पोखरा -गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पोखराका क्रियाशील पत्रकारद्वय रामप्रसाद तिमिल्सिना र राम गुरुङलाई प्रदान गरिएको छ ।
कार्यक्रममा गुरुङलाई विसं २०७७ र तिमिल्सिनालाई विसं २०७८ को पुरस्कार प्रदान गरिएको हो । पुरस्कार राशि जनही रु २५ हजार एक, दोसल्ला र सम्मानपत्र रहेको छ ।
पोखरावाट प्रकाशित विभिन्न पत्रपत्रिका तथा गोरखापत्र, राससमा काम गरिसकेका तिमिल्सेना हाल रेडियो नेपाल र गण्डकी वहस डटकममा आवद्ध छन । गुरुङ फोटो पत्रकारिता क्रियाशील छन् । पत्रकार तिमिल्सेना महासङ्घका उपाध्यक्ष छन् । गुरुङ लामो समयदेखि फोटो पत्रकारितामा आबद्ध छन् । पोखरा ११ फूलबारीका पत्रकारसमेत रहेका स्व। भण्डारीको स्मृतिमा उनको परिवारजनबाट स्थापना गरेको पुरस्कारबाट बर्सेनि एक जनालाई सञ्चारकर्मीलाई पुरस्कृत गरिँदै आइएको छ ।
पुरस्कार वितरण समारोहका प्रमुख अतिथि एंव गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वतन्त्रता, समाजवाद र विश्वबन्धुत्व पत्रकारिताको आधारस्तम्भ रहेकाले स्वतन्त्रता र समानताका लागि पत्रकारहरूले कलम चलाउनुपर्ने बताए ।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाले सञ्चालन गरेको गजेन्द्र भण्डारी स्मृति सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार अर्पण समारोहमा उनले भने, “जहाँ स्वतन्त्रता हुँदैन त्यहाँ पत्रकारिताले स्वतन्त्रता प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्दछ ।”
गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले समाजले पत्रकारिता क्षेत्रलाई सदैव सम्मान र भरोसा गर्दै आएकाले जनविश्वासमा कमी आउने खालका गतिविधि हुन नहुनेमा जोड दिए ।
जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईले सञ्चार क्षेत्र आवाजविहीनको आवाज बन्नुपर्ने बताए ।
अग्रज पत्रकार कोमलनाथ बराल संयोजक, कृष्णप्रसाद बास्तोला र श्याम कुँवर सदस्य तथा महासंघका अध्यक्ष विमला भण्डारी र सचिव माधव बराल पदेन सदस्य रहनेगरि गठित प्रतिभा छनोट समितिले पत्रकारद्वय तिमिल्सेना र गुरुङलाई पुरस्कृत गर्न छनोट गरेको थियो ।