काठमाडौं -सरकारले इन्धन खर्च घटाउने उदेश्यले जेठ १ गतेदेखि सार्वजनिक विदा दिने निर्णयपछि स्वास्थ्य सेवा सँग सरोकार राख्ने प्रतिनिधिले बिदाको दिन काम गराएमा प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने माग राखेका छन ।
अधिकांश अस्पताल व्यवस्थापक तथा स्वास्थ्यकर्मी संगठनका पदाधिकारीहरु स्वास्थ्य सेवालाई निरन्तरता दिनुपर्ने धारणा राख्छन् । तर अरुलाई आइतबार विदा दिएर स्वास्थ्य सेवा सञ्चालन गर्ने हो भने प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की सरकारले सार्वजनिक विदा तोकेपछि सबै क्षेत्रमा लागू हुनुपर्ने बताउँछन् । लगातार दुई दिन अस्पताल बन्द हुँदा नागरिकलाई ठूलो असर पर्ने भन्दै उनी भन्छन्, ‘हामीले स्वास्थ्य सेवाको संवेदनशीलतालाई बुझेका छौं, तर सरकारले कर्मचारीलाई भेदभाव गर्न पाउँदैन । आइतबार काम गराउन आवश्यक भए लगाउन सक्छ, तर कार्यविधि बनाएर नै सट्टा बिदा कि त प्रोत्साहन भत्ता व्यवस्था दिने गर्नुपर्छ ।’
यसलाई बुझेका स्वास्थ्य मन्त्रालयका अधिकारीहरु पनि खर्च घटाउन भनेर दुई दिन विदा दिने निर्णय भएपनि अवस्था उल्टो हुने बताउँछन् । ‘सरकारी संस्थाहरुको सेवा गुणस्तरहीन छ । त्यसमाथि बिदा थप्दा हाम्रो सेवा हालत कस्तो होला ?,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘अब कर्मचारीले थप भत्ताविना काम गर्दैनन्, काम लगाउँदा आर्थिक भार थप पर्ने निश्चित छ ।’
शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले स्कुल र कलेजहरु पनि सरकारी कार्यालय जस्तै दुई दिन बन्द हुने बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने लगातार २ दिन ओपीडी सेवा बन्द नगर्ने पक्षमा छ । अन्य सरकारी सेवा सातामा दुई दिन बन्द भएपनि आइतबार अस्पतालका ओपीडी बन्द नगर्ने स्वास्थ्यमन्त्री विरोध खतिवडा बताउँछन् ।
‘स्वास्थ्य सेवा अन्य सेवा जस्तो हुँदैन । सातामा दुई दिन कुनै हालतमा ओपीडी बन्द गर्न मिल्दैन,’ मन्त्री खतिवडाले भने, ‘स्वास्थ्य सेवा नियमित रुपमा पाउनुपर्छ भन्ने मेरो धारणा हो । यस विषयमा मन्त्रालयमा सचिव लगायत अन्य स्वास्थ्य विज्ञसँग छलफल गर्छु ।’
स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा थप छलफल भएपछि मात्रै निर्णय हुने मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रा बताउँछिन् । भन्छिन्, ‘ओपीडी कसरी सञ्चालन गर्ने मन्त्रालयले केही सोच बनाउँला । कर्मचारीले रुटिनमा काम गरेर भए पनि सेवा दिनुपर्ने हुनसक्छ ।’
लगातार दुई दिन सार्वजनिक बिदा हुँदा बिरामी मारमा पर्ने भएकाले स्वास्थ्य सेवालाई निरन्तरता दिनुपर्ने अस्पताल व्यवस्थापक तथा जनस्वास्थ्यविदहरु बताउँछन् ।