काठमाडौँ – सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया सुरु गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेसँगै उनी स्वतः निलम्बनमा परेका छन् । अधिकारीलाई निलम्बन गरेसँगै डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी तोकेको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूरा नगरेको भन्दै तीन सदस्यीय जाँचबुझ समितिसमेत गठन गरिएको हो ।
जाँचबुझ समिति गठन भएसँगै गभर्नर अधिकारी निलम्बनमा परेका हुन्। राष्ट्र बैंक ऐन २०५८ को दफा २२ को उपदफा ५ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकहरुको पदमुक्त सम्बन्धि व्यवस्था राखिएको छ ।
मन्त्रिपरिषदले गभर्नरलाई पदमुक्त गर्दा जाँचबुझ समिति गठन गर्ने व्यवस्था ऐनमा छ । ‘राष्ट्र बैंकको उद्देश्य हासिल गर्नका लागि बैंकले गर्नुपर्ने काम नगरेको, कार्यक्षमता अभाव भएमा, मुलुकको बैंकिङ तथा वित्तीय व्यवस्थामा हानी नोक्सानी पुग्ने कार्य गरेमा, बैंकको काम कारबाहीमा बेइमानी र बदनियत गरेको देखिएमा, वा खराब आचरण भएमा पदमुक्त गर्न सक्ने’ व्यवस्था ऐन रहेको छ ।
जाँचबुझ समितिको गठन गर्दा सर्वोच्च अदालतका अवकासप्राप्त न्यायाधीशलाई अध्यक्ष र आर्थिक, मौद्रिक, वित्तीय तथा वाणिज्य क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुबाट २ जना सदस्य रहनेछन् ।
समिति बनाउनुअघि गृहकार्य गर्न गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनादर्न शर्मा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिइएको थियो ।
त्यही टोलीको गृहकार्यपछि गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नरलाई पदमुक्त गर्नुअघि जाँचबुझ गर्न समिति गठन गर्नुपर्नेछ । राष्ट्रबैंक ऐन २०५८ को दफा २२ मा राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकलाई पदमुक्त गर्न जाँचबुझ समिति गठन र त्यसको सिफारिस अनिवार्य हुने व्यवस्था छ ।
त्यही व्यवस्थाअनुसार बनेको समितिमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य छन् र समितिलाई एक महिनाभित्र छानविन प्रतिवेदन बुझाउन भनिएको छ । जाँचबुझ समिति बने लगतै गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका हुन् ।
कुन अवस्थामा पदमुक्त हुन्छन् गभर्नर ?
राष्ट्र बैंक ऐनमा विभिन्न ६ कारण देखिएमा गर्भनर पदमुक्त हुने भन्ने व्यवस्था छ । पहिलो, राष्ट्रबैंकले गर्नुपर्ने काम गर्न गराउन कार्यान्वयन गर्न, गराउन कार्य क्षमताको अभाव भएमा गभर्नर पदमुक्त हुने व्यवस्था छ ।
दोस्रो, मुलुकको बैंकिङ तथा वित्तीय व्यवस्थामा हानि नोक्सानी पुग्ने काम गरेको देखिएमा पनि पदमुक्त हुनसक्छन् । तेस्रो राष्ट्रबैंकको काम कारबाहीमा बेइमानी वा बदनियत गरेको देखिएमा पदमुक्त हुने व्यवस्था छ ।
साथै खराब आचरणको कारणबाट कुनै पेशा वा व्यवसाय गर्नबाट अयोग्य ठहर्याई प्रमाणपत्र खोसिएको वा व्यवसाय गर्न रोक लगाइएकोमा पनि गभर्नर पदमुक्त हुनसक्छन् । पाँचौ कारणमा कुनै कारण बिना लगातार तीनपटक भन्दा बढी समितिको बैठकमा अनुपस्थित भएमा पनि पदमुक्त हुने व्यवस्था छ ।
ऐनमा गभर्नर हुन विभिन्न अयोग्य भएपनि पदमुक्त हुने अर्को व्यवस्था पनि छ । तर गभर्नर अधिकारीको हकमा यो व्यवस्था आकर्षित छैन । ऐनमा भनिएको छ, ‘यी अवस्था बाहेक अन्य कारणबाट गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकलाई हटाउन सकिने छैन ।’
को हुन् निमित्त गभर्नर ढुंगाना ?
ढुंगाना २०५४ सालमा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेकी हुन्। सहायक निर्देशक पदबाट प्रवेश गरेकी उनी डेपुटी गभर्नर हुनुअघि कार्यकारी निर्देशक थिइन्। उनी अहिलेसम्म कुनै पनि परीक्षामा असफल नभएको बताउँछिन्।
‘पहिलो पटक नै परीक्षामा उत्तीर्ण भएर राष्ट्र बैंकमा प्रवेश गरेँ,’ उनी भन्छिन्, ‘त्यसपछिका सबै परीक्षामा एकै पटकमा पास हुँदै आएकी छु। मैले २०५४ सालदेखि असफल हुनु परेको छैन।’
पहिलो महिला डेपुटी गभर्नर ढुंगाना भन्छिन्ः परीक्षादेखि राजनीतिक नियुक्तिसम्म कतै पछि परिनँ
हालसम्म उनले सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेकी थिइन्। राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक थिए।
देवकुमार ढकाल र गुणाकर भट्टपछि उनी तेस्रो वरीयतामा थिइन्।
कार्यकारी निर्देशकभन्दा माथि डेपुटी गभर्नर र गभर्नर रहन्छन्। यी दुई पदमा राजनीतिक नियुक्ति हुने व्यवस्था छ। यो प्रतिस्पर्धा जितेकी उनले अहिले गभर्नरको जिम्मेवारी पाएकी हुन्।
हरेक परीक्षामा अब्बल रहँदै आएकी ढुंगाना राजनीतिक नियुक्तिमा पनि अगाडि देखिन पुगिन्।
‘यसमा पनि म आफूलाई भाग्यमानी ठान्छु। कुनै परीक्षा र आफ्नो योग्यता जाँच हुँदा पछि परेकी थिइनँ। अहिले राजनीतिक नियुक्तिमा पनि परेकी छु,’ उनले खुसी हुँदै भनिन्।
ढुंगानाको जन्म २०२५ सालमा झापामा भएको हो। स्कुले शिक्षापछि उनले कमर्स अध्ययन गरिन्। पढाईमा तेज उनले दमक क्याम्पसमा आईकम टप गरेकी थिइन्।
आईकमपछि विवाह गरेकी उनले पढाइलाई निरन्तरता दिइन्। स्नातकोत्तरमा उनले त्रिभुवन विश्वविद्यालयमा महिलातर्फ स्वर्ण पदक जितेकी छन्। त्यसपछि केही समय उनी अध्यापनमा लागेकी थिइन्।