पोखरा – भीषण बर्षाले पोखरा महानगरपालिका वडा नं ४ स्थित फिर्केपुल नजिकैको जमिन भास्सिएको छ । जमिन भास्सिदा एउटा घरमा समेत क्षति पुगेको छ ।
फिर्केपुलदेखि उतरपूर्वि क्षेत्रमा बर्षाले भित्रि सडकको वीच भागमा ठुलो खाडल पर्दा सवारीसाधन आउजाउ ठप्प भएको छ । पोखरा वाग्लुङ्ग राजमार्गको नजिकैको सडकमा ठुलो भूवान परेका कारण सर्वसाधरणलाई हिडडुल गर्न समेत समस्या भएको छ ।
लगातारको भीषण बर्षाले पोखराको ठाउँ ठाउँको जमिन भास्सिनुको साथै डुवानमा परेको छ । अविरल बर्षाले पोखरा महानगरपालिकाका विभिन्न वडा र कास्कीका विभिन्न स्थानमा जमिनमा भूवान पर्ने र पहिरो गएको छ ।
पोखरा वडा नम्बर ४बुढानिलकण्ठ मन्दिर नजिक सडकसहित एक घर भासिएको छ । फिर्केखोला नजिकैको बुढानिलकण्ठ किरियाकर्म भवन अगाडिको बाटो करिब १५ मिटर भासिएको ‘सडक वारि र पारि गरेर पूर्ण रुपमा भास्सिएको छ । घरको बाहिरी भाग सकुसल छ । तर, भित्री कोठा भने भासिएर पूर्ण क्षति पु¥याएको छ ।
घनघोर बर्षाले हेम्जाको सुइखेतमा करिव दुई सय घरका पाँच सय बढि मानिस प्रभावित बनेका छन । विन्ध्यवासीनी मन्दिरदेखि पश्चिमतर्फको अंधेरीकुनातिरको सडक भलपानीले कटान गरेको छ । अर्मलामा पहिरो जाँदा आधा दर्जन घरपरिवार विस्थापित बन्न पुगेका छन ।
कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको बाढी सूचना केन्द्रले बिहान ३ बजे सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जानकारी दिंदै आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाढी सूचना केन्द्रका अनुसार त्यहाँ पछिल्लो चौबिस घण्टामा १७१.५ मिलिमिटर वर्षा मापन भएको छ । २४ घण्टामा १४० मिलिमिटरसम्म वर्षा मापन भएमा बाढीपहिरोको जोखिमको खतरा हुने बताइन्छ ।
अति भारी वर्षाका कारण कास्की र आसपासका खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।