चितवन – धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेर घरको तीन तलामाथिबाट हाम फालेका श्रीमान्को पनि मृत्यु भएको छ । गम्भीर घाइते भएका श्रीमान् श्रीमती दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार भरतपुर महानगरपालिकन १० रमाइलो चोकमा आइतबार राति साढे १० बजेतिर ४३ वर्षीय कृष्ण आचार्यले ३५ वर्षीया श्रीमती रूष्मा घिमिरे आचार्यलाई खुकुरी प्रहार गरेका थिए ।
आफ्नै घरको तीन तलामाथिको बैठक कोठामा खुकुरी प्रहार गरेर आचार्य हाम फालेर भाग्न खोजेको प्रहरीको भनाइ छ । घरायसी विवादका कारण सो घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए ।
रूष्मालाई पुरानो मेडिकल कलेजको शिक्षण अस्पताल पुर्याइएकोमा चिकित्सकले पौने ११ बजेतिर मृत घोषणा गरेको थियो । यसैगरी तीन तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएका कृष्णप्रसाद आचार्यलाई उपचारका लागि चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको पनि हिजै राति ११ बजे निधन भएको डीएसपी अधिकारीले बताए ।