पोखरा – भीषण बर्षासगै गएको पहिरोले पोखराको लेकसाईडमा घर पुरिदा एक युवकको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना घाइते बनेका छन ।
मध्यराति एक बजेको समयमा घरमाथि बाट पहिरो खस्दा लेकसाइडको डिहिकोपाटन पछाडि पंधेरो भन्ने स्थानमा डेरा गरी बस्ने एकै परिवारका तीन जना पुरिएका प्रहरीले जनाएको छ । घटनामा माछापुच्छ्रे गाउं पालिका १ भुर्जुडं खोला तातोपानी घर भएका २६ वर्षिय सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । २७ वर्षिय सुनिता सुनार , उनकी छोरी १० वर्षिया सिम्रन सुनार घाईते बनेका छन । सुनिताका भाई सन्तोषलाई स्थानीयवासी र प्रहरीले उद्धार गरी गण्डकी मेडिकल कलेज पोखरामा लगेपनि चिकित्सकले मृत घोषित गरेका थिए ।
उनीहरु लक्ष्मी खड्का क्षेत्रीको घरको कोठामा भाडामा बस्दै आएका थिए ।
उद्वार कार्यमा कास्कीका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीको नेतृत्वमा १५ जना , वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरी पौडेलको नेतृत्वमा १० जना र सशस्त्र प्रहरी निरीक्षक उमेश ढकालको नेतृत्वमा १५ जनाको टोली खटिएको थियो ।
पहिरो आएपछि प्रहरी र स्थानीय बासिन्दाले उद्दार गरेका थिए । सुनिता घाईते अवस्थामा रहेको र उनलाई गण्डकी मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको छ भने उनको अवस्था खतरामुक्त रहेको छ ।
यसै बिच अविरल वर्षा पछि आएको पहिरोका कारण पोखरा महानगर २५ एकार भीरमा माथीबाट पहिरो आएपछि हेम्जाबाट लाचोक घाचोक जाने पक्की सडक अवरुद्ध भएको छ । प्रहरीले अहिले सड़क खुलाउने प्रयास गरिरहेको जानकारी दिएको छ ।
पोखरा महानगरपालिका १३ कमलपोखरी आसपासको क्षेत्रका घर डुवानमा परेका छन ।