तनहुँ – देशकै अति नै व्यस्त पृथ्वीराजमार्गको आँबुखैरेनी सडकखण्डको भाँस्सिएको स्थानमा पहरो खनेर एकतर्फि साना सवारीसाधन संचालन गरिएको छ । पहिरोसँगै सडक तल नदीमा खसेकोले ठुला सवारीसाधन भने संचालन हुन सकेका छैनन ।
सडक विभागले भित्तातर्फको पहिरो करिब २ फिट काटेर शुक्रबार बिहान ११ बजेदेखि साना सवारीसाधन सञ्चालन गरिए पनि ठूला सवारी भने चल्ने अवस्था नभएको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले जानकारी दिए ।
यस खण्डको करिब २० मिटर सडक तल खसेको गैरेले बताए । उनले भने, ‘करिब २० मिटर सडक भासिएको छ । वरपरका ४० मिटर क्षेत्र जोखिममा छ ।’
‘सडक भासिएपछि २ फिट परसम्म पहिरो काटेर साना सवारी चल्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘ठूला सवारी चलाउने अवस्था छैन । त्यसका लागि पहिरो काटेर बाटो निर्माण गर्न लागेका छौं । केही दिनका लागि उक्त सडकखण्डमा ठूला सवारी साधन चलाउन नसकिने अवस्था छ ।’ आँबुखैरेनी गाउँपालिका ४ ड्यामसाइडमा शुक्रबार बिहान करिब ४ बजेतिर सडक भासिएको थियो ।
सडकको कुनातर्फ भित्ता सामान्य रुपमा जेसिबीले काटेर फालेपछि साना सवारी पास भएको छ । ठूला सवारी साधनलाई भने प्रवेश गराइएको छैन ।
सडक भाँसिदा बा १० च ४६७९ नम्बरको कार, ग १५ प २९५३ नम्बरको मोटरसाइकल, बा ३३ प १०८१ नम्बरको मोटरसाइकल खसेर बेपत्ता भएका छन् । तनहुँ प्रहरीका अनुसार मृत्यु भएका एक जनाको पहिचान खुलेको छ। गोरखाको सिरानचोक गाउँपालिका छोप्राकका केशव घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक राजेन्द्र रेग्मीले बताए। अर्का एकको पहिचान खुल्न बाँकी छ।