काठमाडौँ – देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षा भएको छ । बर्षाका कारण ठाउँ ठाउँको जनजीवन कष्टकर हुनुको साथै प्रभावित बन्न पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा भएको हो ।
भारी वर्षाले ठाउँ ठाउँमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवनर यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।
शनिबारदेखि परिरहेको अविरल वर्षाले सिन्धुपाल्चोकको विभिन्न स्थानमा क्षति पुर्याएको छ । भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन् ।
बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका गाउँ–गाउँका सडक अवरुद्ध भएका छन् । अहिले हेलम्बुको खेतका फाँटबाट नदी बगिरहेको छ भने ठाउँ–ठाउँमा सडकैसडक खोला बगिरहेको छ ।
यसले गर्दा यातायातका साधन बाटोमै अलपत्र परेका छन् । नजिकिएको तीजका कारण माइत हिँडेका चेली र अन्य सर्वसाधारणका कारण भरिभराउ रहेका यातायातका साधन बीच बाटोमै रोकिँदा यात्रुलाई सकस भइरहेको छ । मेलम्चीको सिमखेत, हेलम्बुको विभिन्न स्थान, पाँचपाखेरीको राम्चे, भोताङ र गुन्सालगायतका बाटो अहिले अवरुद्ध भएका छन् ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङसहित पाँचपोखरी थाङ्पाल, हेलम्बु, इन्द्रावती गाउँपालिकाका अध्यक्ष क्रमशःटासी लामा, निमा ग्याल्जेन शेर्पा र झम्क नेपालले संयुक्त रुपमा पहिरो, खहरे खोला, नदी तटीय तथा जोखिमयुक्त स्थानमा नबस्न र सावधानी अपनाउन आग्रह गरेका छन् ।
गत वर्ष आएको बाढीका कारण हेलम्बु, मेलम्ची, इन्द्रावतीका केही भेग र पाँचपोखरी थाङ्पाल गाउँपालिकाकाको नदीतटीय क्षेत्रमा करोडौंको क्षति गरेको थियो । यसकारण पनि धेरै मानिस विगत दोहोरिएला भन्ने पिरलोमा देखिन्छन् ।