बुटवल – चुनाव प्रचारको बेला भएको विवाद सल्टाउन पुगेकी एमालेकी एक महिला कार्यकर्ताको अपहरण गरेर बलात्कारपछि हत्या भएको छ । हत्या अभियोगमा प्रहरीले एक जनप्रतिनिधिसहित माओवादी केन्द्रका तीन कार्यकर्ता पक्राउ परेका छन्। रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका -११ का वडा अध्यक्ष जयकुमार बुढा, उनका भाई अर्जुन बुढा र नेकपा माओवादी केन्द्रको तर्फबाट उक्त वडामा अध्यक्ष पदमा उम्मेदवार बनेका कुमार सिंह बुढालाई रुकुम प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी प्रकाश डाँगीले अभियुक्तहरुका बिरुद्ध रुकुमकोट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिए । महिला हत्या आरोपमा किटानी जाहेरीपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको डाँगीले बताए ।
‘म्याद थप भएको छ । दश दिनको म्याद थप भएको हो। अब बयान सुरु हुन्छ।’, उनले भने।
बैशाख १९ गते स्थानीय टक्सेरा गाउँमा निर्वाचन प्रचार प्रसारका क्रममा विवाद भएपछि विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षीय डुथी बुढा भन्ने जुङमाया बुढालाई माओवादी कार्यकर्ताहरुले अपहरण गरेर लगेका थिए। माओवादी कार्यकर्ताको अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा रुकुम प्रहरीले टक्सेरा देखि करिब ४ किलोमिटर माथि जंगलमा कानमा रगत बगेको र निवस्त्र अवस्थामा मृत फेला पारेको रुकुम प्रहरीले जनाएको छ।
जिल्ला अस्पतालमा रहेका चिकित्सकले पोस्टमार्टम गर्न नमानेपछि शव बुटवल पठाएर पोस्टमार्टम गरिएको थियो । बुधबार प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायतको टोली घटनास्थलतर्फ गएको छ । नेकपा एमालेले माओवादी कार्यकर्ताले महिलाको हत्या गरेको आरोप लगाएको छ । त्यस्तै माओवादीले भने झडपका क्रममा एमाले र कांग्रेस कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि कुटपिट गरी महिलालाई बेपत्ता बनाएको आरोप लगाएको छ । माओवादीका कार्यकर्ताले बलत्कार गरेर महिलाको हत्या गरेको दावी गर्दै आएको छ । एकअर्कालाई आरोप लगाउँदै एमाले जिल्ला अध्यक्ष टोपबहादुर वली र माओवादी केन्द्रका जिल्ला इन्चार्ज तेजबहादुर वलीले विज्ञप्ति जारी गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन भएको पुथा उत्तरगंगामा नेकपा माओवादी केन्द्रसँग समय समयमा विवाद उत्पन्न हुने तथा दुई समूहबीच झडप हुँदै आएको छ।
मृतक जुङमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टमका लागि ल्याइएको छ। मृतक बुढाको माओवादी केन्द्रका उम्मेदवार र वडा अध्यक्ष लगायतले बलत्कार गरी बिभत्स ढंगले हत्या गरेको एमाले पोलिटब्युरो सदस्य माधव शर्माले बताए।