पोखरा – जव रोग र दुर्घटनाका कारण मानिसको ज्यान र स्वास्थ्यमा समस्या देखिएर प्राण संकटमा पर्दछ तव विरामी र घाईते स्वस्थ्य जीवनको आशा वोकेर स्वास्थ्यकर्मी कहाँ पुग्दछन । स्वस्थ्य जीवन पाउन विरामीले चिकित्सकले जे भन्छन आज्ञाकारी बालकले जस्तै खुरु खुरु मान्दछन । चिकित्सकले सिफारिस गरेको औषधि खानेदेखि ज्यान नै जोखिममा राखेर शल्यक्रियाका लागि तयार बन्दछन । उपचारका लागि आवश्यक चिकित्सक र अस्पतालको शुल्क, औषधि आर्थिक हैसियतले नसकेपनि ऋणधन गरेर तिर्न पुग्दछन । चिकित्सक र स्वास्थ्यकर्मीहरुको कुशलता, मेहनतले रोगले पीडा बोकेर मृत्युको मुखमा पुगेका विरामीले नयाँ जीन्दगी पाउँछन । अनि चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि विरामी र आफन्तले भगवान सरह मान, सम्मान व्यक्त गर्दछन । स्वास्थ्य सेवा मानव सेवामध्ये सर्वोत्कृष्ट सेवा हो । तर पछिल्लो समय स्वास्थ्य क्षेत्र सेवा कम र व्यवसाय ज्यादा बन्दै गइरहेको छ । जसका कारण रोग, पीडा र आँसुले पिल्सिएका बिरामी र आफन्तहरु झनै मर्कामा पर्दै गएका छन ।
राज्यले तोकेको मापदण्ड पुरा नगरिकन चोक चोकमा खुलेका अधिकांश अस्पताल, औषधि पसल, प्रयोगशालाहरु विरामीलाई सकेसम्म धुत्न पल्किएका छन । सकेसम्म सम्पति कमाएर सुख, सयल र शानको जीन्दगी विताउने लोभमा चिकित्सकले कमिसन वटुल्न अनावश्यक औषधि सिफारिस गर्ने, प्रयोगशाला परीक्षण गराउने, चिरफार गर्ने, अस्पतालमा भर्ना गरेर आईसीयू, भेन्टिलेटरमा राख्ने प्रवृत्ति वड्दै गएको छ । स्वास्थ्य क्षेत्रमा इमान्दारितापूर्वक विरामीको उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि छन । मनभरी मानवता र सेवाको भाव वोकेर विरामीको उपचारमा समर्पित स्वास्थ्यकर्मीहरुको योगदान व्यापारमुखि चिकित्सक र अस्पतालको कर्तुतका कारण ओझेलमा परेको छ । परिणामतः स्वास्थ्य क्षेत्र पनि अन्य क्षेत्र जस्तै बदनाम बन्दै गइरहेको छ । जनताको विश्वास विस्तारै कम हुदै गएको छ ।
स्वास्थ्यकर्मीको होसियारी, कुशलता, मेहनत, इमान्दारिता र विरामीप्रतिको सेवाभावले ठुला भन्दा ठुला रोगहरुबाट बिरामीले मुक्ति पाएर नयाँ जीवन पाउँछन । तर तिनै स्वास्थ्यकर्मीको लार्पावाही, वेवास्ता र गैह् जिम्मेवारीपनले सामान्य विरामीले पनि अकालमा ज्यान गुमाउँछन । यसरी स्वास्थ्यकर्मीको लार्पावाहीले ज्यान गुमाएका विरामीहरु कति छन ?, त्यसको लेखाजोखा नै छैन । अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि उपचारको नाममा अस्पताल र स्वास्थ्यकर्मीहरुले गरेको लुटको लेखाजोखा गर्ने राज्यको निकाय निकम्मा नै बनेर बसेकोले स्वास्थ्य जस्तो पवित्र पेशामा पनि विकृति र विसंगतिको बाढि उर्लदो छ ।
चिकित्सक र स्वास्थ्यकर्मीहरु विरामीप्रति देखाएको वेवास्ता र लार्पावाहीले कसरी सामान्य विरामीको ज्यान जान्छ ? भन्ने उदाहरण नेपालको राजधानी काठमाडौको ललितपुरस्थित मेडिसिटीमा एक सामान्य विरामीले उपचारकोक्रममा ज्यान गुमााएको घटनाले पुष्टि गर्छ ।
पोखरा महानगरपालिका १० अमरसिंह शान्तिपथका घर भएका ७५ बर्षिय योगेन्द्र वस्नेत पित्त थैलीमा रहेको पत्थरीको उपचार गर्न मेडिसिटीमा पुगेका थिए । शिक्षा र खेलकुद क्षेत्रको विकासमा लामो समय खर्चिएका योगन्द्र बस्नेत गतिलो उपचारको आशामा देशकै नाम चलेका अस्पताल मध्येको एक मेडिसिटीमा जेठ १७ गते पुगेका थिए ।
एनआरएनएका संस्थापक उपेन्द्र महतोको समूहद्वारा सञ्चालित मेडिसिटीका चिकित्सकले बस्नेतलाई पित्त थैलीको शल्यक्रिया गर्नुपर्ने वताएपछि जेठ २२ गते ल्याप्रोस्कोपी अप्रेसन गरिएको थियो । अप्रेसन गरिएको तीन दिनमा वस्नेतको मृत्यु भएपछि परिवारले छानवीनका लागि दिएको उजुरीले उपचारमा लार्पावाही भएको खुलासा भएको थियो । विरामीको उपचारमा स्वास्थ्यकर्मीहरुवाट लापरवाही भएको अस्पतालले स्वीकार गर्दै निलम्वन मात्रै गरेको जनाउँद घटना ढाकछोप गर्न लागि परेको छ । मृतकका परिवार भने घटनाको छानवीन गरी दोषिमाथि कार्वाही गरी नेपाल मेडिकल काउन्सिलमा पुगेका छन ।
योगेन्द्रका छोरा समिरबहादुर बस्नेतका अनुसार स्वास्थ्य जाँचको क्रममा डा. सुनिल शर्माको सल्लाह अनुसार पित्त थैलीको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सामान्य रुपमा सकिएपछि बस्नेतलाई सामान्य शैयामा राखिएकोमा २४ गते बेलुका बिरामीले अपरेशन गरेको ठाउँमा दुख्यो भनेपछि आफन्तले नर्सलाई खबर गरेका थिए । उतिवेला नर्सले जाँच गर्दा रक्तचाप सामान्य देखिएको बताएका थिए । रक्तचाप सामान्य देखिएपछि ट्वाइलेट गएका विरामी योगेन्द्र त्यही ढलेका थिए । ढलेपछि पिता योगेन्द्रको मुख बांगिएको छोरा समिरले बताए ।
बिरामी ढलेपछि आएको चिकित्सकको टोली स्वास्थ्य जाँच गर्दा सामान्य अवस्था भएको भन्दै बाहिरिएको थियो । पीडित परिवारका अनुसार बेलुका ८ बजे वेड सार्न खोज्दा फेरि बिरामी ढलेका थिए । सोही रातको ३ बजे बिरामी अचेत भएको र मेडिकल अफिसर आएर कृत्रिम श्वास दिएर आइसीयूमा लगिएको थियो । आइसीयूमा लैजानु पर्ने अवस्था आएपछि मात्रै अस्पतालाका चिकित्सकले भिडियो एक्सरे गरी अप्रेसन गरेकै ठाउँमा आन्तरिक रक्तश्राव भएको भन्दै पुनः अपरेशन गर्नुपर्ने बताएका थिए ।
यसरी अपरेशनपछि पनि रक्तश्राव नरोकिएको र ‘मल्टि अर्गान फेल’ भएकाले बिरामीलाई भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमै राखिएको अवस्थामा बिरामीको जेठ २५ गते मृत्यु भएको थियो । मृत्यु हुनुको मुख्य कारण चिकित्सकको गम्भीर लापरबाही भएको भन्दै पीडित पक्षले सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न अस्पतालमा निवेदन दिएको छ ।
पीडित परिवारले अस्पताल प्रशासन समक्ष ६ असारमा छानबिन गरिपाउँ भन्दै निवेदन दिएको थियो । अस्पतालले पीडितको माग अनुसार डा. जयन्द्र बज्राचार्यको नेतृत्वमा छानबिन समिति बनायो । उपचारमा नजाने चिकित्सक राजीव मिश्रसहित अन्य दुई जनालाई निलम्बन गरिएको अस्पतालले जनाएको छ । तर, अन्य दुई जनाको नाम भने अझै सार्वजनिक गरिएको छैन ।
उपचारमा संलग्न मुख्य चिकित्सक डा. सुनिल शर्माका अनुसार जेठ २४ गते राती १० बजे डा. राजिव मिश्रले बिरामीको स्वास्थ्य अवस्था ठिक भएको भन्दै आफूलाई जानकारी गराएको बताएका छन । तर, सेकेन्ड कल डाक्टर मिश्रलाई अस्पतालमा गएर जाँच गर्नुभन्दा नगइकन उनले सिनियर चिकित्सकलाई बिरामीको स्वास्थ्य अवस्था ठिक भएको भन्दै गलत रिपोटिङ गरेका थिए ।
पीडितको दबाबपछि अस्पतालले मिश्रलाई सोध्दा हात काटेकाले डिउटीमा नगएको गैर जिम्मेवार जवाफ दिएका थिए । यसरी विरामीलाई निगरानीमा राखेर हेर्नुपर्ने चिकित्सकले नै अस्पताल नै नगई सिनियरलाई गलत रिपोटिङ गरेका कारण अनाहकमा सामान्य अवस्थामा रहेका विरामी योगेन्द्रले ज्यान गुमाउनु परेको छ ।
भेन्टिलेटरमा रहेको बिरामीलाई सोडियम र हेमोग्लोबिन कम हुँदाहुँदै चिकित्सकले गम्भीरतापूर्वक नलिनु र बिरामी अचेत भएपछि मात्रै विशेषज्ञ चिकित्सकको खोजी हुनु जनस्वास्थ्यमाथिको गम्भीर खेलवाड रहेको अस्पतालकै एक चिकित्सक बताउँछनन् । पीडित परिवारले जेठ २४ गते बेलुका ६ बजेबाट उपचारका लागि कुन–कुन चिकित्सक उपस्थित भए र के–के उपचार विधि अपनाइयो भन्ने सत्यतथ्य छानबिन गरेर कारबाही गर्न मेडिकल काउन्सिल समक्ष माग गरेका छन ।
मेडिकल काउन्सिलमा गत असार २८ गते नै पीडित पक्षले रजिष्ट्रार डा. कृष्ण अधिकारीलाई भेटेरै उजुरी दर्ता गराएको थियो । तर, अहिलेसम्म पनि काउन्सिलले मेडिसिटी अस्पतालसँग घटनाबारे बुझ्ने प्रयास गरेको छैन ।
अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको लार्पावाहीले पोखराका बस्नेतको मृत्यु भएको खुलासा
अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको लार्पावाहीले पोखराका बस्नेतको मृत्यु भएको खुलासा
"मेडिकल काउन्सिलमा गत असार २८ गते नै पीडित पक्षले रजिष्ट्रार डा. कृष्ण अधिकारीलाई भेटेरै उजुरी दर्ता गराएपनि काउन्सिलले मेडिसिटी अस्पतालसँग घटनाबारे बुझ्ने प्रयास गरेको छैन । "

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु