कोलम्बो – श्रीलंकाले जन स्वास्थ्य संकटकाल घोषणा गरेको छ । औषधि एवं स्वास्थ्य सामग्री अभाव भएपछि श्रीलंकाको शीर्ष स्वास्थ्य निकाय गभरमेन्ट मेडिकल अफिसर्स एसोसिएसन जीएमओएले संकटकाल घोषणा गरेको हो ।
अब राज्यले प्रदान गर्ने सेवा सुविधामा आपतकालीन र तत्काल हेरचाह गर्नुपर्ने सेवाहरूलाई प्राथमिकता दिनेइने छ । अधिकांश श्रीलंकालीहरू सरकारी स्वास्थ्य सेवामा निर्भर छन् ।
आर्थिक एवं विदेशी मुद्रा संकटका कारण श्रीलंका विद्युत् कटौती र अभावसँग जुझिरहेको छ । यसले राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गर्दै उनी विरुद्ध व्यापक विरोध निम्त्याएको छ ।
राजापाक्षेको मन्त्रीपरिषद्का सदस्यहरूले राजीनामा दिएपनि उनले राजीनामा दिन अस्वीकार गरेका छन् । यसको सट्टा राष्ट्रिय सरकार गठन गर्न सहयोग गर्न विपक्षीलाई आह्वान गरेका छन् । तर उनीहरू सबैले राष्ट्रपतिको आह्वानलाई अस्वीकार गरेका छन् ।
नयाँ अर्थमन्त्रीको दुई दिनमै राजिनामा
श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली साब्रीले पनि राजीनामा दिएका छन्। यसअघि न्याय मन्त्रीबाट आइतबार राति राजीनामा दिएका साब्रीलाई राष्ट्रपति गोटवाया राजापाक्षेले सोमबार अर्थमन्त्री नियुक्त गरेका थिए।
साब्रीले मंगलबार दिउँसो राष्ट्रपति राजापाक्षेलाई राजीनामा बुझाएका हुन्। यसअघि राजापाक्षेले आफ्ना भाइ बासिल राजापाक्षेलाई २०२१ मा अर्थमन्त्री नियुक्त गरेका थिए। बासिलले क्याबिनेटका अरू सदस्यसँगै आइतबार राजीनामा दिएका थिए।
आफ्नो मन्त्रिपरिषद्का सबै २६ जना मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले सोमबार विपक्षी दललाई सरकारमा सहभागी हुन आह्वान गरेका थिए। उनले मन्त्रिपरिषदमा केही मन्त्री पनि नियुक्त गरेका थिए।
साब्रीले न्याय मन्त्रीबाट राजीनामा दिँदा पनि आफूले फेरि मन्त्रीको जिम्मेवारी नलिने सोचेको भए पनि अन्तरिम कालका लागि अर्थमन्त्री बनेको बताएका छन्।
धेरै सोचविचार गर्दा अहिलेको आर्थिक संकटबाट पार पाउन नयाँ अपूर्व कदम चाल्नुपर्ने लागेकाले आफूले राजीनामा दिएको उनले उल्लेख गरेका छन्।