स्याङ्जा -खचाखच मतदाता बोकेर मतदानस्थलतर्फ जाँदै गरेको जीप स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमूलमा दुर्घटनाग्रस्त हुँदा १४ जनाको मृत्यु भएको छ ।
स्थानीय तहको निर्वाचनमा मत खसाल्न अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको २ च ३०२६ नम्वरको पिकअप जीप शुक्रबार सडकवाट करिव डेढ सय मिटर तल खस्दा १४ मतदाताको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुमध्ये एक जना वालक रहेका छन । दुर्घटनामा ११ यात्रु घाईते भएका छन । दुर्घटनामा मृत्यु हुनेहरुमा अधिकांश वृद्धाहरु रहेका छन । दुर्घटनामा वालिङ नगरपालिका–१४ पञ्चमूल अर्खलबासकी ६३ बर्षिया माया पुन, नौ बर्षिय प्रविण कुँवर, ५० वर्षिय कुलदिप कुँवर, ५० बर्षिया डेमकुमारी कुँवर, ८६ बर्षिया हरिकला कुँवर, ५० बर्षिया टेककला कुँवर, २५ बर्षिया जमुना कुँवर, ७० बर्षिया भिमकला कुँवर, ७० बर्षिया मुवाकुमारी कुँवर, ४३ बर्षिया पोटकुमारी कुँवर, ४३ वर्षिया जानुका कुँवर, ४२ बर्षिया ज्ञान दली कुँवर, ५० वर्षिया मिना कुँवर र फूलदेवी कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी वालिङ नगरपालिका–१४ पञ्चमूल अर्खलबासकी बेलमाया कुँवर, चालक भूलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर अनिश कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर र सीता कुँवरलाई थप उपचारको लागि पोखरातर्फ पठाईएको प्रहरीले जनाएको छ । अधिकांश सुरक्षाकर्मी चुनावमा सुरक्षाको लागि परिचालन गरिएको र अन्य सवारीसाधन पनि नचलेका कारण तत्काल घाईतेहरुलाई उद्धार गरी अस्पतालतर्फ लैजान समस्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
घटनापछि स्थानीयवासीको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले घाईतेहरुको उद्धार गरी वालिङस्थित स्वास्थ्य केन्द्रमा उपचारका लागि लगेका थिए । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि गम्भिर घाईतेहरुलाई पोखरा पठाईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए ।