काठमाडौँ — नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताएकी छन् । शुक्रबार उपसभामुखमा निर्वाचित भएसँगै नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपसभामुख भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएकी हुन् ।
संविधान कार्यान्वयनका लागि आफ्नो भूमिका रहने उल्लेख गर्दै भुसालले राष्ट्रिय राजनीतिको विविध आयामहरूलाई व्यवस्थापन गर्न, जनजीविकाको सवाललाई सदनमा उठाउनका लागि र मुलुकको समृद्धिका लागि आफूले भूमिका खेल्ने बताइन् । ‘संवैधानिक पद भएकोले निश्चय नै पहिलो काम अहिलेको सदनले जुन किसिमले उपसभामुखमा निर्वाचित गरायो । त्यसप्रति म आभार व्यक्त पनि गर्न चाहन्छु । निर्वाचित भइसकेपछि हाम्रो काँधमा केही जिम्मेवारीहरू थपिएका छन् । दायित्वहरू थपिएको छ,’ उनले भनिन्, ‘संविधान कार्यान्वयनको लागि, समावेशी लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेका आयामहरूलाई व्यवस्थापन गर्नको लागि, जनजीविकाको सवालमा सदनमा अत्यन्त महत्वपूर्ण ढंगबाट यो विषयवस्तुलाई उठाउन, मुलुकको आर्थिक समृद्धिको लागि सदनमा एउटा तटस्थताको भूमिकालाई निर्वाह गर्न जुन जिम्मेवारी थपिएको छ । त्यसलाई इमान्दारीपूर्वक निर्वाह गर्नेछु भन्ने कुरामा म दृढ छु ।’
त्यस्तै, उपसभामुख भुसालले संवैधानिक परिषद्मा समन्वयकारी भूमिका खेल्ने पनि बताइन् । संवैधानिक परिषद्सँग संविधानले राखेको अपेक्षा पूरा गर्न आफूले प्रभावकारी ढंगले काम गर्ने उउको भनाई थियो । ‘संविधानले संवैधानिक परिषद्लाई एउटा प्रमुख अंगको रुपमा मान्यता दिएको छ । संविधानको जुन भावना हो, संवैधानिक परिषद्ले जुन काम, कर्तव्यहरू निर्वाह गर्नुपर्छ, त्यो अनुसार संवैधानिक परिषद्मा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबैको उपस्थिति पनि रहेको छ,’ उनले भनिन्, ‘त्यो उपस्थितिको मागबमोजिम नै उपसभामुखलाई संवैधानिक परिषद्को एउटा सदस्यको रुपमा राखिएको छ । जुन अपेक्षा संविधानले संवैधानिक परिषद्सँग गरेको छ । त्यसमा आफ्नो भूमिका निर्वाह गर्नका लागि मैले इमान्दारीपूर्वक नै प्रभावकारी ढंगबाटै समन्वयकारी भूमिकाको रुपमा मैले आफ्नो भूमिका निर्वाह गर्नेछु ।’
भुसालले आफू सम्बद्ध राजनीतिक दलसँग सम्बन्धित सबै प्रकारका राजनीतिक जिम्मेवारीहरू स्थगित गरेको पनि जानकारी दिइन् ।
संघीय संसद्का गतिविधिमा पछिल्लो समय सक्रिय रहँदै आएकी कांग्रेसकी सांसद पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएकी छन् । उपसभामुखको साढे २ वर्षदेखि रिक्त संवैधानिक पदमा सत्तारुढ गठबन्धनबाट निर्वाचित भएकी हुन् । उनी दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् ।
२०७४ सालमा भएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा तत्कालीन वाम गठबन्धनकी एमाले उम्मेदवार शिवमाया तुम्बाहाङ्फेबाट पराजित भुसाल अहिले वाम गठबन्धनमा रहेको माओवादी केन्द्र र तत्कालीन एमालेबाट छुट्टिएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को भोटको बलमा उपसभामुखमा निर्वाचित भएकी हुन् । भुसाललाई जनता समाजवादी पार्टीका साथै लोकतान्त्रिक समाजवादी पार्टीले पनि भोट दिएको छ ।
२०७४ सालको उपभामुख निर्वाचनमा ५८ मत पाएर पराजित भएकी भुसालले २४२ मत खसेकोमा १४८ मत प्राप्त गरिन् भने त्यतिबेला २०१ मत आफ्नो उम्मेदवारको पक्षमा पारेको एमाले उम्मेदवार विद्या भट्टराईको पक्षमा भने ९३ मतमात्रै पर्यो ।
कांग्रेसको सचेतक रहेर संसदीय गतिविधिमा संलग्न रहेकी भुसाल २०१७ साल फागुन १ मा अर्घाखाँचीको पोखराथोकमा जन्मिएकी हुन् । उनका बुबा काशीनाथ गौतम राजनीतिमा सक्रिय थिए । पञ्चायतविरुद्ध कांग्रेसमा रहेर राजनीति गर्ने काशीनाथ सपरिवार १४ वर्ष भारतमा निर्वासित हुँदा पुष्पा पनि साथमै थिइन् । काशीनाथ २०१५ सालमा बीपी कोइरालाको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री थिए ।
राजनीतिक परिवारमा जन्मिएका भुसाल २०२८ सालदेखि सक्रिय राजनीतिमा लागेकी थिइन् । भुसालले नेपाली कांग्रेसको महिला र कानुन विभागका विभिन्न पदमा रहेर काम गरेकी थिइन् ।
‘महिला अधिकार र समानताको पक्षमा वकालत गर्नुहुने सांसद् भुसालले विश्वविद्यालयको प्राध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाउनुभयो । त्रिभुवन विश्वविद्यालयमा उहाँले १७ वर्ष प्राध्यापन गर्नुभयो । वरिष्ठ अधिवक्ता समेत रहनुभएकी उहाँ कानुन व्यवसायमा पनि सक्रिय रहनुभयो,’ संसदीय मामिला पत्रकार समाजले प्रकाशित गरेको ‘हाम्रा माननीय’ पुस्तकमा भुसालबारे उल्लेख छ, ‘भुसाल २०६४ को संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित हुनुभयो भने २०५६ र २०७० पराजित हुनुभयो । संविधान निर्माणमा संविधान मस्यौदा समितिमा रहेर उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।’
कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भुसालले कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय गरिसकेकी छन् । उनी नेपाल महिला संघको महासचिवका रुपमा पनि रहिसकेकी छन् ।
भुसाल वरिष्ठ अधिवक्ता पनि हुन् । उनी प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक-पटक राज्यद्वारा गिरफ्तारमा परेकी थिइन्। उनले विगतमा नेपाल बार एशोसिएसनको केन्द्रीय सदस्य रहेर पनि काम गरेकी थिइन् ।