काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले अर्याललाई सशस्त्रको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताए। गृह मन्त्रालयको प्रस्तावमा अर्याललाई महानिरीक्षकमा बढुवा गरेको हो।
यसअघि वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई डीआईजीबाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। एआईजीलाई आईजीपीमा बढुवा गर्न सकिने सशस्त्र प्रहरी नियमावलीमा व्यवस्था रहेको छ।
सशस्त्रका महानिरीक्षक पुष्पराम केसी अनिवार्य अवकास पाउँदै छन्। गत ३० चैतमा महानिरीक्षक नियुक्त भएका केसी वैशाख १९ गते अवकास पाउँदै छन्।
नवनियुक्त महानिरीक्षक अर्याल २०५४ सालमा प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन्। प्रदेश २ र उपत्यका बाहिनीको नेतृत्व गरिसकेका उनी अहिले सशस्त्र प्रहरी मुख्यालयको मानव स्रोत विभागमा कार्यरत छन्।
अर्याल गत मंगलबार एआईजीमा बढुवा भएका थिए। एआईजी भएको ६ दिनमा उनी आईजीपी बनेका हुन्।
यसअघि केही मन्त्रीले नेपाल प्रहरीको आईजीपी धिरजप्रताप सिंहलाई बनाउने निर्णय भएपनि सशस्त्रको विषयमा छलफल नै नभएको बताएका थिए। तर सशस्त्र प्रहरीको आईजीपी निर्विकल्प रहेका अर्यालबारे पनि निर्णय भएको ती मन्त्रीले बताए।
नयाँ आईजीपीबारे निर्णय भएसँगै गृह मन्त्रालयले दुवै प्रहरीको आईजीपीको बिदाई गरेको छ। नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका पुष्पराम केसीलाई दिउँसो गृहमन्त्रालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको छ।
गृह मन्त्रालयबाट फर्किएपछि दुवै प्रहरीका प्रधान कार्यालयले पनि बिदाई कार्यक्रम राखेका छन्। केसी र थापा नै २०४९ वैशाख १९ गते नेपाल प्रहरीको निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन्। २०५८ सालमा केसी एक तह बढुवा हुँदै सशस्त्र प्रहरीमा गएका थिए।
सशस्त्र प्रहरीमा यो ब्याचबाट शैलेन्द्र खनाल आईजीपी भएपनि उनी ३० वर्षे सेवाअवधि सकिनु २१ दिन पहिले अवकास भएपछि केसीले पनि आईजीपी हुने अवसर पाएका हुन्।
दुवै प्रहरीले सोमबार बिहान मात्रै दज्र्यानी चिन्ह लगाउने कार्यक्रम तय भएको छ। नेपाल प्रहरीका आईजीपी सिंह आगामी चैतसम्म र सशस्त्रका आईजीपी अर्याल चार वर्ष पूरै कार्यकाल आईजीपी रहनेछन्।
अर्का एआईजीपी रामशरण पौडेल पनि आजैबाट अवकासमा जाँदै छन्। सशस्त्रमा अर्याल एक्ला एआईजी हुन्। उनी आईजीपीमा बढुवा भएपछि रिक्त हुने एआईजीका लागि पनि बढुवा समितिले बढुवा प्रक्रिया अगाडि बढाइसकेको छ।