स्काठमाडौँ- स्टेटपाटर्नसिप प्रोग्राम एसपीपीमा साझेदारीका लागि नेपाली सेनाले अमेरिकालाई पत्र पठाएको खुलासा भएको छ । सन् २०१५ अक्टोबर २७ मा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेर पत्र पठाएको खुलासा भएको हो ।
यसअघि नेपाली सेनाले एसपीपी सम्झौताको प्रक्रियामा नेपाली सेना सहभागी नभएको र नहुने दावी गर्दै आएको थियो । तर बिहीबार सेनाले पठाएको पत्र सार्वजनिक भएसँगै नेपाली सेनाले दावी खण्डित हुन पुगेको छ । एसपीपीमा नेपालको संलग्नता नभएको सरकार र सेनाको दावी भइरहेका बेला सेनाले पठाएको पत्र नै सार्वजनिक भएपछि यो विषयमा नयाँ ट्वीस्ट आएको छ ।
बुधबार साँझ मात्रै नेपाली सेनाले विज्ञप्ति जारी गर्दै एसपीपी सम्बन्धी कुनैपनि सम्झौता र समझदारी नभएको दावी गरेको थियो । बिहीबारै प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले पनि सरकार एसपीपीमा सहभागी नभएको र नहुने बताएका थिए । तर एसपीपी सम्झौताका लागि अमेरिकालाई एमाले क्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएपछि पत्र पठाएको देखिन्छ ।
उनी सन् २०१५ अक्टोबरमा प्रधानमन्त्री भएका थिए । सेनाले अमेरिकालाई पठाएको पत्रमा सोही महिनाको २७ तारिखको मिति छ । त्यतिबेला रक्षामन्त्रीको कार्यभार पनि ओलीले नै सम्हालेका थिए । सो पत्र सेनाले सरकारकै निर्देशानुसार लेखेको हो । ‘नेपाल सरकारको निर्देशन बमोजिम नेपालको लागि निकट भविष्यमा ‘नेशनल गार्ड स्टेट पार्टनरसीप प्रोग्राम ९एनजीएसएसपी०’ स्थापनाको औपचारिक अनुरोध गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो’, पत्रमा भनिएको छ ।
ओलीभन्दा अघि काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री रहेका थिए ।
सेनाका प्रवक्ता नारायण सिलवालले सन २०१५ मा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकालाई पत्र पठाएको स्वीकार गरे । सरकारको स्वीकृत लिएरै सेनाले अमेरिकालाई पत्र लेखेको उनको भनाइ छ ।
पूर्व प्रधानसेनापति क्षेत्रीले लेखेको पत्रमा कुनै शंका मान्नुपर्ने कुरा नभएको उनको भनाइ छ ।