नुवाकोट -त्रिशुली नदीमा हातखुट्टा धुनेक्रममा छोरालाई बगाएपछि बचाउन पसेकी आमा पनि वगेर बेपत्ता भएकी छिन । छोराको ज्यान बचाउन खोज्दा बेपत्ता हुने आमा नुवाकोटको विदुर नगरपालिका–३ का २८ बर्षिया संगीता श्रेष्ठ हुन । सात बर्षिय छोरा युनिकलाई शनिबार अपराह्न त्रिशूली नदीले बगाएपछि संगीता उद्धार गर्न नदीमा कुदेकी थिइन ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले विदुर नगरपालिका वडा नं ३ मैरिटारमा निवासी उनीहरू घर नजिकै ढोडेनीमा रहेको खेतमा काम गर्न गएका बेला घटना भएको वताए ।
खेतको काम सकेर घर फर्कनुअघि हातगोडा धुन लागेका युनिकलाई त्रिशूली नदीले बगाएपछि बचाउन नदी पसेको आमालाई समेत बगाएको स्थानीयवासीले प्रहरीलाई बताएका छन् । नदीमा पानीको बहाव ठूलो र पानीसमेत धमिलो भएकाले खोजतलासमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
हराइरहेका उनीहरूको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटसहित मातहतका प्रहरी एकाइ, सशस्त्र प्रहरी बल १९ नं गुल्म नुवाकोट र जबरजङ्ग गण देवीघाटबाट खटिएका १०० भन्दा बढी सुरक्षाकर्मी एवं स्थानीयवासी खटिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।