मकवानपुर – छात्रालाई यौन दुव्र्यवहार गर्ने तीन शिक्षकलाई माफि मगाएर उन्मुक्ति दिन खोजिएपछि वागमति गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा आक्रोशित समुहले तोडफोड गरेको छ ।
आफुहरुमाथि तीन शिक्षकले यौनजन्य दुव्र्यवहार गरेकोले कार्वाहीको मागसहित उजुरी गरेका छात्राहरुको मागप्रति सुनुवाई नभएपछि बिद्यार्थी र अभिभावकहरुको समुह तोडफोडमा उत्रिएका हुन । विद्यालयका शिक्षकहरु रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकले यौन दुव्र्यवहार गरेको भन्दै छात्राहरूले उजुरी दिएका थिए ।
विद्यालयका प्रधानाध्यापक वशन्त राईले छात्राको उजुरीपछि राखिएको छलफलमा शिक्षकहरुले यौन दुर्व्यवहार गरेको अस्वीकार गरेपछि विद्यालय व्यवस्थापन समितिले पनि एक पटकलाई माफी दिन भनेको थियो।
‘शिक्षकहरुले माफी माग्ने र आइन्दा यसो नगर्ने भन्ने कुरा भएको थियो। तर विद्यार्थीले मानेनन्’, प्रधानाध्यापक राईले भने।
छलफलमा विद्यार्थीले माफी नदिने र बर्खास्त गर्नु पर्ने माग गर्दै बाहिरिएका थिए।
तर विद्यालय प्रशासनले कुनै कारबाही नगरेपछि विद्यार्थीका अभिभावकले चैत ११ गते लिखित उजुरी दिएका थिए। विद्यार्थीहरुले २० गते विद्यालय प्रशासनमा लिखित उजुरी दिएका थिए।
कक्षा १० का मात्रै १५ जना छात्राले सामुहिक रुपमा लिखित उजुरी दिएका छन्।
विद्यालयमा तोडफोड हुन थालेपछि विद्यालय प्रशासनले इलाका प्रहरी कार्यालय फापरबारीमा खबर गरेको थियो। प्रहरी निरीक्षकसहितको टोली पुगेर विद्यार्थीहरुलाई कानुनी प्रक्रियामा जान र विद्यालयमा तोडफोड नगर्न भन्दै सम्झाएको थियो।