काठमाडौं – सर्वसाधरणको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने इन्धनमा नेपाल आयल निगमले भारी मूल्य बृद्धि गरेको छ ।
इन्धनमा अनेक लगाएर जनताको ढाड सेक्दै आएको सरकारले जुनसुकै वहानामा जतिसुकै मूल्य वृद्धि गरेपनि उपभोक्ताहरु मौन बस्दे आएका छन ।
गएको आइतवार राति १२ बजेदेखि लागू हुने गरी तोकिएको मूल्य बृद्धिले इन्धनका भाउ चरम आकासिएको छ । पेट्रोलको मूल्य लिटरमै २१ रुपैयाँले वृद्धि गरेकोले अव उपभोक्ताले लिटरको १ सय ९९ रुपैयाँ तिर्नुपर्ने भएको हो।
पेट्रोलसँगै अब डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य २७ रुपैयाँ प्रतिलिटरले बढेर १९२ रुपैयाँ पुगेको छ।
निगमका अनुसार हवाइ इन्धन आन्तरिकतर्फ १९ रुपैयाँ लिटरमा बढ्दा १८५ रुपैयाँ, हवाइ इन्धन बाह्यतर्फ अमेरिकी डलर सयले वृद्धि हुँदा प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार छ सय ४५ कायम भएको छ।
एलपी ग्यासको मूल्य भने हाललाई पूर्ववत् कायम राखिएको निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोल लिटरमा १३.५८ पैसा, डिजेल १३.९५ पैसा, मट्टितेल ४३.०६ रुपैयाँ नाफा, हवाइ इन्धन आन्तरिकमा १३.६१ रुपैयाँ नाफा, बाह्यमा ५६.६७ पैसा नाफा र एलपी ग्यास प्रतिसिलिन्डर ७५१.१४ रुपैयाँ घाटा रहेको छ।
यति मूल्य बढ्दा पनि मासिक रुपमा चार अर्ब ७० करोड घाटा रहेको निगमको दाबी छ। असार मसान्तसम्ममा करिब ५० देखि ५५ अर्ब रुपैयाँ नोक्सानी हुने देखिएको निगमले दाबी गरेको छ।
एलपी ग्यासतर्फ मासिक २ अर्ब २८ करोड घाटा रहने निगमले जनाएको छ। यसअनुसार निगमले भारतीय आयल कर्पोरेसनलाई तिर्नुपर्ने रकम २२ अर्ब बक्यौता पुग्ने देखिएको जनाएको छ।
आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले उक्त मूल्यवृद्धि गरेको हो। इन्डियन आयल कर्पोरेसनले निगमलाई चार दिनअघि १६ जुन २०२२ मा नयाँ मूल्यसूची पठाएको थियो। सोअनुसार इन्धनको लागत मूल्य बढेको थियो।