पोखरा – सर्वदलिय बैठकले अपरान्ह् दुई बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेपनि पोखरा महानगरपालिकाको मतगणना झण्डै साढे दुई घण्टा ढिलो गरी शुरु गरिएको छ ।
साना दलका प्रतिनिधि मतगणनामा आउन ढिलाई गरेकाले निर्धारित समयभन्दा ढिलो शुरू भएको निर्वाचन कार्यालयले जनाएको छ।
पोखरा उपत्यका नगर विकास समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको सभाहलमा मत गणना थालिएको छ।
पोखरा महानगरको वडा नम्बर १, १२, र २३ को मत गणना थालिएको मुख्य निर्वाचन कार्यालयका अधिकृत निलप्रसाद पनेरुले जानकारी दिए। उनका अनुसार मत गणना गर्न दुई ठाउँमा ६ वटा खाल बनाइएको छ।
देशकै ठूलो पोखरा महानगरमा नयाँ जनप्रतिनिधि चुन्न शुक्रबार भएको मतदानमा १ लाख ४३ हजार २१३ मत खसेको थियो।
पोखरामा कुल २ लाख ७ हजार मतदाता छन्। पोखराको मेयरमा सत्तारुढ गठबन्धनबाट धनराज आचार्य, उपमेयरमा कोपिला रानाभाट, नेकपा एमालेबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङ उम्मेदवार छन् भने स्वतन्त्रबाट मेयरमा गनेस पौडेल लगायत उम्मेदवार छन्।