भैरहवा – भैरहवा नजिकैको रोहिणी खोलामा आइतवार सवेरै रात्रिकालिन बस खस्दा नौ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा तीन दर्जन बढि यात्रु घाईते बनेका छन ।
जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस भैरहवा परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटनामा परेको हो ।
लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खस्दा ९ जनाको मृत्यु भएको र करिब ३ दर्जन यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
रुपन्देहीमा भएको यात्रुबाहक बस दुर्घटनामा मृतक ९ जनामध्ये ४ जनाको पहिचान खुलेको छ। स्रोतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीय बिष्णु पौडेल, बुटवल–११, कालिकानगरका कृष्णप्रसाद बस्याल, ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे र रौतहट जिल्लाका २० वर्षीय दिनेश दासको पहिचान भएको हो। पहिचान खुलेका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो।
सुरक्षाकर्मी र स्थानीयको उद्धारमा सबै घाइते यात्रुलाई उद्धार गरी अस्पतालमा पुर्याइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले तीनवटा जेसीभीको माध्यमबाट दुर्घटनामा परेको बसलाई पल्टाएर यात्रुको उद्धार गर्ने क्रम जारी रहेको बताए ।
उपचाररत घाइतेहरु
केसीका अनुसार अहिलेसम्म ३२ जना यात्रुलाई उद्धार गरी भैरहवास्थित भीम अस्पतालमा र युनिभर्सल शिक्षण अस्पतालमा पुर्याइएको छ । भीम अस्पतालमा ४ जना र युनिर्भसल शिक्षण अस्पतालमा ५ जना गरी ९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।