पोखरा – प्राकृतिक सुन्दरताले झकिझकाउ पोखरा कला, संस्कृति र सम्पदाको दृष्टिले पनि उतिकै प्रसिद्ध छ । माछापुच्छेको काखमा रहेको सुन्दर नगरीमा रहेर सेती नदीजस्तै कला र संस्कृतिको क्षेत्रमा अनवरत आफूलाई समर्पित गर्ने साधकहरुले पोखराको ख्यातिलाई स्वदेश मात्रै होइन, विदेशमा समेत प्रसिद्ध बनाएका छन ।
कलाका अनेक क्षेत्रहरु साहित्य, संगित, गीत, चित्रकलाका साधक र पारखीहरुले पोखराको गौरवलाई अझै उचाईमा पुराएको छ ।
कलाका अनेक पक्षहरुमध्ये चित्रकलाका लागि पनि पोखरा निकै प्रसिद्ध छ । रंगहरुलाई क्यानभासमा पोत्दै प्रकृति र जीन्दगीका अनेक पक्षहरुलाई चित्रमा उतार्न सक्षम पोखरेली चित्रकारहरुको कलाकृर्तिहरु स्वदेश मात्रै होइन, विदेशका अनेक भूभागमा पुगेका छन ।
जीन्दगीका अनेक रंगहरुलाई चित्रकलामा उतार्ने कलाकार साधकहरुमध्ये नगेन सिंह निकै चर्चित र प्रसिद्ध नाम हो । जीन्दगीका अनेक पाटाहरुलाई रंगहरुमार्फत अभिव्यक्त गर्दै त्यसैमा आफुलाई समर्पित गर्ने नगेन सिंहले जन्माएको नगेन आर्ट एकेडेमी अहिले चित्रकलाको उत्थान र विकासमा निकै सक्रिय रहेको छ । नगेन आर्ट एकेडेमीले देशभरका चित्रकलाको विकासमा टेवा पुराउन अहिले पोखरामा नेशनल फाईनआर्ट प्रदर्शनी गरेको छ । गत शुक्रबारबाट पोखराको चिप्लेढुङ्गामा अवस्थित घामपानी मार्केटभित्र रहेको एकेडेमीको आफ्नै हलमा सो फाईनआर्ट प्रदर्शनी कार्यक्रम भईरहेको छ । जेष्ठ १५ गतेसम्म संचालन हुने प्रदर्शनीमा सात प्रदेशका १३ जिल्लाका ४९ कलाकारहरुले कोरेका उत्कृष्ट ९९ कलाकृतिहरु राखिएका छन ।
प्रर्दशनीको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित पोखरा महानगरपालिका वडा नम्बर ४ का नव निर्वाचित वडा अध्यक्ष देवकृष्ण पराजुलीले राजधानी बाहिर केही गर्ने उद्देश्यले खोलिएको नेगन आर्ट एकेडेमीको सफलताको कामना गर्दै पोखरामा कला क्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गर्ने आश्वासन दिए । उनले चिकलाको विकासका निम्ति पोखरा महानगरका सामुदायिक विद्यालयहरुमा कला शिक्षालाई जोड दिनुपर्ने बताउँदै अभिभावकहरुले पनि आफ्ना बच्चाहरुको भावना र इच्छा बुझेर त्यसै अनुरुपको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।
प्रदर्शनी कार्यक्रममा नेपाल ललितकला एकेडेमीका प्राज्ञ तथा पुर्व सभासद् नगेन सिँहले कलाकार राष्ट्रका गहना मात्र होइनन् अभिन्न अंगका रुपमा नै घोषणा गर्नुपर्नेमा जोड दिदै उनले प्रत्येक सरकारी विद्यालयमा कला शिक्षा हुनुपर्ने र प्रत्येक नगरपालिका तथा गाउँपालिकामा कला विभाग राख्न माग गरे ।
प्रदर्शनी कार्यक्रममा विशिष्ट अतिथिका रुपमा उपस्थित वरिष्ठ कलाकार पदम घलेले यस एकेडेमीको संचालनले कला क्षेत्रको विकासमा सहयोग पुग्ने आशा व्यक्त गर्दै सरकारले कला शिक्षा अनिवार्य गर्नुपर्ने माग गरे ।
त्यस्तै उक्त प्रर्दशनी कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय सदस्य माधव पनेरुले पोखरा पर्यटकीय शहर भएकोले कलाको प्रवद्धन र विकास हुनु अति जरुरी रहेको बताए ।
प्रेस सेन्टर पोखरा महानगर कमिटिका अध्यक्ष शिवराज बस्ताकोटिले आफ्नो परिवारमा पनि कलाकारहरु भएकाले कला के हो बुझेको र कलाको विकास हुनु अति आवश्यक रहेको बताए ।
नगेन न्यूज पब्लिकेशन प्रा.लिका अध्यक्ष ज्योती हमालले राज्यले कला र कलाकारहरुको सम्मान गर्न नसकेका कारण नेपालबाट धेरै कलाकारहरु पलायन हुने अवस्था सृजना भएको बताउँदै पोखरामा कलाको एकेडेमी खोलेर दक्ष कलाकार उत्पादन गर्ने उद्देश्यले नगेन आर्ट एकेडेमी संचालनमा ल्याएको जानकारी दिईन ।
उनले महानगरमा पनि आर्टको, कलाको केही नभएको र चित्रकला, नाटक, गितसंगित लगायतका कलालाई सरकारबाट नै उपेक्षा गर्ने कार्य भएको जनाउँदै यो राष्ट्रको लागि र्दुभाग्यपूर्ण भएको बताइन ।