काठमाडौं – मणिपाल शिक्षण अस्पताल पोखरा किन्छु भन्दै नक्कली कागजात बनाई ठगी गरेको आरोपमा पक्राउ परेका शिवम् भीरामुथु पुर्पक्षका लागि कारागार चलान भएका छन्।
४४ वर्षीय भीरामुथु जिल्ला अदालत काठमाडौंको आदेशले गत मंसिर २१ गते जेल चलान भएका हुन्।
भीरामुथु अहिले डिल्लीबजार कारागारमा रहेको प्रहरीले जनाएको छ। भारतको चेन्नई घर भएका भीरामुथुलाई नक्कली कागजात बनाएर ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरेको थियो।
भीरामुथुलाई पोखराको मणिपाल मेडिकल कलेज खरिद गर्छु भनी ठगी गरेको, एनएमबी बैंकलाई ठगी गरेको आरोप थियो।
भीरामुथुले मणिपाल मेडिकल कलेज खरिद गर्ने बहानामा एक जना डाक्टरबाट ५० लाख रुपैयाँ ठगी गरेका थिए। एनएमबी बैंकको भने नक्कली कागज बनाएका थिए।
भीरामुथुले पशुपति मन्दिरका भट्टलाई आफू अन्तर्राष्ट्रिय रेडक्रसको डाइरेक्टर, योङ लिआन ग्रुप रियालिटी मलेसियाको सिइओ र मिलेनियम ग्रुप सिंगापुरको निर्देशक बताएका थिए। विश्वासका लागि कागजातसमेत देखाएका थिए।
पशुपतिका भट्टकहाँ भेट्न जाने एक डाक्टरलाई आफू लिआन ग्रुपको सिइओ हुँ भन्दै उनले परिचय गरेका थिए। बिस्तारै सम्पर्क बढ्दै जाँदा मणिपाल मेडिकल कलेज खरिद गर्ने भनी ५० लाख रुपैयाँ फुत्काएका थिए।
योङ लिआन ग्रुप मलेसियाको चर्चित कम्पनी हो। यसको सेयर नेपालको एनएमबी बैंकमा छ। २०५४ सालमै यो कम्पनीको सेयर एनएमबी बैंकमा तीन करोड थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ठगी मुद्दामा भीरामुथुकी श्रीमतीको नाममा पक्राउ पूर्जी जारी भएको छ। प्रहरीले भीरामुथुकी श्रीमतीलाई भने फेला पार्न सकेको छैन।
भीरामुथु भिआइपीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसको डाइरेक्टर भन्ने गर्थे। सो परिचय दिँदै भीरामुथुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सम्बन्ध बनाएका थिए।
मणिपाल किन्छु भन्दै ठग्ने भीरामुथु जेलभित्र
मणिपाल किन्छु भन्दै ठग्ने भीरामुथु जेलभित्र

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु