भाई फुटे गवार लुटे भन्ने उखानलाई दलहरुले हरेक पटकको चुनावमा चरितार्थ पार्दै आएका छन । दुःख, सुखमा र मर्दापर्दा काँधमा काँध मिलाएर हिड्ने मानिसहरु चुनावको बेला राजनीतिक आस्था नमिल्दा वादविवादसँगै कुटपीटमा उत्रिने गरेका छन ।
बैशाख ३० गते हुन लागेको चुनावको रन्को यतिखेर अधिकांश घरको चुल्होदेखि आँगन, चोक, चौतारा, चियापसल, रक्सीका भट्टीहरुमा फैलिएको छ । चुनावी चर्चा चलाउनेक्रममा आपसमा मत बाँझिदा कुटाकुट गरेका उदाहरण धेरै ठाउँमा देखिदै आएको छ । स्थानीय निकायको चुनावको मिति नजिकिदै गर्दा राजनीतिक दल र समर्थकहरु विच कुर्सी हत्याउने होडमा साम, दाम, दण्ड, भेद लगायतका अनेक प्रपञ्च र हर्कतमा उत्रिएका छन । कार्यकर्ता, समर्थक र साधारण जनता समेत अनेक तर्क, वितर्क, कुर्तक गर्दै गालिगलौजदेखि कुटपीटमा उत्रिएका छन ।
यसरी भाई भाईमा आपसमा द्धन्द, कलह, झगडा, बैमनस्यता जन्मनुमा नेपालका अधिकांश नालायक निकम्मा नेतृत्वलाई दोष दिनैपर्छ । मंचमा विपक्षी नेतालाई कुर्लदै गाली, गलौज गर्ने, होच्याउने, खसाल्ने र आफु जान्ने, सुन्ने, वुझ्ने हुँ भन्दै अंहकारपूर्ण वकवास गर्ने नेतृत्वको चरित्र उनीहरुको समर्थकहरुसम्म फैलिएको छ । रचनात्मक, सिर्जनात्मक, दूरदुष्टि, राजनीतिक क्षमता नभएका नेतृत्वले देश र जनताको अवस्था नाजुक बन्दै गएको छ ।
नेता भनेको आर्दश हुनुपर्छ । नेताको चालचलन र चरित्र हरेक मानिसका लागि सत्कर्म गर्ने प्रेरणा दिने हुनपर्छ । देश र जनताको हक, हित, अधिकार, न्याय, उन्नती प्राप्तिका लागि गर्विलो ईतिहास बोकेको होस । आधारभूत जनताका गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगार जस्ता न्यूनतम आवश्यकता पुरा गर्न सक्ने क्षमतावान हुन जरुरी छ । व्यक्तिगत सुख, सयल, सम्पति, स्वार्थ त्यागेर देश र जनताको विकास र हितको लागि नेतृत्वले आफैलाई बलिदान गर्न सक्ने हुनुपर्छ ।
तर विडम्वना, नेपालको राजनीतिलाई केहि सिमित गिरोहले जनतालाई झुठा आश्वासन र सपना बाँडेर चुनाव जित्ने र राज्यको ढुकुटीसँगै स्रोत, साधन र शक्ति हत्याएर आफ्नो दूनो सोझाउने हतियार बनाउँदै आएका छन । देश र जनताप्रति वफादार सच्चा नेतृत्वहरु सिमित मात्रामा छन भने उनीहरु निकम्मा, स्वार्थी, गुटवन्दी, सामन्ती चरित्र बोकेका नेतृत्वको हालीमुहालीको सामु निरीह बन्न पुगेका छन ।
पछिल्लो समय राजनीतिलाई सत्ता, शक्ति, सम्पति, शान, सुरक्षा, शौकात, सम्मान, आर्जन गर्ने माध्यम बनाईदै छ । मानव समाजमा व्यक्तिगत स्वार्थको क्षितिज बोकेकाहरु सम्पति, शक्ति, सम्वन्ध, चाकरी, चाप्लुसी, चम्चागिरी गर्दै धमाधम राजनीतिमा हालिमुहाली गर्न थालेका छन । दलाल, कमिसनखोर, भ्रष्टाचारी, व्यापारी, व्यवसायी लगायतका विभिन्न माफिया गिरोहहरुले राज्यका स्रोत, साधन, सम्पति कव्जा गर्नका लागि आफु अनुकुलका भरौटेहरुलाई नेता बनाएर चुनावी मैदानमा उतार्ने प्रवृत्ति बड्दो छ । अव चुनाव लड्नका लागि को कति इमान्दार छ ?, राजनीति र सामाजिक क्षेत्रमा कति योगदान गरेको छ ?, उसको पृष्ठभूमि कस्तो छ ?, चाल, चलन, चरित्र, संगत, कस्तो छ ? भनेर मूल्यांकन गर्ने परिपाटी क्रमशः सकिदै गएको छ । बरु चुनावमा कस्ले कति रुपयाँ खर्च गर्न सक्छ ?, गुण्डागर्दी मच्याएर, बुथ कव्जा गरेर, राज्यका प्रशासनलाई प्रभावमा पारेर, मतदाता खरिद गरेर जित हात पार्न सक्छ कि सक्दैन ? भनेर उम्मेदवारको हैसियत तौलिन थालिएको छ । अर्कोतिर नेतृत्वले दलभित्र कुन गुटको मान्छे हो, चाडकी, चाप्लुुसी, चम्चागिरी कति गर्न सक्छ, आफन्त, नातागोता पर्छ कि पर्दैन, टिकट दिए वापत मोटो रकम वुझाउन सक्छ कि सक्दैन ? आफ्नो जाति, वर्ग, क्षेत्र सवै हेर्न थालेका छन ।
राजनीति नेतृत्वको यस्तो निकम्मा पाराले स्थानीयदेखि प्रदेश र संघिय सरकारसम्म माफियाहरुको चलखेल हुन थालेको छ । जनताका आधारभूत समस्यालाई सम्वोधन गर्नुभन्दा पनि सत्ता, शक्ति, सम्पति, सुख, सयल, सम्मानमा रमाउने नेतृत्वले देशका हरेक क्षेत्रमा भ्रष्टाचार व्यापक मौलाउँदै गएको छ । दैनिक उपभोग्य सामाग्रीहरु छिन छिनमा मूल्य बढेर सर्बसाधरणलाई विहान वेलुकाको छाक टार्न धौधौ पर्न थालेको छ । गाउँका भत्किएका साँघुरा मोटरवाटोमा दूर्घटनामा परेर शयौं निर्दोष नागरिकहरुले ज्यान गुमाउन बाध्य हुनु परेको छ । शहरदेखि गाउँसम्मका प्रायः हरेक जसो घरका छोरा छोरी विदेशी भूमिमा परिवारको पेट पाल्न ज्यान जोखिममा राखेर काम गर्न बाध्य छन । वेरोजगारीको चर्को समस्या, शिक्षा, स्वास्थ्य, गाँस, बाँस, कपास र दैनिक जीवनमा प्रयोग गरिने सेवा र सामाग्रीहरुको चर्को मूल्य बृद्धिले सर्वसाधरण नागरिकहरु ऋणमा चुर्लुम्म डुवेर उठिवास हुने अवस्थामा पुगेका छन । देशका उद्योग व्यवसायहरु टाट पल्टने अवस्थामा पुगेका छन । अधिकांश आवश्यकता पुरा गर्न विदेशीको मुख ताक्नुपर्ने अवस्थाले देशले चर्को व्यापार घाटा व्यहोरेर टाट पल्टने अबस्थामा पुग्न लागेको छ ।
तर देशको नीति बनाउने र निर्णय गर्ने ठाउँमा पुगेकाहरुमध्ये अधिकांश भने षड्यन्त्र, धोका, जालझेलमार्फत कसरी सधै सत्तामा टिकिरहने, राज्यका स्रोत, साधन र सम्पतिमाथि कव्जा जमाईरहने, आफु, आफन्त र आसेपासेहरुको दूनो सोझ्याउने भनेर सम्पूर्ण शक्ति खर्च गरिरहेका छन ।
लोकतन्त्रमा नेतृत्व कस्तो चयन गर्ने ? भन्ने शक्ति र निर्णय आम जनताले गर्ने हो । तर विडम्वना, नेपालमा हल्लै हल्लाको पछि कुँदेर, भोज, भतेर, जाँड, रक्सी, मासु, भत्ता जस्ता क्षणिक स्वार्थहरु पुरा गर्न दलको झण्डा बोकेर कुँदने भेडा जनता धेरै छन । घरमा विरामी भएका आमा, वुवालाई तातो पानी तताएर खान नदिनेहरु, वरको सिन्को पर नसार्ने निकम्माहरु देश र जनताको लागि भन्दै दलका झण्डा च्यापेर घोक्रो सुक्ने गरी चिच्याउँदै जुलुसमा हिडेका देखिन्छन । यस्ता भेंडा प्रवृत्ति र दास चिन्तन बोकेकाहरुलाई राजनीतिक सिद्धान्त, दर्शन, नेतृत्वको चरित्र कुन चरीको नाम हो केहि थाहा नै छैन । त्यतिमात्रै होईन, अघिपछि सुखदुःखमा, मर्दापर्दा सधै चाहिने दाजभाई, छिमेकीहरुवीच पनि बादविवाद गर्ने, गालि गलौज गर्ने र कुटाकुट गरेर ज्यान लिनेसम्मका आपराधिक गतिविधि गर्न समेत पछि पर्दैनन ।
जव वर्तमान वर्वादीतर्फ धकेलिदै गइरहेको छ भने विगतको वारेमा समिक्षा गर्न जरुरी छ । विगतमा कहाँ, कुन पक्षले कसरी, किन, कति समस्या निम्त्याएको छ ती पक्षहरुको पहिचान गरी सुधार गर्नेतर्फ अग्रसर हुन जरुरी छ । यदी वर्तमानमा विगतमा गरिएका गल्ती नसच्याएमा भविष्य झनै कहाली लाग्दो बन्नेछ ।
नेपालको राजनीतिको पाटोमा हेर्दा विगतदेखि वर्तमानसम्मका सकारात्मक र नकारात्मक पाटो सूक्ष्म ढंगले केलाउन जरुरी छ । समय अनुसार केहि सकारात्मक परिवर्तन पनि भएका छन । तर देश र सर्वसाधरण जनताले जति विकास र परिवर्तन पाउनुपर्ने हो त्यो पाएका छैनन । हजारौं शहीदको बलिदानले व्यवस्था र सत्ता परिवर्तन भए तर त्यसको फाईदा सिमित शक्ति केन्द्र र त्यसको वरपर घुम्नेहरुले मात्रै हासिल गरेका छन । हिजो एक छाक भात कहाँ खान पाईएला भनेर जनताको दैलो दैलोमा चहार्ने भातमाराहरु आज सत्तामा पुगेर राज्यको स्रोत, साधन र शक्तिको दुरुपयोग गरेर आफुसँगै आफन्त र आसेपासेहरुलाई समेत सुख, सयल र सम्पन्नताको जीन्दगी विताईरहेका छन ।
लोकतन्त्रमा धूर्त व्वाँसा प्रवृत्तिका पात्रहरुको जन्म भेडा जस्ता जनताहरुले नै जन्माएका हुन । हरेक चुनावमा बास्तविकता नवुझिकन सिमित क्षणिक स्वार्थको लागि दलको झण्डा बोकेर अमूल्य मत निकम्मा नेतृत्वलाई सुम्पिदा देश र जनताले यस्तो दुर्दशा भोग्नु परेको हो । त्यसैले हरेक चुनावमा सवै जनताले दलिय दासत्व तोडदै नातावाद, कृपावाद, स्वार्थवादवाट टाढा रहेर देश र जनताको लागि मरिमेटने मनकारी, इमान्दार, सक्षम, योग्य नेतृत्वलाई
मत दिन जरुरी छ । जनताको यही एक मतले सक्षम, योग्य र ईमान्दार नेतृत्व चयन गरेमा सिंगो देशको भविष्य उज्यालो बन्छ । दलाल चरित्र वोकेका, भ्रष्ट, स्वार्थीलाई मत दिए सिंगो देशसँगै करोडौं जनताको जीन्दगी नारकिय बन्छ । अवको बैशाख ३० गते स्थानीय निकायमा कस्तो नेतृत्व चयन गर्ने ?, के को आधारमा गर्ने ? चुन्ने अधिकार जनतालाई नै छ । त्यतिमात्रै होइन, आफुले चुनेको नेतृत्वले दिने राम्रो र नराम्रो फलको भागिदार पनि जनताले नै व्यहोर्नुपर्छ ।
जनता ब्वाँसा जन्माउने भेडा बन्नु हुदैन
जनता ब्वाँसा जन्माउने भेडा बन्नु हुदैन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु