पोखरा – चुनावी अभियानमा हिडिरहेका अटेरी अभियानका अभियन्ता अशोक खड्कालाई प्रहरीले वोलाएर पक्राउ गरेको छ । खडका बिरुद्ध निर्वाचन सम्वन्धि कसुर गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अभियन्ता खड्कालाई प्रहरीले गिरफ्तार गरेको अभियानका संयोजक एबम अभियानका तर्फबाट पोखरा महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गनेश पौडेलले जानकारी दिए। खड्कालाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको पौडेलले बताए। निर्वाचन प्रचार अभियानमा सक्रिय रहिरहेका बेला वडा प्रहरी कार्यालय वैदामले खड्कालाई फोन गरी बोलाएको र हिरासतमा लिएको पौडेलले जानकारी दिए ।
पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएको गनेश पौडेललाई शुरुमा दिएको लौरो चुनाव चिन्ह् मुख्य निर्वाचन अधिकृतको कार्यालयले फिर्ता लिएको बिरुद्ध खडकाले नारावाजी गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी सुन्दर तिवारीले खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले निर्वाचन सम्बन्धि कसुर तथा सजायं ऐन २०७३ को दफा २० को उपदफा १ (घ) उल्लेख गर्दै खड्कालाई पक्राउ गरी अनुसन्धान गर्न पत्र प्राप्त भएकाले उनलाई पक्राउ गरिएको जानकारी दिए। उक्त दफामा निर्वाचन सम्बन्धी कार्यमा प्रभाव पर्ने गरी धाक धम्की वा डर त्रास देखाउन नहुने प्राबधान रहेको छ।
मुख्य निर्वाचन अधिकृतको पत्रानुसार पक्राउ गरिएका खड्कालाई सोही ऐन अन्तर्गत कारबाही अघि बढाइने डिएसपी तिवारीले जानकारी दिए।