रामेछाप- दही चोर्न भित्र बसेर घर नै बिटुलो बनाईदिएको भन्दै एक दलित बालिकालाई बाँधेर कुटपीट गरिएको छ । मन्थली नगरपालिका ६ चिउरीपानीस्थित ६३ वर्षीय शेरबहादुर श्रेष्ठको परिवारले घरभित्र पसेर दही चोर्दै घर अशुद्ध पारेको भन्दै १२ बर्षिया दलित बालिकालाई कुटपीट गर्दै २० घण्टासम्म यातना दिएका हुन ।
बालिकाको हात पछाडि बाँधेर मंगलबार मध्यान्हसम्म राखेको थाहा पाएपछि स्थानीय वडाध्यक्ष गोपाल माझीले जिल्ला प्रहरी कार्यालयमाा खबर गरेका थिए । श्रेष्ठले दलित बालिका घरभित्र पस्दा अशुद्ध भएको भन्दै रुद्री लगाएर चोख्याउने खर्च माग्दै नदिएसम्म नछाड्ने अड्डी लिदै यातना दिएका हुन । स्थानीयहरूका अनुसार ती दलित बालिकाले शेरबहादुर श्रेष्ठको घरमा पसेर सोमबार मध्यान्ह दही चोरेर खाएकी थिइन् । श्रेष्ठ वस्तु चराउन गएको मौका पारेर उनको घरमा पसेकी भनिएकी ती बालिका चाउचाउ, दालमोठ र नरिवल हातमा लिएर निस्कँदै गर्दा श्रेष्ठले फेला पारेका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङका अनुसार बालिका बाँधिएको हल्ला हुन थालेपछि श्रेष्ठले प्रहरी पुग्नुअघि नै डोरी खोलिदिएका थिए । आमा अन्यत्र गएको र भाइ सानो भएकाले सोमबार राति दलित बालिकाको परिवारका सदस्यले उक्त घटनाबारे थाहा पाएनन् । र बाहिर पनि हल्ला फैलन पाएको थिएन । बाँधिएकी दिदीसँगै पीडित बालिकाका भाइले पनि श्रेष्ठको दलानमै रात बिताएका थिए ।
दलानको थाममा बाँधिएकी बालिकालाई श्रेष्ठले राति खाना भने दिएको र ुखोलिदिन मन लागेपछिु कतै भागे आफू परिन्छ कि भन्ने डरले खोल्न नसकेको श्रेष्ठले प्रहरी समक्ष बताएका छन् । प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको र बालिकाको उद्धार गरी स्वास्थ्य परीक्षण गराउन पठाएको थिङले बताए ।
बालिकालाई दलित भएकै कारण २० घण्टासम्म बाँधेर राखेको घटनालाई जिल्लास्थित दलित अधिकारकर्मीले जातीय विभेदको रुपमा कारबाही हुनुपर्ने बताएका छन् । प्रनाउ थिङका अनुसार श्रेष्ठ विरुद्ध पीडित पक्षले जाहेरी ल्याइ नसकेकोले कुन मुद्दामा अनुसन्धान अघि बढाउने भन्ने कुराको टुंगा भइसकेको छैन ।
दलित बालिकाले दही चोर्दा घर अशुद्ध बन्यो भन्दै बाँधेर कुटपीट
दलित बालिकाले दही चोर्दा घर अशुद्ध बन्यो भन्दै बाँधेर कुटपीट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु