काठमाडौं -नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
२०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित उच्च प्रहरी अधिकारीहरू भोलिदेखि अनिवार्य अवकाशमा जाँदैछन्।
प्रहरीमा आइजिपीका चार जना दाबेदार थिए। विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए।
२०७७ मंसिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीमा बढुवा भएका थिए। उनीपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा भएका थिए।
त्यस्तै गत चैतमा धिरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भएका थिए।
नेपाल प्रहरीको आइजिपीमा नियुक्त सिंहसँग प्रहरीको खास–खास ब्युरोमा बसेर काम गरेको अनुभव छ।
गत असारदेखि उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत थिए। सोही ब्युरोमा हुँदा चैत १७ गते उनी एआइजीमा बढुवा भए। त्यसवेला उनलाई उनीभन्दा सिनियर एआइजी विश्वराज पोखरेल र आइजिपी शैलेश थापा क्षेत्रीले फूली लगाइदिएका थिए।
उनले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक तह उत्तीर्ण गरेका छन्। उनी डिएसपी हुँदा गोरखा, नुवाकोट र दोलखामा प्रहरी प्रमुख भए। त्यस्तै, डिएसपी हुँदा उनी हनुमानढोकामा बसे।
एसपी हुँदा वीरजन्ज, दाङ र पर्सा प्रहरी प्रमुख भएर काम गरे। त्यस्तै, एसपी हुँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको उपत्यका अपरेसन शाखामा बसेर काम गरे। एसएसपी हुँदा लागुऔषध ब्युरो, महानगरीय अपराध महाशाखा सम्हाले।
त्यस्तै, डिआइजी भएपछि उनी बागमती प्रदेश प्रहरी कार्यालय र प्रदेश दुई प्रहरी कार्यालयको प्रमुख भए। पछिल्लो समय उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो इन्चार्ज थिए।
सिंहको जन्मघर दैलेख बिजौरा हो। उनले ०४९ चैतमा नियुक्ति लिएका थिए। हालका आइजिपी शैलेश थापासहितको टोलीसँगै उनी प्रहरी निरीक्षकबाट प्रवेश गरेका थिए। तर, उनी वैकल्पिक सूचीमा परेका थिए। उनी प्रहरी जागिरे हुँदा दुईपटक युएन मिसनमा सहभागी भएका छन् भने नेपाल सरकारबाट विभिन्न प्रकारका सातवटा विभूषण प्राप्त गरेका छन्।
उनीसँगै रवीन्द्रबहादुर धानुक पनि एआएजी बनेका थिए। त्यसअघि केपी ओली सरकारको पालिमा सहकुलबहादुर थापा र विश्वराज पोखरेल एआइजी बनेका थिए। बढुवा वरीयताको हिसाबले सिंह र थापा पोखरेलभन्दा पछाडि पर्छन्। उनी तेस्रो क्रममा रहेका थिए। तर, सरकारले तेस्रो क्रममा रहेका व्यक्तिलाई प्रहरी महानिरीक्षक बनाएपछि प्रहरीको माथिल्लो तहमा तरंग छ।
दुई सिनियर एआइजी अदालत जाने तयारीमा
प्रहरी महानिरीक्षक बन्न भित्रैभित्रै संघर्ष गरिरहेका पोखरेल सरकारले अर्कैलाई महानिरीक्षक बनाएपछि रुष्ट छन्।
उनी उक्त नियुक्त बदरको माग गर्दै कानुनी प्रक्रियामा अघि बढ्ने बताएका छन्। त्यसबारे उनले छलफल र तयारी गरेका छन्।
स्रोतका अनुसार सिरियरको पालो मिचेर नियुक्ति गर्दा दुवैजना रुस्ट बनेका छन्। उनीहरू कानुनी उपचारको बाटो खोज्ने तयारी गरेका छन्।
नेपाल प्रहरीको महानिरीक्षकमा सिंह
नेपाल प्रहरीको महानिरीक्षकमा सिंह

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु