काठमाडौँ – भक्तपुरको चाँगुनारायण नगरपालिका ९ स्थित ताथलीमा जग्गा प्लटिङ गरिएको स्थानमा ढिस्को खस्दा पुरिएर दुई कामदारको मृत्यु भएको छ । खाल्डो खन्ने क्रममा ढिस्कोले पुरिएर काभ्रे स्थायी घर भएका ५० वर्षीय वर्षमान तामाङ र ३२ वर्षीय चतुरमान तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनापछि अहिले स्थानीयहरू क्षतिपूर्तिको माग गर्दै आन्दोलित बनेका छन् । ठूलो संख्यामा प्रहरी खटिए पनि स्थानीय तथा पीडित पक्षहरूले मृतकको शव उठाउन दिएका छैनन् । स्थानीयले जग्गाधनीलाई घटनास्थलमा ल्याउन माग गरिरहेका छन् ।
आन्दोलित स्थानीयहरूले प्रहरीलाई अवरोध गरेको घटनास्थलमा रहेका स्थानीय पत्रकार हरिसुन्दर छुंकाले जानकारी दिए । भक्तपुर प्रहरीका डीएसपी राजु पाण्डेले भने प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको बताएका छन् ।
स्थानीयहरूका अनुसार उक्त स्थानमा करिब ३० रोपनीभन्दा धेरै जमिनमा अवैध रुपमा प्लटिङ गरिएको थियो । उक्त प्लटिङमा बिहीबार पनि पर्खाल लगाउने काम भइरहेको थियो । तर जग्गाधनीले खाडल नपुगेको भन्दै शुक्रबार पनि थप खाडल खन्न लगाएका थिए ।
शुक्रबार सोही स्थानमा पर्खालका लागि खाडल खन्ने क्रममा ढिस्को खसेर दुई जना कामदार पुरिएका हुन् । स्थानीयहरूले भने उक्त प्लटिङलाई अवैध रहेको भनिरहेका छन् । यद्यपि प्रहरीले यसबारे यकिन भइनसकेको भन्दै आफूहरूले छानबिन गरिरहेको जनाएको छ ।
ढिस्कोले पुरिएर मृत्यु हुने वर्षमान काभ्रेको चौरी देउराली गाउँपालिका घर भई ताथली बस्थे भने चतुरमान पनि नमोबुद्ध नगरपालिका ९ घर भई ताथलीमै बस्ने गरेका थिए ।
प्लटिङमा ढिस्कोले पुरिएर कामदारको मृत्यु
प्लटिङमा ढिस्कोले पुरिएर कामदारको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु