विराटनगर – मोरङमा राप्रपाकोतर्फवाट उम्मेदवारी दिएका मेयरको गाडीमा आगजनी गरेको अभियोगमा प्रहरीले कांग्रेसका एक कार्यकर्तालाई पक्राउ गरेको छ ।
मोरङको बेलबारी नगरपालिकामा राप्रपाकोतर्फवाट उम्मेदवारी दिएका मेयर खेमप्रसाद गौत्तमको गाडीमा आगजनी गरेको अभियोगमा प्रहरीले कांग्रेस कार्यकर्ता सुवास पाण्डेलाई पक्राउ गरेको हो ।
घटनापछि सीसीटीभी फुटेज हेर्दा आगजनीमा सुन्दरहरैंचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय पाण्डे देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी स्थानीय कांग्रेस कार्यकर्ता हुन । पेट्रोल छर्किएर लाइटरले कारको अगाडि र पछाडि आगो लगाएको सीसी टिभी फुटेजमा प्रष्टसँग देखिएसँगै उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
उम्मेदवार गौतमको बा १२ च ९३८४ नम्बरको कारमा बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार बिहानपख करिब २ बजे आगजनी गरेको आरोप गरिएको प्रहरीले जनाएको छ । आगजनीबाट झण्डासहित कारको अगाडि र पछाडिको केही भाग जलेको जानकारी गौतमले दिए। ‘बेलैमा घटना थाहा नपाएको भए कार पूर्ण रूपमा जल्ने थियो। आगोले घरमा पनि क्षति गर्ने थियो,’ उनले भने, ‘छिमेकीले घटनाको जानकारी गराएपछि तत्काल आगो निभाउन सम्भव भएकाले ठूलो घटना हुन पाएन। राजनीतिक चलखेल गरेर सुनियोजित तरिकाले घटना गराएको देखिन्छ।’ गौतम होटल व्यवसायी पनि हुन्।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयरमा उम्मेदवारी दिएका गौतमले पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार प्रयोग गर्दै आएका थिए । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।