काठमाडौँ – प्रतिबन्धित लागूऔषध हेरोइनसहित सात दक्षिण अफ्रिकी नागरिक ठमेलबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो एनसीबीको टोलीले सेतो र खैरो ५१ केजी हेरोइनसहित उनीहरूलाई ठमेलको ५ होटलबाट पक्राउ गरेको हो ।
समातिने सबै महिला हुन् । उक्त परिमाणको हेरोइनको मूल्य १ अर्ब २ करोड रुपैयाँ बराबर हुने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार यति धेरै परिमाणको हेरोइन एकैपटक बरामद भएको यो पहिलो घटना हो ।
ब्युरो प्रमुख एसपी जीवनकुमार श्रेष्ठका अनुसार सेतो हेरोइन प्रतिकेजी २ करोड रुपैयाँसम्ममा कारोबार हुने गरेको छ । भारतमा पुर्याएपछि यसको मूल्य थप बढाएर कारोबार गर्न सक्ने उनले बताए । ‘यो हेरोइन नेपालमा खपत हुने भन्ने नै छैन, नेपाल हेरोइनको बजार पनि होइन, विगतका तथ्य र प्रमाणले पनि यो लागूऔषध भारत लैजानकै लागि ल्याइएको देखिन्छ,’ उनले भने । सातै जनाका लागि ठमेलका ५ होटल अफ्रिकाबाटै अनलाइनमार्फत बुकिङ गरेको देखिन्छ । प्रहरीले जेठ २६ देखि ३१ सम्म उक्त हेरोइन नियन्त्रणमा लिन विशेष अप्रेसन चलाएको थियो ।
पक्राउ पर्नेमा २९ वर्षीया सीबीसी थान्देकिले, ४६ वर्षीया मुरायल केडुकवाजी थेम्बेनी एनसाम्बा, ३९ वर्षीया टिसावालाला खानयिजिले एम्भोने, ३६ वर्षीया रोजिना नोन्केले जन्जे, २९ वर्षीया मल्हाको मौरिन मथिबा, ३७ वर्षीया मोरोएसी सुजान कोफु र ३० वर्षीया मोर्लेस बाडेनहोर्स्ट छन् । सीबीसी र मुरायल जेठ २९ मा दुबईबाट आएका हुन् । उनीहरूको साथबाट १६ केजी सेतो हेरोइन बरामद गरिएको छ । त्यस्तै, जेठ ३० मा टिसावालाला र रोजिना दक्षिण अफ्रिकाबाट दुबई हुँदै आएका हुन् । उनीहरूबाट ८–८ केजी बरामद भएको छ । जेठ २६ मा मल्हाको दुबई हुँदै आएकी हुन् । मोरोएसी जेठ ३१ मा कतारबाट र मोर्लेस दुबईबाट त्रिभुवन विमानस्थल अवतरण गरेकी हुन् । मल्हाको ७ केजी सेतो हेरोइनसहित जेठ ३० मा पक्राउ परेकी हुन् । मोरोएसीलाई ४ केजी सेतो र २ केजी खैरो तथा मोर्लेस ६ केजी सेतो हेरोइनसहित जेठ ३१ मा पक्राउ परेका हुन् ।
लगेजमा फल्स बटम लगाएर भित्र्याइएको हेरोइन केही दिनभित्रै भारत लैजाने तयारी थियो । त्यसका लागि केही मानिस आएको र तिनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार हेरोइन पास गर्न दक्षिण अफ्रिकादेखि भारतसम्म रहेका गिरोहले चरणबद्ध रूपमा सेटिङ गर्ने गरेका छन् ।
बिहीबार पत्रकार सम्मेलन गरी ब्युरोले पक्राउ परेकाको संक्षिप्त विवरण सार्वजनिक गरेको हो । उक्त हेरोइन दक्षिण अफ्रिकाबाट काठमाडौं हुँदै भारत लैजान लागिएको प्रहरीको भनाइ छ । सातै जनाले आफूहरूलाई दक्षिण अफ्रिकाको जोहानेसबर्गमा रहेका व्यक्तिले हेरोइनसहित पठाएको प्रारम्भिक बयान दिएका छन् । एसपी श्रेष्ठले यससम्बन्धी अनुसन्धान भइरहेको र थप सहयोग माग्दै इन्टरपोलसँग पनि समन्वय गरिने जानकारी दिए । इन्टरपोल विश्वका प्रहरीहरूको साझा संगठन हो ।
प्रहरीका अनुसार काठमाडौं ओर्लिएलगत्तै नेपाल र भारतमा रहेका गिरोहसँग सम्पर्क गर्न मोर्लेसले नेपाली सिमकार्ड लिनुका साथै नेपाली रुपैयाँ पनि साटिसकेको पाइएको छ । उनले कसका नाममा सिमकार्ड लिइन् भन्ने प्रहरीले खुलाएको छैन । सातै जना बढीमा दुई साताको भिजिट भिसामा नेपाल आएका थिए । अधिकांशले दक्षिण अफ्रिकास्थित नेपाली नियोगबाटै भिसा लगाएर आएको खुलेको छ ।
पक्राउ पर्नेमध्ये मुरायल २ महिनाअघि मात्रै दुईपटक काठमाडौं आएकी खुलेको छ । प्रहरीका अनुसार पछिल्लोपटक बरामद लागूऔषध भारतसम्म पुर्याउने योजनासहित सेटिङ मिलाउन ती महिला काठमाडौंमा आएर फर्किएकी र तेस्रो प्रयासमा नेपालसम्म ल्याउन सफल भएको देखिन्छ । फेब्रुअरी २७ फागुन १५ मा आएर मार्च ४ फागुन २ मा फिर्ता भएकी उनी महिना दिन नबित्दै मार्च २४ चैत १० मा आएर अप्रिल ५ चैत २२ मा फर्केकी अध्यागमनको अभिलेखमा देखिन्छ । उनले नेपालबाहेक अफ्रिकाका स्वाजिल्यान्ड र जिम्बावेको पनि पटक–पटक भ्रमण गरेकी अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् । पक्राउ परेका अरू ६ जनाको भने नेपाल भ्रमण पहिलोपटक हो । नेपालबाहेक उनीहरूले युगान्डा र जिम्बावेको पनि भ्रमण गरेको देखिन्छ । ६ जना दक्षिण अफ्रिकाबाट दुबई र एक जना मोरोएसी दक्षिण अफ्रिकाबाट कतार हुँदै काठमाडौं आएको प्रहरीको भनाइ छ ।
हेरोइन ओसारपसार गर्ने गिरोहसम्म पुग्न अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । अधिकांशलाई विदेशमा रहेको गिरोहले आउने–जाने हवाई भाडा, बसोबास खर्च र थप १ हजार ५ सयदेखि २ हजार अमेरिकी डलरसम्म दिएर ओसारपसारमा लगाएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । पक्राउ परेका सात जनाको कसुरअनुसार १५ देखि २० वर्षसम्म कैद र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनमा उल्लेख छ ।
यसअघि गत वैशाख ३ मा जाम्बियन नागरिक ३५ वर्षीया कपुतुला अविसर्ग लाजिम्पाटको एक होटलबाट ७ केजी खैरो हेरोइनसहित पक्राउ परेकी थिइन् । भोलिपल्ट उक्त लागूऔषध रिसिभ गर्न आएकी भारतको मिजोरमकी ३५ वर्षीया लाल्नुन पुईलाई प्रहरीले लाजिम्पाटबाटै पक्राउ गर्यो । पछिल्लोपटक पक्राउ परेका सातै जनाको नेक्सस पनि वैशाख ३ मा पक्राउ परेकी कपुतुलासँग मिल्दोजुल्दो रहेको प्रहरीको दाबी छ ।
२०७८ भदौ ३ मा २ केजी ९ सय ६६ ग्राम हेरोइनसहित दक्षिण अफ्रिकाकी ३० वर्षीय नागरिक सर्ली गामा कतार एयरवेजबाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकी थिइन् । त्यही दिन उनी कमलादीस्थित एक होटलमा पुगिन् । विमानस्थलबाटै उनको पिछा गरेको प्रहरीले होटलबाट उनलाई नियन्त्रणमा लिएको थियो ।
उक्त हेरोइन लिन भारतको बैंग्लोरबाट ३३ वर्षीय विजयसिंह भन्ने व्यक्ति आएका थिए । सिंह नेपालको कैलालीबाट नागरिकता जारी भएको र अपराध गर्नका लागि भारतमै रासनरआधारकार्ड बनाएर लागूऔषध कारोबारमा आवतजावत गर्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी स्रोत बताउँछ । उनी सर्ली गामाले नेपाल भित्र्याएको हेरोइन लिन आएका थिए । प्रहरीले भदौ ८ मा उनलाई पक्राउ गरेको थियो ।
भोलिपल्ट भदौ ९ मा तान्जानियाली नागरिक २६ वर्षीया गर्ट्रुड लियोनार्ड किमारो आफूमाथि प्रहरीले पिछा गरेको सुइँको पाएपछि भारततर्फ भाग्ने क्रममा सिन्धुलीको खुर्कोटबाट पक्राउ परिन् । किमारोले भदौ ३ मा पक्राउ परेकी सर्लिगामासँग सम्पर्क गरेको अनुसन्धानबाट खुलेपछि उनको पिछामा ब्युरोको टोली खटिएको थियो ।
त्यसपछि विगतमा नेपाल आएका दक्षिण अफ्रिका र तान्जानियाली शंकास्पद नागरिकमाथि प्रहरीले सूक्ष्म निगरानी अघि बढाएको थियो । त्यसकै निरन्तरता स्वरूप पछिल्लोपटक यति धेरै परिमाणको लागूऔषध हेरोइनसहित विदेशी नागरिक पक्राउ गर्न सकिएको एसपी श्रेष्ठले बताए ।
१ अर्ब २ करोड रुपैयाँ बराबरको हेरोइनसहित सात अफ्रिकी नागरिक ठमेलबाट पक्राउ
१ अर्ब २ करोड रुपैयाँ बराबरको हेरोइनसहित सात अफ्रिकी नागरिक ठमेलबाट पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु