पोखरा – स्थानीय तहको चुनावको मिति नजिकिदै गर्दा दलहरु आपसको गाली गलौज, आरोप प्रत्यारोप नाघेर कुटपीट र आक्रमणमा उत्रिएका छन ।
स्थानीय सत्ता हत्याउन नारावाजी, जुलुस, भोजभतेर, छलछामले मात्रै नपुगेपछि दलका कार्यकर्ताहरु भीडन्तमा उत्रिन थालेका हुन ।
बाजुरामा एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीचको झडप मत्थर नहुँदै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा माओवादी केन्द्रका वडाध्यक्ष र सदस्यका उम्मेदवारमाथि एमालेका कार्यकर्ताले सामूहिक आक्रमण गरेका छन्।
शुक्रबार घरदैलो अभियानमा पुगेका वडा नं १० का वडाध्यक्ष उम्मेदवार विनोद आचार्यसहितको टोलीलाई एमाले कार्यकर्ताले सामुहिक आक्रमण गरेका हुन्।
गाउँपालिकाको झोलुङ्गे माझी बस्तीमा मत माग्ने क्रममा एमालेका वडाध्यक्ष उम्मेदवार समेत रहेका बलबहादुर माझीसहितको टोलीले आक्रमण गरेको हो। भौतिक आक्रमणको भत्र्सना गर्दै इन्द्रावती गाउँपालिका कमिटी, माओवादीले कानुनी कारबाहीको माग गरेको छ।
इन्द्रावती पार्टी समितिका सचिव दिपक न्यौपानेद्धारा जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘इन्द्रावती गाउँपालिका स्थित वडा नम्बर १० झोलुङ्गे माझी बस्तीमा नेकपा माओवादी केन्द्रकाका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाका अध्यक्ष, सदस्यहरु सहितको टोली चुनावी प्रचारप्रसार अन्तर्गत घरदैलो अभियानमा जाने क्रममा सोही गाउँका स्थायी बासिन्दा श्री सूर्योदय आधारभुत बिद्यालयका प्रधानाध्यापक साथै सोही वडाका एमाले वडा अध्यक्ष समेत रहेका बल बहादुर माझी लगायतको एक आपराधिक जत्थाले नेकपा माओवादी केन्द्र इन्द्रावती गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्षका उम्मेदवार बिनोद आचार्य साथै अन्य सदस्यहरु र कार्यकर्ताहरु माथि गरिएको भौतिक आक्रमण प्रति घोर भर्त्सना गर्दछ । साथै कुनै पनि दलले मत माग्ने संबैधानिक हक बिपरितको निन्दनीय कार्य गर्ने दोषीलाई तत्काल कानुनी कारबाहीको माग गर्दछौं।’ इन्द्रावती गाउँपालिकामा माओवादी केन्द्रबाट ठूलोबाबु श्रेष्ठ, कांग्रेसबाट विकास लामा र एमालेबाट झम्क नेपाल अध्यक्ष पदका उम्मेदवार छन्।
यसैगरी बाजुराको बुढीनन्दा नगरपालिका ९ पाण्डुसेनमा एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउन्ड हवाई फायर र ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ ।
एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको बाजुराका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिए ।
एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई लात्ताले हिर्काएको विषयमा विवाद झडपमा परिणत भएपछि समाजवादीका कार्यकर्ता गुहार माग्दै अस्थायी प्रहरी पोस्ट पान्डुसेनमा पुगेका थिए । झडपमा समाजवादीका दुई जना, नेपाली कांग्रेसका ३ जना र प्रहरीतर्फ १० जना घाइते भएको उनले बताए ।
सुर्खेतमा कांग्रेस -माओवादी गठबन्धनकी वीरेन्द्रनगर नगरपालिकाको उपमेयर उम्मेदवार शान्ति ढकालले प्रयोग गरेको गाडीमा आगजनी भएको छ ।
माओवादी केन्द्रबाट गठबन्धनकी उपमेयर उम्मेदवारी बनेकी ढकालले प्रयोग गरेको बा१४च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिका ६ को मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटल अगाडि पार्किङ गरी राखेको गाडीमा शुक्रबार राति आगजनी भएको हो ।
जुम्ला रोडस्थित सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा पनि शुक्रबार राति आगजनी भएको छ ।
जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख एसपी पदमबहादुर विष्टका अनुसार मिनी बस नेकपा एमालेले प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो । राति करिब २ बजे स्कार्पियो र मिनीबसमा आगजनी भएको प्रहरीले जनाएको छ ।
नजिकै पर्ने मंगलगढी चोकमा ड्युटी बसेको प्रहरीले आगलागी भएको खबर गरेपछि नगर प्रहरी आएर आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट स्कर्पियोको टायर र बाहिरी भागमा क्षति भएको छ भने मिनीबसको सिसा र भित्र सिटहरुमा क्षति भएको छ ।
एसपी विष्टका अनुसार प्रहरीले पाँच जनालाई नियन्त्रनमा लिएको छ ।