काठमाडौँ – काठमाडौँको फोहोर नुवाकोटको बन्चरेडाँडामा प्रहरी बल प्रयोग गरेर विर्सजन गर्न खोजिएको छ। ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले गरेको अवरोध प्रहरीले बल प्रयोग गरी फोहोर विर्सजन गर्न खोजिएको हो।
फोहोर विसर्जनका लागि काठमाडौँबाट बन्चरेडाँडा हिँडेका सवारीलाई सरोकार समितिले सडकमा अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको छ ।
धादिङको धुनिबेंसी नगरपालिका-१ र नुवाकोटको ककनी गाउँपालिका -३ क्षेत्रमा प्रहरीले धरपकड गर्दै अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ।
प्रहरीले २० जनाभन्दा बढी स्थानीयलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले घरघरमै पुगेर स्थानीयवासीलाई लाठी प्रहार गरिरहेको पीडितहरूले बताएका छन्। नुवाकोटको ककनी गाउँपालिका उपाध्यक्ष मिठु माया तामाङले प्रहरी नै लगाएर फोहोर विर्सजन गर्दा स्थानीय आक्रोशित भएको बताइन्।
उनले भनिन्, ‘प्रहरी प्रशासन नै लगाएर फाहोर फाल्न खोजिदैँछ । यस्तो नगरेको भए हुन्थ्यो, स्थानीय आक्रोशित भएका छन्। स्थानीयका समस्या काठमाडौँ महानगर र सम्बन्धित मन्त्रालयलाई बुझाउन नसक्नु हाम्रो त्रुटि भएको छ,
अब बुझाउनुपर्छ।’
तनाव भएपछि सहरी विकास मन्त्रालयले ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाका प्रमुखलाई छलफलको लागि बोलाएको उनले जानकारी दिइन्। उनका अनुसार आज बेलुका वा भोलि छलफल गर्ने तयारी भएको छ।
धुनीबेंसीको कुरुले क्षेत्र र नुवाकोटको बन्चरेडाँडा क्षेत्र अहिले तनावग्रस्त छ। सरोकारवाला समितिका अध्यक्ष श्रीराम ढुंगानासहित केही स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।