काठमाडौं – दिउँसो चार बजे। चाकुपाटस्थित चण्डी आदर्श सरल माविको गेटमा विद्यार्थीको भीडभाड थियो। त्यही भीडमा थिइन कक्षा छ मा पढ्ने अनिशा तामाङ।
उनको अनुहार थकित देखिन्थ्यो, कारण– उनको झोलामा सबै पुस्तक रहेनछ। उनलाई अहिलेसम्म स्कूलले तीनओटा पुस्तक मात्र उपलब्ध गराएको रहेछ। उनको झोलामा स्कूलले उपलब्ध गराएको गणित, विज्ञान र स्वास्थ्यको पुस्तक मात्र थियो। त्यसबाहेक उनले सातओटा कपी बोकेकी थिइन्।
त्यही भीडमा थिए सुशान्त तामाङ। उनी पनि अनिशासँगै कक्षा ६ मा पढ्ने रहेछन्। उनको झोलामा भने चारओटा किताब थिए। उनले स्कूलले उपलब्ध गराएको तीन ओटा पुस्तकबाहेक शिक्षकले सिफारिसमा बाहिरबाट किन्नुपर्ने एउटा पुस्तक किनेका रहेछन्। त्यसबाहेक उनको झोलामा पनि कपि थिए।
नयाँ शैक्षिक सत्र शुरु भएको एक महीना बितिसक्दा पनि उपत्यकाकै सामुदायिक विद्यालयमा देखिएको यो दृश्यले हाम्रो समग्र शैक्षिक क्षेत्रलाई देखाउँछ। पुस्तक अभावका कारण अध्यापनमा समस्या देखिएको कालिमाटिस्थित नीलबाराही माध्यामिक विद्यालयकी प्रध्यानाध्यापक जानुका नेपालले बताइन्।
“छ, आठ र नौं को किताब आएको छैन। सबै कक्षामा ६० जनाको हाराहारीमा विद्यार्थी छन्। आएको पनि सबै विद्यार्थीलाई पूग्ने छैन,” उनले गुनासो पोखिन्। कक्षा ६ को तीनओटा, ९ को दुईओटा र ८ को पाँच ओटा मात्र पुस्तक आएको उनले बताइन्। अरु कक्षाको पनि विद्यार्थी संख्या अनुसार पुस्तक अभाव भएको उनी बताउँछिन्।
उनी भन्छिन, “किताब नहुँदा पाठ्यक्रम हेरेर पनि पढाउन सकिन्छ। तर विद्यार्थीलाई होमवर्क दिन समस्या भएको छ।”
पाठ्यपुस्तक हुँदा जुन हिसाबले पढाई अगाडि बढ्थ्यो त्यो हुन नसकेको उनको मत छ।
संघीय राजधानी काठमाडौं उपत्यकामै पुस्तक अभाव रहँदा बाह्य जिल्लामा पुस्तकको सहज पहुँच हुने कुरै भएन। बर्दियास्थित बारबर्दिया नगरपालिका ९ बनगाई स्थित जनज्योती माविका शिक्षक गोपालबहादुर शाहीकाअनुसार विद्यालयमा कक्षा तीनभन्दा माथिल्ला केही कक्षाका एकाध पुस्तकबाहेक अन्य पुस्तक पुगेकै छैनन्। उनी भन्छन्, “कक्षा छ, सात, आठ र नौंका दुईरतीनओटा पुस्तक आए पनि अरु छैनन्। माग गरेका छौं। कहिले आइपुग्छ थाहा छैन।”
विद्यार्थीका हातमा किताब नहुँदा सिकाउन समस्या भएको उनले बताए।
“विद्यार्थीको हातमा किताब नभएपछि काम चलाउ पढाइ मात्रै हुने रहेछ। शिक्षकले एकोहोरो बोलिरहँदा विद्यार्थीले पढाइमा ध्यान दिएका छैनन्,” उनले भने।
बाराबर्दियामा जस्तै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको भीमेश्वरी मविमा पनि सबै थान पुस्तक नपुगेको प्रधानाध्यापक कृष्ण श्रेष्ठले बताए। “पाठ्यपुस्तक पूरा आएको छैन। हामीले माग गरेका छौं। उहाँहरूले ल्याउन सकेका छैनौं भन्नुभयो,” उनी भन्छन्, “एक तिहाई पाठ्यपुस्तक पनि आईपुगेको छैन। कुनै कक्षाको आएकै छैन कुनैमा एकरदुई ओटा छ।”
कक्षा ६ को अहिलेसम्म एउटा पुस्तक पनि विद्यालयमा नपुगेको गुनासो उनले गरे।
विद्यालय शुरु भएको एक महीना बित्दा पनि काठमाडौंसँगै जोडिएको जिल्लामा पनि किताब नपुगेकोमा उनले दुखेसो पोखे। चालु शैक्षिक सत्र एक जेठबाट शुरु भएर एक महीना बित्न लाग्दा पनि पाठ्यपुस्तक अभाव हुनुको कारण हो समयमा पाठ्यपुस्तक छपाइ नहुनु नै हो।
किताब छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले आवश्यकताअनुसार पुस्तक छाप्न सकेको छैन। अझै १५ लाख किताब छाप्न बाँकी रहेको केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यले जानकारी दिए।
“अब १५ लाख छाप्न बाँकी छ। हामीले छाप्दै पठाउँदै गरिहेका छौं,” उनले भने, “अभाव भएको जति डाटा कलेक्सन गरेर छाप्छौं।”
केन्द्रले आवश्यक ९० प्रतिशत पुस्तक बजारमा पठाइसकेको दाबी उनले गरे। अब १५ लाख पुस्तक मात्रै छाप्न बाँकी रहेकाले असार १५ सम्म आवश्यकताअनुसार सबै पुस्तक छापिसक्ने उनले बताए।