पोखरा- साँझ ढलेर कालो रात छिप्पिदै थियो । चकमन्न कालो रातमा आडैको सेती नदी सुसेसी हाल्दै वगिरहेको सुनिन्थ्यो । वरपरको बाक्लो झाडीमा झाँउकिरीको एकोहोरो झ्याँउ झयाँउले बातावरणमा झनै अत्यास लाग्दो बनेको थियो । एकतले घर बरपर साँझदेखि नै मानिसहरुको हुल जम्मा भएको थियो । मनमा अनेक शंका, कौतुहलता, त्रास, तर्क, वितर्क बोकेका मानिसहरु कतिखेर कहाँवाट ढुंगा बर्षिन्छ भनेर चनाखो बन्दै पर्खिरहेका थिए । आडैमा रहेको कालो कुकुर कान ठाडो पार्दै भूक्दै यताउता हेर्दै थियो, अचानक टिनको छानामा ढ्वाङ्ग गरेको आवाज सुनियो । लगत्तै आगनमा ढुंगा खसेको भेटियो । हल्का पानी परिरहेको बेला ओभानो ढुंगा देखेपछि वरपरका मानिसहरुभित्रको डर र त्रास झनै एकैपटक बाक्लियो ।
यो दृश्य देशकै ठुलो पोखरा महानगरपालिका ११ फूलवारीस्थित मणिपाल शिक्षण अस्पतालदेखि पश्चिम दक्षिणस्थित स्टाफ क्वार्टर नजिकै रहेको एक तले कच्ची घरको हो । भलाम जाने वाटोको कर्नर नजिकै रहेको घरको छानामा अदृश्य पाराले ढुंगा बज्रिन्छ भन्ने सुनेर मानिसहरु के रहेछ ? भनेर हेर्न आइपुगेका थिए ।
धादिङ्गबाट रोजगारी खोज्दै परिवारसहित पोखरा झरेका नवराज खड्का एक महिना जति भयो त्यो घरमा बस्न थालेको । तीन दर्जन बाख्रा, भैसी, पालेर श्रीमति र एक छोरा र एक छोरीसहित बसेका खड्का दम्पतिको घरको छानामा अदृश्य ढंगले ढुंगा बज्रिन थालेपछि दिनको भोक र रातको निन्द्रा हराएको छ ।
भलाम जाने बाटोको कर्नर नजिकै लगभग सुनसान स्थानमा रहेको कच्चीघरमा १० दिन भयो यसरी अदृश्य ढंगले छानामा ढुंगाले हानेको नवराजले वताए र्। गोठमा गए गोठमा, भान्सामा गए भान्सामा, खाटमा पुगे, खाटमा ढुंगाले हान्छ,’ घर वरपर चारैतिर प्रहरी र गाउँलेसहित डुल्दा पनि केहि नभेटिएको बताउँदै नवराजले भर्ने कहाँवाट यसरी ढुंगा आयो, हामी त दंग परेका छौ । कहिलेकाहि त आधा किलो भन्दा ठुलो ढुंगा पनि आउने भएकोले कतै चोट लाग्छ कि भनेर डर र चिन्ता लाग्न थालेको छ ।’
पोखराको बाल मन्दिरमा कक्षा १२ मा अध्ययनरत रश्मिला खड्काले घरभित्र एक ठाउँमा राखेको ढुंगा कसैले नदेख्ने गरी आफै छानामा ठोक्किएको आवाज सुनिने र हेर्न जाँदा राखेको ठाउँमा ढुंगा नभेटिएर अन्त्यै खसेको भेटिने वताईन । उनले भाडा माझ्दा, गोठमा जाँदा ढुंगा हान्ने वताउँदै शुरुमा कुनै व्यक्तिले काम तर्साउन हानेको अनुमान गरेपनि पछि घरभित्र एक ठाउँमा भएको ढुंगा कसैले नचलाइकन अर्को ठाउँमा छानामा ठोक्किएर खसेको देख्दा आश्चर्य लागेको वताइन । भात खान वस्दा थालमा ढुंगा खस्छ । सुत्दा सिरानीमा ढुंगा खस्छ
नवराजकी श्रीमति रिता खड्काले पनि घनघोर पानी परेको वेला पनि घरभित्र हानिने ढुंगा ओभानो हुने गरेको वताईन । ढुंगाको आकार र प्रकृति फरक फरक हुने गरेको उनीहरुले देखाए । कुनै ढुंगामा अलकत्रा लागेको थियो भने कुनैमा सिमेन्ट लागेको देखिन्थ्यो ।
कुनै वदमासले दुःख दिन र तर्साउन छानामा ढुंगा हानेको हुन सक्ने भन्दै खोजिका लागि प्रहरीलाई खवर गरेर वोलाएपनि अहिलेसम्म कोहि पक्राउ परेको छैन । घटनास्थलमा खटिएका प्रहरी र अन्य मानिसहरुलाई समेत पछाडिवाट ढुंगाले लागेपछि सवै आश्चर्य चकित बन्न पुगेका छन । घटनास्थलमा खवर संकलन गर्न पुगेका पत्रकार सरोज अधिकारीले समेत आफुलाई दुई पटक ढुंगाले लागेको वताए । ढुंगा लागेर एक महिला र एक पुरुषलाई रगत आउने गरी चोट लागेको नवराज खड्काले वताए ।
प्रहरीले घटनास्थल वरपर प्रहरी परिचालन गरेर खोजि कार्य गरिएपनि कसैलाई फेला पार्न नसकिएको जनाएको छ । बरु घरभित्र जमिनमा भएको ढुंगा गायव भएको ड्यूटिमा खटिएका एक हवल्दारले वताए ।
साँझ परेपछि अदृश्य ढंगले घर र मानिसलाई कस्ले हान्यो ढुंगा ?
साँझ परेपछि अदृश्य ढंगले घर र मानिसलाई कस्ले हान्यो ढुंगा ?

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु