काठमाडौं – नेपालमा विना सूचना भइरहेको चर्को लोडसेडिङले उद्योगहरु थला परेका छन । देशका मुख्य औद्योगिक करिडोरका सयौं उद्योगहरुमा विना सूचना दिनहुँ १६ घण्टासम्म हुने चर्को लोडसेडिङले ठुलो नोक्सानी व्यहोर्नु परेको उद्योग व्यवसायीहरुले गुनासो गरेका छन । नेपाल उद्योग वाणिज्य महांसघले लोडसेडिङले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानीसँगै उत्पादन ठप्प बनेर देशकै अर्थतन्त्रमै गम्भीर सङ्कट निम्तिने खतरा बढेको जनाएको छ । “चर्को लोडसेडिङले अब उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको छ,” विज्ञप्तिमा उल्लेख छ।
भारतमा कोइलाको आपूर्तिमा समस्या तथा चर्को गर्मीले गर्दा विद्युत् आपूर्तिमा समस्या भएको छ। नेपालले हिउँद याममा ठूलो हिस्सामा विद्युत् भारतबाट आयात गर्छ। नेपालमा विद्युत् आपूर्तिको जिम्मा पाएको नेपाल विद्युत् प्राधिकरण भारतीय बजारबाट किनेर विद्युत् व्यवस्थापन गर्न असमर्थ देखिएको छ। माग धेरै भएपछि भारतीय बजारमा विद्युत्को मूल्य चर्को छ।
मँहगोमा विद्युत् किन्दा घाटा बढ्ने भएपछि प्राधिकरणले भारतबाट विद्युत ल्याउन अनिच्छा देखाएको आरोप लाग्दै आएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङको युग सकिएको घोषणा गरे पनि व्यवहारमा अहिले पनि औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङ छ।
लामो समय विद्युत् कटौती, पटक पटक विद्युत् जाने तथा कम भोल्टेज लगायत समस्याबाट नियमित तालिका अनुसार उद्योग सञ्चालन गर्न अवरोध पुगेको एवं अपर्झट विद्युत् आपूर्ति बन्द हुँदा करोडौं पर्ने मशिनहरूमा क्षति पुुग्ने स्थिति निम्तिएको उद्योगीले बताउँदै आएका छन्।
प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत् खरीद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनी विगतमा पटक पटक गरेको प्रतिबद्धता पूरा नगरेको पनि महांसघले जनाएको छ। “एकातर्फ प्राधिकरणले नै विद्युत् खपत बढाउन आग्रह गर्ने र अर्कातर्फ विना सूचना घण्टौं विद्युत् आपूर्ति अवरुद्ध पार्नुले चिन्ता जनाएको छ,” महासंघले भनेको छ।
उत्पादन लागत निरन्तर बढिरहेको अहिलेको अवस्थामा पुनः चर्को लोडसेडिङको समस्याले मुलुकको निर्यातमा गम्भीर धक्का लाग्ने र यसले समग्रमा मुलुकको शोधनान्तर घाटालाई थप फराकिलो बनाउने महासंघले जनाएको छ। विद्युत्को नियमित आपूर्ति हुन नसक्ने हो भने आर्थिक वृद्धिको प्रक्षेपणमा धक्का लाग्ने, उद्योगहरूको प्रतिस्पर्धी क्षमता गुुम्न गई समग्रमा निर्यात नै प्रभावित हुने पनि जनाइएको छ।
विद्युत् ऊर्जाको विकल्पमा जेनेरेटर प्लान्टबाट उद्योग सञ्चालन गर्दा उच्च लागत पर्ने तथा त्यसरी उत्पादन गरेका वस्तुु आपूर्ति गर्दा बजारमा सिर्जना हुने मूल्यवृद्धिले आम जनजीवन थप कष्टकर हुने महासंघको तर्क छ।
महासंघले कूटनीतिक माध्यमबाट भारतसँग छलफल गरी नेपाललाई दिंदै आएको बिजुली नियमित आपूर्ति गर्नेतर्फ अविलम्ब पहल गर्न सरकारलाई आग्रह गरेको छ। त्यस्तै, उद्योगहरूमा विद्युत् कटौती हुने तालिका सार्वजनिक गर्न र बिजुली दिन्छु भनेको समयमा निर्बाध विद्युत् आपूर्तिको सुनिश्चितता दिलाउन पनि महासंघले माग गरेको छ।
ऊर्जा समस्या समाधानमा सरकारलाई गम्भीर हुन आग्रह गर्दै महासंघले समस्या समाधान नभएमा जुनसुकै समय उद्योगहरू बन्द गर्नुपर्ने बाध्यता आउनेतर्फ सचेत गराएको छ।
चर्को लोडसेडिङले थलिए उद्योगहरु
चर्को लोडसेडिङले थलिए उद्योगहरु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु