ताते ताते गर्दै हिड्न शुरु गरेकी डेढ बर्षिया बालिका पाशविक बलात्कारको शिकार बनेर अकालमा ज्यान गुमाईन भन्दा धेरैलाई विश्वासै नलाग्न सक्छ । तर मोरङ्गमा कसैले कल्पना सम्म नगरेको कहाली लाग्दो जघन्य अपराधको शिकार बनिन डेढ बर्षिया बालिका । जवान दुई नरपिचासहरुबाट बलात्कार पछि ढुंगाले हानेर मारिएकी ती बालिकाको शवलाई प्लाष्टिकमा पोको पार्दै गर्दा आडैमा आमा र आफन्तहरुको बिलौना र चित्कार गर्दै रोइरहेको दृश्यले मन, मस्तिष्कमा भंकर भूकम्प ल्याउने खालको छ ।
एक किशोरी गायिकाले बिबाहको प्रलोभन देखाएर आफुमाथि दुई बर्षदेखि बलात्कार गरेको उजुरी दिएर अभिनेता पूर्णविक्रम ( पल) शाहलाई प्रहरीको खोरमा पुराएको घटनाले ठुला ठुला बहसको बाढी उर्लिरहेको बेला मोरङ्गमा बालिकामाथिको बलात्कार र जघन्य हत्याका बारेमा भने खासै बहस देखिएन । उसो त, बलात्कार जस्तो जघन्य अपराधको घटनामा अभियुक्त शाह भन्दा पीडित किशोरी गायिकालाई नै उल्टै दोष देखाउँदै सामाजिक संजाल, चोक, चौतारा र भटटी पसलहरु कुर्लिरहेको यो समय र समाजले मोरङ्गको घटनालाई गम्भिरतापूर्वक नलिनु कुनै उदेक लाग्दो कुरा भएन ।
आफुलाई एककाइशौं शताव्दीका सभ्य, शिक्षित, सुन्दर, सम्पन्न ठान्ने यो समाजमा आफुलाई अधिकारकर्मी, बुद्धिजीवी, पत्रकार, अभियन्ता, नेता, नागरिक मान्ने र ठान्नेहरु फेसवुक, यूटयुव, अनलाईन, टीवटरमार्फत कस्ले के कुरालाई कति, किन, कसरी, महत्व दिए ? त्यस बारेको विश्लेषण, लेखाजोखा कुनै न कुनै दिन अवश्य हुनेछ ।
बलात्कारका आरोपि पल शाहको पक्षमा कुर्लने, पीडित किशोरीलाई दोषि देख्ने र मोरङ्गमा बालिकामाथिको जघन्य अपराधमा मौन बस्ने प्रवृत्तिले रंगीचंगी आधुनिक समाजभित्रको मध्ययुगिन जंगली पाशविक, वर्रवरताको अवशेषको नांगो स्वरुप छर्लङ्ग देखाएको छ ।
अहिले यहाँ किशोरी गायिका बलात्कारको घटना भन्दा पनि गम्भिर तर खासै चासो, चर्चा र चिन्तामा नआएको मोरङ्गमा बालिकामाथिको जघन्य अपराधको घटनाका केहि पाटोहरु खोतल्ने प्रयास गरिएको छ ।
मोरङ्गको सुन्दरहरैचा नगरपालिका ७ की डेढ महिने बालिकालाई चकलेट दिएर फकाएर अपहरण गरी बलात्कार गर्नेक्रममा चिच्याएपछि हानेर हत्या गरिएको संचारमाध्यमहरुले जनाएका छन । बलात्कारअघि अभियुक्तद्धय अजय चौधरी र उसको दाजु मिथुन चौधरीले गाँजा सेवन गरेका र घटनापछि रक्सी सेवन गरेको देखाईएको छ । त्यति मात्रै होईन, अभियुक्त अजय चौधरी पहिला पनि बालिका अपरहणकाण्डमा पक्राउ गरेपनि छुटेको देखिन्छ ।
घटनाको सारलाई संक्षेपमा विश्लेषण गर्दा अभियुक्तहरुले गाँजा सेवन गरी चेतना गुमाउँदै उत्तेजित बनेको, मानवीय धर्म, कर्मवाट बिचलित बनेर पशुभन्दा पनि तल्लोस्तर जंगली, राक्षसी, क्रुर व्यवहारमा उत्रिएको, पीडित बालिकाको बाल मनोविज्ञानले सबैलाई अभिभावक जस्तै मानेर सजिलै विश्वास गरेको, ठिक, वेठिक छुटाउन सक्ने अवस्था नभएको देखिन्छ ।
बच्चा कलिलो उमेर भएकोले प्रतिरोध गर्ने शारीरिक र मानसिक बल नभएको, अवोध भएको, चकलेट दिएर सजिलै फकाएको पनि देखिन्छ । बलात्कारकोक्रममा पीडा भएपछि सहयोगको लागि रुदै कराउँदै गर्दा अभियुक्तले पोल खुल्ने डरले लौरी र ढुंगाले हानेर गम्भिर बनाउँदा उपचारकोक्रममा मृत्यु भएको देखिन्छ । घटना भएको बेला घरमा बालिका एक्लै भएकोले पनि अभियुक्तहरुले सजिलै बालिकालाई अपहरण गरेको देखिन्छ । अर्कोतिर गम्भिर कुरा अभियुक्त अजय पहिला पनि बालिका अपरहणमा परेकोले कार्वाही बिना उन्मुक्ति पाउँदो आपराधिक मनोवृत्ति पालेर बसेकोले अर्को जघन्य अपराधको घटना घटाएको देखिन्छ ।
समाजमा सकारात्मक र नकारात्मक जतिपनि घटनाहरु घटछन, त्यसलाई सूक्ष्म ढंगले विश्लेषण गर्न जरुरी छ । किनकी राम्रो काम भएमा अझ अरु राम्रो कामलाई अघि बढाउन र खराव काम भएमा समाजलाई थप क्षतिबाट बचाउन हरेक पाटोहरु केलाउन आवश्यक छ । अहिले कहि कतै कुनै घटना भईहालेमा सामाजिक संजालमा अनेक व्यक्तिका अनेक टिकाटिप्पणीहरु सुनिन्छन । यस्ता टिकाटिप्पणीहरु केहि निश्पक्ष गरिएपनि अधिकांश भने सत्ता, शक्ति, सम्पति, सम्वन्ध जस्ता अनेक स्वार्थ, सम्वन्ध, आवेग, आग्रह र हचुवाका भरमा हुने गरेका छन ।
मोरङ्गमा आमाको खेल्ने उमेरकी एक कलिली बच्चीलाई बलात्कार गरेर हत्या गर्ने अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ । यस्ता घटनाहरु हिजो पनि घटेका थिए, अभियुक्तहरु हिजो पनि पक्राउ परेका थिए तर पनि फेरि किन घटनाहरु घटिरहेका छन ? र भविष्यमा पनि यही प्रकृतिका घटनाहरु अवश्य घटनेछन ।
हिजो निर्मला पन्त लगायतका बालिकाहरुको बलात्कारपछि हत्या भयो, आज मोरङ्गमा डेढ बर्षिया बालिका बलात्कृत भईन । भोलि कहाँ ?, कस्की छोरी बलात्कृत भएर मारिने हुन थाहा छैन ? बालिकाहरु निरन्तर बलात्कृत भएर हत्या गरिदा यो समय र समाजले कारक तत्वहरु खोजेर त्यसलाई रोक्नेतर्फ किन गम्भिरतापूर्वक नलिएको ?, मानवरुपी दुई नरपिचासहरु पाशविक बलात्कारको पीडाले चिच्याएकी ती डेढ महिनाकी छोरीको चित्कार उनको झोपडी वाहिर किन नसुनिएको ?, काखमा खेल्दै गरेकी सानी दूधे छोरीलाई प्लाष्टिकमा पोको पार्दा खेरी छाती पिट्दै विलौना गरिरहेकी आमाको बिलौना मोरङ्ग भन्दा बाहिर किन नसुनिएको ?, अझै कति छोरीहरु बलात्कृत भएर मारिनुपर्ने हो ?, कति आमाहरुको काख उजाडिन पर्ने हो ? बालअधिकार, महिला अधिकार, मानवअधिकार, सामाजिक न्याय, यौन हिंसा, उत्पीडन अनेकौं क्षेत्र र बिषयका बारेमा बोल्ने शयौं संघ संस्थाहरु राजधानी र मोफसलहरुमा पनि उतिकै खुलेका छन । दाताले दिएको रकम पचाउन तारे होटलमा सभा, गोष्ठी र विचारमा त खुब ठुला ठुला भाषण र आर्दश छाट्ने अधिकारकर्मीहरु कुन दूलोमा सुतिरहेका छन ? अधिकारकर्मीहरुले कारक तत्वसम्म पुगेर हरेक समस्या जरैदेखि उन्मुलनका लागि कहिले अग्रसर हुने हुन ?
नागरिकको शान्ति, सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरी र नीति निर्माण गर्ने गृहमन्त्रालय, नेपाल सरकारको काम मरेपछि लास गर्ने, पोष्टमार्टम गर्ने, अनुसन्धान गर्ने, दोषि फेला पारेमा जेलमा कोच्ने अनि चुपचाप बस्ने हो की ? हरेक घटनाहरुको कारक तत्व विश्लेषण गरेर त्यसलाई जरैदेखि निर्मुल पार्ने अभियान, नीति र योजना लागू गर्ने हो ?, अनि भ्यूज र शेयर बढाउनका लागि कतिपय हत्का बिषयलाई पनि अतिरञ्जित गर्दै ठुला ठुला बहस सिर्जना गर्ने संचारमाध्यमहरुले बोल्नै नसक्ने, समस्या नै राख्न नसक्नेहरुका आवाज र रोदनलाई बहस र निश्कर्षको बिषय कहिले बनाउने हुन ? सचेत नागरिकहरुले गम्भिरतापूर्वक सोच्ने मात्रै होइन, खवरदारी गर्न पनि आवश्यक छ । सामाजिक संजालमा मात्रै लेखेर, रिस पोखेर कुनै नतिजा आउने छैन । परिणाम ल्याउने ठोष कार्यक्रम गर्न जरुरी छ ।
मोरङ्गमा बालिकालाई बलात्कारको घटनाले धेरै पाटोहरुमा गम्भिरतापूर्वक सोच्नुपर्ने देखाएको छ । बालिका एक्लै घरमा भएकोले एक्लै छाड्न नहुने, बच्चाहरुलाई चकलेट दिएर जो कोहिले सजिलै फकाएर अपराध घटाउन सक्ने, आपराधिक मनोवृत्ति भएको अपराधिलाई छाडदा अर्को घटना भएको, अभियुक्तहरुले नसाजन्य पदार्थहरुको सेवन गरेका पक्षहरु छन । ती मध्ये पनि घटनाअघि नसाजन्य पदार्थ सेवन गरेको कुरालाई गम्भिर रुपमा लिनुपर्ने देखिन्छ । बलात्कार र हत्या गर्नुअघि अभियुक्तहरुले गाँजा सेवन गरेका र घटनापछि रक्सीको भटटीमा पुगेर रक्सी खाएको देखिन्छ । यो घटना मात्रै होइन, हरेक अपराधका कारक तत्वहरु सूक्ष्म ढंगले केलाउँदै जाने हो भने प्रत्यक्ष र अप्रत्यक्ष नसाजन्य पर्दाथहरुको सेवन भेटिन्छ । गाँजा, रक्सी, व्राउन सुगर लगायतका लागू पदार्थ र लागूऔषधले कतिको जीन्दगी र घरवार उजाडिएको छ ?, त्यसको कुनै लेखाजोखा नै छैन । कतिको सम्पति सकिएर रोडमा पुगेका छन ?, कतिको स्वास्थ्य विग्रिएर घाटमा पुगेका छन ?, कति अपराध घटाएर जेलको कोठरीमा पुगेका छन ?, नसाजन्य पदार्थले चोरी, कुटपीट, कलह, झगडाका त नेपालका अधिकांश घरपिच्छे नै हुन्छ । सेवन गर्नेसँगै आफन्त र छिमेकीहरुको जीन्दगी समेत नारकिय बनाउने नसाजन्य पदार्थले ध्वस्त पारेको मानव जीन्दगी र समाज देख्नेलाई भन्दा पनि भोग्नेलाई अझ बढि थाहा होला । तर पनि सुखी, शान्त र समृद्धि देश बनाउने सपना देखाउनेहरुका लागि नसाजन्य पदार्थको नियन्त्रण गर्ने मुद्दा कहिल्यै बहसको बिषय बन्न सकिरहेको छैन । वरु सार्वजनिक स्थानमा असल परिवार, आर्दस समाज र देशको पक्षमा चर्का आर्दश छाटनेहरु साँझ परेपछि वेहोस भईन्जेल रक्सीको पोखरीमा डुवुल्की मारेका देखिन्छ । त्यो पनि सरकारी बजेट खन्याएर । सडकदेखि सत्तासम्म मदिराले मात्नेहरुको विगविगि भइरहेकोले पनि यसको उत्पादन र विक्री बितरण रोक्नेतर्फ कसैको ध्यान गएको छैन । एकथरी कथित अर्थशास्त्रीहरु मदिरा राजस्वको मुल स्रोत हो भन्दै कुर्लन्छन । कोहि कोहिले रोजगारी र आम्दानीको स्रोत भन्दै बन्द नहुनेमा जोड दिन्छन । सिमित केहि व्यक्तिको लाभका लागि सिंगो समाज डुवाउने हानिकारक पदार्थ निषेध गरेर आम मानिसको स्वास्थ्य, सम्पति, ईज्जत रक्षा गर्नु नै सबैभन्दा उत्तम उपाय भनेर बुझ्नुपर्छ ।
त्यतिमात्रै कहाँ हो र, हालै गण्डकी विश्व विद्यालयले कोदोको रक्सीको व्राण्डीङ्ग गरेर बेचेर समृद्धि ल्याउनुपर्छ भन्ने योजना ल्यायो र त्यसमा माननीय, जाननीयहरुले समर्थन पनि जनाए । संसदमा समेत गाँजा खेतिलाई बैधानिक दिएर प्रोत्साहन गरिनुपर्छ भन्नेसम्मका अभिव्यक्तिहरु आए । नसाजन्य पदार्थहरुले झोपडीदेखि महलसम्म, शहरदेखि गाउँका कुना कुनामा मानिसहरुको सुन्दर जीन्दगी कसरी तहसनहस भएको छ ? नदेख्ने, नवुझ्नेहरु र पैसाको लागि सबैथोक बेच्ने गैह् जिम्मेवारहरुले मात्रै नसाजन्य पदार्थको पक्षमा वहस गर्नसक्छन ।
मानव समाजको विकासकोक्रममा असलसँगै हानिकारक वस्तुहरुको पनि आविष्कार गरिए । क्षणिक मनोरञ्जन दिने तर दीर्घकालिन दृष्टिले हानिकार सबै बस्तुहरुको उत्पादन, विक्री वितरण पूर्णतया नियन्त्रण र निषेध गरिन आवश्यक छ । रक्सी चाहे स्थानीयस्तरमा उत्पादन गर्ने होस, चाहे उद्योगको नाममा व्राण्डिङ्ग गरिएको होस । बोटमा फल्ने गाँजाको पात होस वा त्यसवाट बनाईएको चरेस, व्राउन सुगर सबै बन्द गरिनुपर्छ । यसैगरी नसाजन्य औषधीहरुको पनि चरम दुरुपयोग भइरहेको छ । प्रहरीले दिनहुँ युवाहरुलाई नसाजन्य पदार्थसहित समातिरहेको समाचार सार्वजनिक भईरहन्छ । औषधि जे प्रयोजनको लागि बनाईएको हो, त्यसैका लागि मात्रै प्रयोग गरिनुपर्छ । जुन पदार्थले जीवन रक्षाभन्दा हानी गर्छ त्यस्ता पदार्थहरुको उत्पादन, विक्री वितरण निषेध गर्दै कडा भन्दा कडा कार्वाही गरिनुपर्छ । हानीकारक पदार्थ बेचेर आम्दानी गर्नु भनेको पनि चोर्नुभन्दा ठुलो अपराध हो भने स्वास्थ्यमा हानी गर्नु भनेको पनि ज्यान मारेभन्दा ठुलो अपराध हो ।
-ज्योति नेपाली