उदयपुर- कांग्रेस कार्यकर्ताले फर्जि मत खसालेको भन्दै विरोध जनाउनेक्रममा उत्पन्न विवादले उग्ररुप लिएपछि प्रहरीले चलाएको गोली लागेर शुक्रबार चन्द माओवादीका एक कार्यकर्ताको मृत्यु भएको छ ।
कटारी नगरपालिका–१० सोरुङ्गछबिसेमा मतदान केन्द्र सुरक्षार्थ खटिएका प्रहरीले चलाएको गोली छातीमा लागेर स्थानीय १९ वर्षीय नवीन कटुवालको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले चलाएको गोली लागेर घरमै बसिरहेका १४ बर्षिय बालक मोहन श्रेष्ठ गम्भिर घाईते बनेका छन । प्रर्दशनकारीसँगको झडपमा टाउकोमा ढुंगाले लागेर प्रहरी जवान विष्णु तामाङ घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कटारी अस्पताल लगिएको छ । कालिका मावि मतदान केन्द्रमा मतदान सम्पन्न भएपछि गोली चलेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए ।
मृतक कटुवाल नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट स्वतन्त्र उमेदवार बनेका गौरबहादुर कटुवालका भतिज हुन् । चन्द समूहका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले आफ्नो पार्टीका कार्यकर्ताको प्रहरीको गोली लागि ज्यान गएको बताएका छन् ।
उनले कांग्रेस कार्यकर्ताले फर्जी मत खसाल्न लाग्दा रोक्ने क्रममा विवाद सिर्जना भएपछि प्रहरीले गोली चलाएको बताए । प्रजिअ यादवले मतदान प्रक्रिया ५ बजेर २० मिनेटमा सकेपछि दलका कार्यकर्ताबीच विवाद उत्पन्न भई प्रहरीमाथि ढुंगामुढा गर्दा शान्तिसुरक्षाका लागि गोली चलाइएको बताए ।उनले भने, ‘मतदान सकेर दलका प्रतिनिधिले मुचुल्कामा समेत हस्ताक्षर गर्दैगर्दा अकस्मात बाहिरबाट ढुगांमुढा हुन थालेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।’ सिलबन्दी गर्नेक्रममा ५०र६० जनाको समूहले मतपेटिका लुट्ने प्रयास गरेपछि स्थिति तनावग्रस्त भएको प्रजिअ यादवले बताए । ‘स्थितिलाई नियन्त्रणमा लिन मतदानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीको टोलीले हवाई फायर गरेको हो,’ उनले भने ।
कालिका मावि सोरूङ छबिसे मतदान केन्द्रमा प्रहरी सहायक निरीक्षकको कमान्डमा ४ जना प्रहरी र ८ जना म्यादी प्रहरी गरी जम्मा १२ जना रहेका थिए । त्यसैगरी प्रहरी निरीक्षकको कमान्डमा मोबाइल गस्ती र बाहिरी भागमा नेपाली सेना पनि रहेको जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द्र बोहोराले बताए । उनले पहाडी भेग रहेकाले फोन सर्म्पक हुन नसकेको र विस्तृत विवरण आउन नसकेको बताए ।
प्रहरीले एसएलआरबाट ४ राउन्ड र थ्रीनटथ्री राइफलबाट ४ राउन्ड गरी जम्मा ८ राउण्ड गोली फायर गरेको जनाएको छ । कटारी–१० मा वडाध्यक्षका लागि नेकपा एमालेबाट क्षेत्रबहादुर खड्का, कांग्रेसबाट बलबहादुर कार्की, नेकपा एकीकृत समाजवादीबाट लेटनारायण श्रेष्ठ र स्वतन्त्रबाट गौरबहादुर कटुवाल उम्मेदवार रहेका छन् ।
मतपेटिका सुरक्षित
मतदान प्रक्रिया पूरा भई मुचुल्कासमेत गरेर बन्द गरिएको कालिका मावि सोरुङको मतपेटिका सुरक्षित रहेको प्रमुख निर्वाचन अधिकृत दीपक खनालले वताए । उनका अनुसार मतपेटिका, मतदान अधिकृत सबै सुरक्षित रहेको र मतपेटीका संकलन गर्ने क्रममा रहेको उनले वताए । मतपेटिका कटारी नगरपालिकको केन्द्र कटारी ल्याउने तयारी गरिएको छ ।
त्यसैगरी त्रियुगा नरपालिका–१२ पुरानो गाईघाट मावि मतदान केन्द्रमा वर्षाको कारण ढिलाइ भएर विवाद भए पछि मतदान पुनः गर्ने गरी रद्द गरिएको छ । यी दुई घटनाबाहेक उदयपुरमा मतदान प्रक्रिया शान्तिपूर्वक सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत खनालले बताए ।
यसैगरी देशैभरी भएको चुनावी झडपमा गोली लागेर २ जना घाईते बनेका छन । विभिन्न ३७ स्थानमा भएको झडपमा १८ स्थानमा हवाई फायर, २ ठाउँमा गोली प्रहार, बाजुरामा अश्रुग्यास प्रहार
देशभर ३७ स्थानमा झडपका घटनाहरु भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १६ स्थानमा हवाई फायर गरेको देखिन्छ भने गोरखाको भिमसेन थापा गाउँपालिका र उदयपुरको कटारीमाा प्रहरीले गोली प्रहार गर्यो । जसमा दुई जना घाइते भएका छन् ।
धनुषाको सहिदनगर १ मा भने प्रहरीले स्थिति नियन्त्रणमा लिनेक्रममा रबरको गोली प्रहार गरेको देखिन्छ ।
राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबारको निर्वाचन शान्तिपूर्ण हुन नसकेको निष्कर्ष निकालेको छ । निर्वाचन अनुगमनपछि आयोगले पत्रकार समेलन नै गरेर यस्तो बताएको हो । सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन अपेक्षाकृतरुपमा शान्तिपूर्ण हुन नसकेको बताए । आयोगका ४५ टोलीले ७७ जिल्लाको निर्वाचनको अनुगमन गरेको थियो । केही जिल्लामा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएको केही स्थानमा हवाई फायर हुँदा मतदान प्रभावित भएको आयोगले बताएको छ । बाजुराका विभिन्न स्थानमा भने चुनावी झडप नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपालियाले भने सप्तरी बझाङ, बारा र रौतहटका केही मतदान केन्द्रहरुमा अप्रत्याशित र अवाञ्छित गतिविधिहरु भएको बताए । उनले देशभर ३२ वटा केन्द्रमा दुई पक्षीय झडप र विवादका कारण मतदान स्थगित भएको बताए ।
१. दोलखा, बैतेश्वरमा झडप, १३ राउन्ड हवाई फायर
२. गोरखाको घ्याल्चोकमा झडपपछि १ राउन्ड हवाई फायर
३. हुम्लाको चंखेलीमा स्वतन्त्र र माओवादी उम्मेदवारबीच झडप । स्थिति नियन्त्रणमा लिन सशस्त्रले चलायो ८ राउन्ड हवाई फायर
४. रामेछापको खाडादेवी १ राकाथुममा झडप ३ राउन्ड हवाई फायर
५. ओखलढुंगाको चम्पादेवी ९ मिश्रभन्ज्याङ, हवाई फायर । एमाले र कांग्रेसबीच झडप
६. सर्लाही, धनकौल, त्रिपक्षीय झडप, १ दर्जनभन्दा बढी हवाई फायर, कांग्रेस, एमाले र माओवादीबीच झडप ।
७. सर्लाहीको कौडेनामा ६ वटा हवाई फायर
८. सर्लाही चक्रघट्टा गापा १ शिवनगरमा १ राउन्ड हवाई फायर । जसपा र माओवादीबीच झडप ।
९. बाजुराको बुढीनन्दा नपा, हवाई फायर
१०. रामेछापको मन्थली नगरपालिका १२, सिक्राल २ राउन्ड हवाई फायर ।
११. हुम्लाको अदानचुलीमा झडप, ५ राउन्ड हवाई फायर
१२. अछामको साफेवगरमा झडप, ३ राउन्ड हवाई फायर
१३. धनुषाको सहिदनगर नगरपालिकामा १ राउन्ड रबरको गोली
१४. काभ्रेको तेमाल गाउँपालिका ७ मा भुमेश्वर माविमा मतदान केन्द्रमा विवाद । १ राउन्ड हवाई फायर
१५. पर्साको मिर्जापुरमा ४ राउन्ड हवाई फायर । सत्ता गठबन्धन र एमालेबीच झडप ।
१६. गोर्खाको भिमसेन थापा गाउँपालिका । कांग्रेस माओवादी झडप । गोली चल्दा एक घाइते ।
१७. दार्चुला शैल्यशिखर नपा ६ मा एमाले र कांग्रेसबीच झडप । ५ राउन्ड हवाई फायर ।
१८. सप्तरीको रुपनी गाउँपालिका बीसपिट्टीमा ५ राउन्ड हवाई फायर