चितवन -बर्षायाम नजिकिदै गर्दा कुन बेला भीषण हावाहुरी र घनघोर बर्षा हुन्छ ? मेसो पाउन मुस्किल हुन्छ । त्यसैले घरवाहिर निस्कदा र यात्रा गर्दा सावधानी नअपनाएमा दूर्घटनामा परेर ज्यानै जाने खतरा आईपर्छ । आँधीवेहोरी, हुरीको वितण्डाले रुखका हागाहरु भाँच्ने, पल्टाउने, घरका छानोहरु उडाउने हुनाले बाहिर हिडडुल गरेमा त्यसले घाईते मात्रै होईन, ज्यानै लिन सक्छ । बर्षेनी चट्याङमा परेर मानिस र चौपायाहरुको ज्यान गइरहेको हुनाले पनि शर्तक रहन जरुरी छ । बर्षासँगै आउने बाढि, पहिरो र भेलले पनि बगाएर ठुलो धनजनको क्षति गर्न सक्ने भएकोले सुरक्षितस्थानमा बस्नुपर्ने देखिन्छ ।
भीषण हुरी चलेको बेला यात्रा गर्दा चितवनमा शुक्रबार साँझ अटो रिक्सामा सवार तीन जनाको ज्यान गएको छ । सडकमा हिडिरहेको अटो रिक्सामाथि रुखको हाँगा भाँच्चिएर खस्दा तीन जनाको ज्यान गएको हो । ठाउँ ठाउँमा हावाहुरीले बिद्युतको पोल, तार, रुखहरु भाँच्चिदिएको छ । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको हो ।
साँझ एक्कासी आएको हावाहुरीका कारण जिल्लाका विभिन्न ठाउँमा रुख ढल्दा बिजुलीका पोलहरु ढलेका छन् भने ठाउँठाउँमा विद्युत् अवरुद्ध भएको छ ।
भरतपुर महानगरपालिका ११ भोजाड जंगलस्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रूख ढलेर च्याप्दा भरतपुर ११ लामाटोल बस्ने वर्ष ५० का प्रदीपकुमार लामा र गोरखा गण्डकी गाउँपालिका ६ घर भई भरतपुर ७ बस्ने माया गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, भोजाडमै ना १ ज ६१४० नम्बरको म्याजिक भ्यानलाई रुखले थिच्दा भरतपुर ११ का लोकनाथ न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटोमा सवार अबिता गुरुङ र तुलमाया गुरुङ सामान्य घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
राती वर्षा सहित आएको हावाहुरीले अटो र म्याजिकमाथि रुख ढलेको थियो । भीषण हावाहुरीले नारायणी नदीको पुल माथि रहेका सबै बिजुलीका सबै पोल भाँचिदिएको छ । नारायणगढदेखि गैंडाकोटसम्मका पुलमाथि रहेका सबै पोल भाँचिएका छन् । पोल नारायणी नदीतर्फ झुन्डिएको अवस्थामा छन् । पोलहरू ढल्दा रेलिङसमेत भाँचिएको छ ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार झण्डै १ सय विद्युतका पोल भाँचिएका छन् । अकस्मात् आएको हावाहुरीले गुडिरहेको ट्रकलाई नारायणी पुल माथि नै लडाइदिएको थियो । पुलमा रहेको बारले गर्दा ट्रक नदीमा खस्नबाट जोगिएको प्रहरीले जनाएको छ। ट्रक लडेपछि केहीबेर पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध बनेको थियो । क्रेनको सहायताले ट्रकलाई उठाएपछि राजमार्ग खुलेको छ ।
हावाहुरीले भरतपुरमा रहेको सिनर्जी एफएम ९१.६ मेगाहर्जको टावर भाँचिएको छ । रेडियोको प्रसारण अहिले बन्द छ । भरतपुरका अधिकांश भागमा विद्युत् लाइन छैन । साझा पेट्रोल पम्पको छाना खसेर गाडी थिचेको छ । भरतपुर अस्पतालको हाताभित्रको पार्किङमा रूख ढलेर स्कुटर र मोटरसाइकल च्यापेको छ ।
तोरीखेतमा रुख ढलेर घर भत्काएको प्रहरीले जनाएको छ । भरतपुर बाईपासमा डिभिजन सडक कार्यालय अगाडि रहेको वरको रुख लडेर तीन वटा फिडरको ११ के भी प्रसारणको तारमा पर्दा करिब ३०० मिटर तार सहितको पोल भाँचिएर बाटो र अवरुद्ध भएको छ । अहिले उद्धारको काम भइरहेको चितवन प्रहरीका डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।
चितवनमा भीषण हावाहुरीले रुखको हाँगा भाँच्चिएर किच्दा रिक्सामा सवार तीन जनाको मृत्यु
चितवनमा भीषण हावाहुरीले रुखको हाँगा भाँच्चिएर किच्दा रिक्सामा सवार तीन जनाको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु