काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १० रुपैयाँले घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार तत्कालका लागि पूर्वाधार करको रकमसँग बराबर हुने गरी प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय भएको हो ।
‘करको दररेटको सन्दर्भमा मन्त्रिपरिषद्को जेठ १० गतेको निर्णयअनुसार अर्थ मन्त्रालयले जेठ १७ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको थियो । पत्रका आधारमा निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि मूल्य घटाउने निर्णय गरेको छ,’ सहप्रवक्ता कार्कीले भने, ‘मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ७० रुपैयाँ, डिजेल १ सय ५३ रुपैयाँ र मट्टीतेल १ सय ५३ रुपैयाँ कायम भएको छ ।’
इन्धनमा भइरहेको मूल्य वृद्धि र त्यसले पारेको चौतर्फी असर कम गर्न कर समायोजन गरी मूल्य घटाउने चौतर्फी दबाब थियो । मूल्य वृद्धि नियन्त्रण गर्न भारतले कर एक्साइज ड्युटी घटाएर उपभोक्तालाई राहत दिने प्रयास गरेको थियो । यहाँ पनि पूर्वाधार कर घटाउनेबारे आवश्यक अध्ययन गर्न मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयलाई जिम्मा दिएको थियो । गत शुक्रबार प्रतिनिधिसभा बैठकमा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर समायोजन गरेर मूल्य घटाइने जानकारी गराएका थिए ।
मन्त्री बडूले प्रतिनिधिसभामा जानकारी गराएको दुई दिनपछि अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धि समायोजन गरिने बताएका थिए । अर्थले कर यथावत् राखेर पूर्वाधार कर बराबरको रकम फिर्ता गरिदिने जनाएको छ । यो नीति निगमको हित र प्रक्रियासम्मत नरहेको निगमका पूर्वकार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । ‘कर होस् वा मूल्य, भर्खरै बजेटसँगै ल्याइएको आर्थिक विधेयकबाट आउनुपथ्र्यो, त्यसो भएन । अर्थले सोधभर्ना गरिदिने भन्ने छ, त्यसका आधारमा सञ्चालक समितिले निर्णय गर्नु प्रक्रियासम्मत भएन,’ पौडेलले भने, ‘त्यसमा पनि सरकारले सोझै कर छुट दिँदा उपभोक्ताले करिब १२ रुपैयाँ छुट पाउँथे । भ्याट, ढुवानी कमिसन, डिलर कमिसन पनि बच्थ्यो । तर, प्रतिलिटर १० भने पनि रिफन्डको नीतिले उपभोक्ताले छुट पाउने करिब ७ रुपैयाँ मात्र हो ।’ उनले अर्थको निर्णय निगममा लगानी गरिदिएको जस्तो देखिएको बताए । ‘निगमलाई अनुदान दिएको हो कि ऋण हो रु या सेयरबापत लगानी गरिदिएको हो रु नीति स्पष्ट छैन,’ उनले भने, ‘आईओसीबाट मूल्य बढेर आएको छ । तर, यहाँ उल्टो उपभोक्ता मूल्य घटाइएको छ । यो निर्णय निगमको हितमा देखिँदैन । यसले दीर्घकालीन असर गर्छ ।’
अहिले अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य वृद्धिका कारण निगमको नोक्सानी चुलिएको छ । मूल्य समायोजनपश्चात् निगमलाई पेट्रोलमा ३१ रुपैयाँ ४१ पैसा, डिजेलमा २८ रुपैयाँ ३३ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ७ रुपैयाँ ५१ पैसा घाटा छ । मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ । ‘समग्रमा १५ दिनमा निगमलाई ३ अर्ब ८९ करोड नोक्सानी छ,’ सहप्रवक्ता कार्कीले भने, ‘जुन महिनाका लागि पहिलो किस्ताबापत १६ अर्ब र बाँकी बक्यौताबापतको १६ अर्ब गरी ३२ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यही अवधिमा ९ अर्ब ५ करोड मात्रै भुक्तानी गर्न सक्ने अवस्था छ ।’ निगमका अनुसार कच्चा तेलको मूल्य बढेकै कारण वैशाख मसान्तसम्ममा निगमको घाटा ४७ अर्ब पुगिसकेको छ । असार मसान्तसम्म ६० अर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।
इन्धनको मूल्य १० रुपैयाँ मूल्य घटयो
इन्धनको मूल्य १० रुपैयाँ मूल्य घटयो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु