु पाण्डेय भने डायलाइसिस मेसिन जडान गर्ने ठाउँको व्यवस्थापन भइरहेको दाबी गरे ।
‘ठाउँ अभावकै कारण मेसिन जडान रोकिएको होइन । मेसिन चलाउन सक्ने केही जनशक्ति हामीसँग छ । केहीलाई तालिममा पठाउँदै छौँ,’ उनले भने, ‘सुरुमा यहीँँको जनशक्तिबाट काम चलाउन सकिन्छ । थप जनशक्ति पनि प्रदेश सरकारसँग मागेका छौँ ।’ डायलाइसिस सेवा सञ्चालनका लागि डाक्टर, नर्स, मेसिनसम्बन्धी विज्ञ, सरसफाइ कर्मचारीलगायत ठूलै जनशक्ति आवश्यक पर्ने उनले बताए ।
अस्पतालका सात मेसिन थन्किँदा सरकारले ठेक्का लगाएको निजी कम्पनी विरंग हेल्थ केयरले थप्यो ६ मेसिन, एक बिरामीको एकपटक डायलाइसिस गर्दा पाउँछ २५ सय सुदूरपश्चिममा मिर्गौलाका बिरामीको डायलाइसिसका लागि संघ सरकारले विरंग हेल्थ केयरलाई ठेक्का दिएको चार वर्ष भयो । २८ जेठ ०७५ देखि सेती अस्पतालकै भवनमा उसलाई डायलाइसिस सेन्टर सञ्चालन गर्न दिइएको थियो । विरंगले एक बिरामीलाई एकपटक डायलाइसिस गराएको दुई हजार पाँच सय रुपैयाँ पाउँछ । यो रकम सरकारले तिर्छ । विगतमा पाँचवटा मेसिन सञ्चालन गरेको विरंगमा डायलाइसिसको पालो नपाएपछि कैयौँ बिरामी राजधानी काठमाडौं वा भारत जान बाध्य थिए ।
तर, अस्पतालले आफ्नै मेसिन खरिद गरेपछि भने उसले ६ मेसिन थपेर ११ वटा पु¥याएको छ । थपेका ६ मेसिनबाट यही महिनादेखि सेवा दिन थालेको हो । डेढ करोडमा किनेका मेसिन प्रयोगविहीन बनाएर सरकारले निजी कम्पनीलाई हरेक महिना लाखौँ रुपैयाँ बुझाउँदै आएको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म सात महिनामा मात्रै ४८ लाख बुझाएको सेती अस्पतालले जनाएको छ ।
हाल विरंगमा ७२ बिरामीले डायलाइसिस गराउँदै आएको व्यवस्थापक दीपक भट्टले बताए । केही बिरामीको हप्तामा दुईपटक र केहीको एकपटक डायलाइसिस हुन्छ । विरंगले डायलाइसिस गराएका बिरामीको नाम अनलाइन सिस्टममा इन्ट्री गरेपछि स्वास्थ्य मन्त्रालयले रुजु गरेर सेती अस्पताललाई रकम उपलब्ध गराउँछ र अस्पतालले भुक्तानी दिन्छ ।
बिरामीले नाम टिपाएको एक वर्षसम्म पनि डायलाइसिसको पालो पाएनन्
अस्पतालमा करोडौँ खर्चेर ल्याइएका मेसिन ६ महिनादेखि बेवारिसे पारिँदा मिर्गौलाका बिरामी भने डायलाइसिस गर्न नपाएर भौँतारिए । विरंग हेल्थ केयरमा पाँचवटा मेसिन मात्रै सञ्चालन हुँदा कैयौँ बिरामी पालो नपाएर काठमाडौं वा भारतसम्म पुगेको गुनासो गर्छन् । अहिले उसले ६ मेसिन थप्दा बिरामीलाई केही सहज भए पनि अझै सबैले बेलैमा पालो पाउन मुस्किल छ ।
२५ वर्षीय छोरा महेन्द्रको भारतमा डायलाइसिस गराउँदै आएका कैलाली सुखडका शिवचरण डगौराले एक महिनाको प्रयासपछि बल्ल सेतीमा पालो पाएको बताए । ‘एक महिनाको प्रयासपछि अहिले मुस्किलले पालो पाइयो,’ उनले भने ।
विरंग डायलाइसिस सेन्टरका व्यवस्थापक दीपक भट्टले विगतमा बिरामीले नाम टिपाएको एक वर्षसम्म पनि पालो नपाएको स्वीकार गरे । यही महिनादेखि आफूहरूले ६ वटा मेसिन थपेपछि केही सहज भएको उनको दाबी छ । ‘विगतमा नाम टिपाएको एक वर्षसम्म पनि बिरामी पालो कुरेर बसे । कोही भारत र कोही काठमाडौं गएर डायलाइसिस गराए,’ उनले भने, ‘तीमध्ये अधिकांशले अहिले यहीँबाट सेवा पाएका छन् ।’ अन्य कतिपय बिरामी अझै पनि डायलाइसिसका लागि अन्यत्र जान बाध्य छन् । सेती अस्पतालले पनि केही महिनादेखि दुईवटा डायलाइसिस मेसिन सञ्चालन गरिरहेको छ । ती मेसिनबाट आकस्मिक कक्षमा भर्ना हुने बिरामीलाई सेवा दिने गरेको छ ।
देशभर १७ हजारभन्दा धेरै मिर्गौलारोगी, करिब ६ हजारले गराउँछन् डायलाइसिस
७० अस्पतालमा मात्रै निस्शुल्क डायलाइसिस सेवा, बिरामीलाई पालो पाउनै कठिन
स्वास्थ्य मन्त्रालयका अनुसार हरेक वर्ष तीन हजार मिर्गौलारोगी थपिन्छन् । हाल देशभर १७ हजारभन्दा धेरै मिर्गौलारोगी छन् । यीमध्ये पाँच हजार आठ सय डायलाइसिस गराउनुपर्ने बिरामी छन् । तर, देशका सीमित अस्पतालमा मात्रै निःशुल्क डायलाइसिसको व्यवस्था छ ।
स्वास्थ्य मन्त्रालयले ७० अस्पताललाई मात्रै निःशुल्क डायलाइसिस सेवा दिने अस्पतालमा सूचीकृत गरेको छ । यी अस्पतालमा पाँच सय ५६ डायलाइसिस मेसिन छन् । तीन हजार सात सय ८७ बिरामीले यहाँ डायलाइसिस सेवा लिइरहेका छन् । यी अस्पतालबाट विपन्न बिरामीले आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि उपचार र निःशुल्क डायलाइसिस सेवा पाउँछन् ।
अधिकांश बिरामी विपन्न तथा दुर्गम क्षेत्रका भएकाले डायलाइसिसमा समस्या भोगिरहेका छन् । दुःखले गाउँबाट अस्पतालसम्म पुग्ने, तर वेलामा डायलाइसिसको पालो नपाउने समस्या छ ।
सरकारले अल्पकालीन रूपमा मिर्गौलाले काम नगरेको बिरामीलाई डायलाइसिसबापत एक लाखसम्मको सहुलियत दिने गरेको छ । त्यस्तै, दुवै मिर्गौला फेल भएर डायलाइसिस तथा प्रत्यारोपण गर्न नमिल्ने वा नपर्ने बिरामीलाई औषधोपचारका लागि एक लाखसम्मको सुविधा उपलब्ध गराउँछ । मिर्गौला प्रत्यारोपणका लागि चार लाखसम्म दिन्छ भने प्रत्यारोपणपछि औषधि सेवनका लागि एक लाखसम्म दिन्छ ।
-नयाँपत्रिका दैनिक