हेटौंडा- चितवन राष्ट्रिय निकुञ्जले चितवनको माडी नगरपालिका कुसुम खोलामा चेपाङ समुदायको घर भत्काउने र आगजनी गरेकोप्रति बागमती प्रदेश सरकारका राज्यमन्त्री सन्तबहादुर प्रजाले असन्तुष्टि जनाएका छन् ।
वागमती प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री प्रजाले मंगलबार वन तथा वातावरण मन्त्रालयलाई पत्र लेखी सुकुम्बासी चेपाङको घर भत्काउनु र आगजनी गर्नु निन्दनीय भएको बताएका छन् ।
स्थानीय प्रशासन, प्रदेश र संघीय निकायसँग राय नलिई सरोकारवाला संघ संस्थाबीच छलफलसमेत नगरी गत आइतबार घर भत्काएर निकुञ्जले अमानवीय कार्य गरेको राज्यमन्त्री प्रजाले बताएका छन् ।
‘नेपालको संविधान २०७२ मा व्यवस्था भएको मानव स्वतन्त्रता, मौलिक हक, आदिवासी, जनजातिको आत्मनिर्णयको अधिकार, जल, जंगल, जमिनमाथि आदिवासीको अधिकार हनन् गर्दै निकुञ्ज प्रशासनले ज्याजति गरेको छ । सो विषयमा सरोकारवालाहरुबीच छलफल गरी घरबारबिहीनलाई तत्कालै आवासको व्यवस्था मिलाउन मन्त्रालयको ध्यानाकर्षण गराउँदछौं’ राज्यमन्त्री प्रजाले पत्रमा भनेका छन् ।
उनले घर भत्काउने र आगो लगाउनेहरुमाथि आवश्यक छानविन गरी कारबाही र पीडितलाई क्षतिपूर्ति दिन पनि माग गरेका छन् ।
राज्यमन्त्री प्रजाले माडीको सो क्षेत्रमा बसोबास गर्ने नागरिकमाथि पटकपटक अन्याय भइरहेको भन्दै यो समस्या समाधान गर्न गम्भीरतापूर्वक छलफलका लागि वन मन्त्रालयलाई सुझाव दिएका छन् । निकुञ्जले घर भत्काइदिँदा १७ घरधुरी चेपाङ समुदाय घरबारविहीन भएको भन्दै उनीहरुलाई तत्काल बसोबासको व्यवस्था गरिदिन आग्रह गरिएको छ ।
घटनाप्रति दुःख व्यक्त गर्दै राज्यमन्त्री प्रजाले वस्तीमा आगजनीको घटनाप्रति अत्यन्त दुःख व्यक्त गर्दै राज्यमन्त्री प्रजाले पीडित नागरिकलाई सान्त्वना दिई आवश्यक व्यवस्था गर्न वन मन्त्रालयलाई आग्रह गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी-९, कुसुमखोलामा नयाँ घर बनाएर बसोबास गरेका चेपाङका घरमा आगजनी गरेको थियो । निकुञ्जको कोर इलाका अतिक्रमण गरेको भन्दै आइतबार आगजनी गरिएको हो ।
आगजनीपछि कुसुमखोला पुगेका माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले २०४८ सालदेखि बसोबास गर्दै आएका चेपाङहरूका १५ घर जलाइएको बताए ।
निकुञ्जका बगई सेक्टरका सहायक संरक्षण अधिकृत प्रमोद यादवको टोलीले आइतबार घरगोठ जलाएको स्रोतले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले कति घर जलाइएको भन्ने बारेमा हेडक्वार्टरमा आधिकारिक सूचना नआइसकेको बताए ।
माडी नगरपालिकाको समन्वयमा स्थानान्तरण गरिसकेपछि पनि पुनस् निकुञ्जको कोर इलाका कब्जा गरेको भन्दै घर भत्काइएको सूचना अधिकारी तिवारीले बताए । गत वर्ष ३ साउनमा निकुञ्जले २ घरगोठ आगजनी र ८ घरगोठ हात्ती लगाएर भत्काएको थियो । उक्त घटनापछि विस्थापित भएका ८२ परिवारलाई तिनकोठे टिनको छानोसहित भवन बनाएर राइडाँडामा राखिएको छ । त्यस्तै, परौवी खोलामा ४२ परिवार र बगईमा २५ घर स्थानान्तरण गरिएको छ ।