पोखरा -चालक दलका तीन सदस्यसहित २२ यात्रु बोकेर पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको यात्रुवाहक विहान आइतबार बिहानदेखि सम्पर्क विहीन भएको छ ।
पोखरा विमानस्थलवाट ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको 9N-AET कल साइन भएको ट्वीनेटर जहाज विहान १० बजेर २० मिनेटमा अवतरण हुनुपर्नेमा विहान ११ बजेसम्म अझै सम्पर्कमा आएको छैन । कास्कीको उतरी क्षेत्र विहानैदेखि बादलिएकोले भिजिविलिटी नभएका कारण बिमान वेपत्ता भएको अनुमान गरिएको छ ।
बिहान पोखरा विमानस्थलबाट ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्क विहीन भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए । उनका अनुसार पोखरा विमानस्थलको टावरले जोमसोम टावरलाई जहाज हस्तान्तरण गरेको थियो । जोमसोम टावरसँग सम्पर्क भएको केही समपछि जहाज सम्पर्क विहीन भएको सुवेदीले बताए ।
विमानमा चालक दलका क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, सहायक पाईलट उत्सव पोखरेल र एयर होस्टेज किस्सी रहेका थिए । विमानसँगै वेपत्ता यात्रुहरुमध्ये १३ नेपाली, चार भारतीय र दुई विदेशी रहेका छन ।
नेपाली यात्रुहरुमा इन्द्रवहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, बसन्त लामा, गनेशनारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरवहादुर तामाङ्ग, राममाया तामाङ्ग, सुकमाया तामाङ्ग, तुलसादेवि तामाङ्ग रहेका छन । भारतीय नागरिकहरुमा अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, रितिका त्रिपाठी र वैैभविक भण्डारेकर रहेका छन । यसैगरी विदेशी नागरीक यूवे वीलनर, मेइके ग्रिटग्राफ रहेका पोखरा विमानस्थलले जनाएको छ ।
पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जहाज टावरको सम्पर्क बाहिर भएको वताए । वेपत्ता विमानको खोजिमा सुरक्षाकर्मीको टोली परिचालन गरिएपनि मौषम बादलिएकोले खोजिमा समस्या भएको प्रहरीले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हराइरहेको तारा एयरको विमान उडेको १२ मिनेटसम्म सम्पर्कमा रहेको जनाएको छ । प्राधिकरणले आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै आइतबार पोखराबाट स्थानीय समयअनुसार बिहान ०९ः ५५ बजे जोमसोमको लागि उडेको थियो । १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित उडेको तारा एयरको ट्वीनअटर ढल्ब्भ्त् विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः ०७ वजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।
सो पश्चात उक्त विमान सम्पर्क विहिन भएको प्राधिकरणले जनाएको छ । विमानको बारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टरलाई त्यसतर्फ पठाइएकोमा प्रतिकूल मौसमको कारणले उक्त हेलिकप्टर पुनः जोमसोम नै फर्किएको पनि प्राधिकरणले जनाएको छ ।
काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको र मौसममा सुधार आउनासाथ हवाई मार्गबाट खोज कार्य पुनः शुरु गरिने प्राधिकरणले जनाएको छ । हराएको विमान खोज्न स्थलमार्गबाट समेत नेपाली सेना र नेपाल प्रहरी त्यसतर्फ प्रस्थान गरिसकेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।