काठमाडौँ– निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा पुगेको छ। पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्जात छ। जुन रकमले पेट्रोलियम पदार्थ आयात हुँदैन।
भारतीय आयल कर्पोरेसन आईओसीलाई नियमित रुपमा बुझाउनु पर्ने रकम तिर्न नसक्ने देखिएकाले पेट्रोलियम पदार्थको आयतमा समस्या देखापरिसकेको निगमका प्रवक्ता विनित उपाध्यायले बताए।
‘अबको २३ तारिखमा आईओसीलाई १४ अर्बजति बुझाएपछि मात्रै पेट्रोलियम पदार्थ सहज तरिकाले आपूर्ति हुन्छ तर अहिलेसम्म मूल्य स्थिरिकरण कोषमा २५ करोड रुपैयाँ बाँकी छ, अन्त कतै पनि कुनै कोषमा रकम बाँकी छैन्,’ प्रवक्ता उपाध्यायले भने, ‘निगमसँग रहेको मौज्जात र मूल्य स्थिरिकरण कोषमा रहेका सबै रकम सकिएपछि पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा निगम पुगेको छ, अर्को महिनादेखि नै समस्या पर्ने देखिएको छ।’
उनका अनुसार पेट्रोलियम पदार्थको मागअनुसार आईओसीलाई नियमित रुपमा बुझाउने रकममा १४ दिनपछि नै दुई अर्ब रुपैयाँ नपुग्ने देखिसकेको छ। ‘अब पेट्रोल किन्न २५ करोड मात्रै बाँकी छ, बुझाउनु पर्ने १४ अर्ब हुन्छ, केही रकम घाटामा खरिद गरिएको पेट्रोलियम पदार्थ बिक्रीबाट उठाउन सकिए पनि दुई अर्ब पुग्दैन,’ उपाध्यायले भने, ‘त्यसका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको थियो, अर्थले ऋण उपलब्ध गराउनका लागि राष्ट्रिय बाणिज्य बैंकलाई पत्र लेखिदिएको छ।’
उनका अनुसार १४ दिनपछि पेट्रोलियम पदार्थका आयातका लागि रकम दिन नसके अप्ठयारो अवस्था आउने निगमले अर्थ मन्त्रालयलाई जानकारी गराउन बाध्य भएको थियो।
गत २२ चैतमा अन्तिम पटक मूल्यवृद्धि गर्दा पनि गत महिना नौ अर्ब २७ करोड घाटा ब्यहोर्नु परेको सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिएका थिए। उनका अनुसार आर्थिक वर्ष २०७८र७९ को हालसम्म ३३ अर्ब रुपैयाँ घाटामा रहेको छ।
गत असार मसान्तसम्म १५ अर्ब ८० करोड रकम सञ्चित गरेको निगमले कोष रित्तिएपछि गत २२ चैत मूल्य स्थिरिकरण कोषवाट चार अर्ब २० करोड लिएर भारतीय आयल कर्पोरेशनलाई पठाएको थियो। स्थिरीकरण कोषमा पनि २५ करोड मात्रै मौज्जाद रहेपछि निगमले बैंकसँग ऋणका लागि आग्रह गरेको छ तर कुनै निर्णय आइनसकेको प्रवक्ता उपाध्यायले जानकारी दिए।
कोष रित्तो बनेपछि आयल निगम तेल किन्न नसक्ने अवस्थामा
कोष रित्तो बनेपछि आयल निगम तेल किन्न नसक्ने अवस्थामा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु