नयाँ दिल्ली – राजधानी नयाँ दिल्लीसँगै जोडिएको नोएडामा ७० करोडमा अनधिकृत रुपमा बनाइएको ३२ तले ट्विन टावरलाई आइतबार प्रशासनले ध्वस्त पारेको छ । १ सय ३ मिटर उचाइ भएका ३२ तलाका दुई अग्ला भवनलाई विस्फोटक पदार्थको प्रयोग गरेर ९ सकेन्डमै ध्वस्त पारिएको हो । भवन ध्वस्त बनाउनका लागि १७ करोड ५५ लाख खर्च गरिएको थियो ।
भारतीय समय अनुसार अपराह्न २ बजेर १५ मिनेटमा दुईवटै भवनमा बम विष्फोट गराइएको थियो । विष्फोट भएको ९ सेकेन्डमै दुवै भवन धुलोमा परिणत भएका थिए । वरपरको आकास क्षेत्र धुलोले ढाकिएको थियो । भवन माथिबाट तलपट्टि सिधा खसेको थियो । प्राविधिकहरूले त्यही अनुसार भवन भत्काउने तयारी गरेका थिए ।
उत्तर प्रदेशमा पर्ने नोएडाको ९३ सेक्टरमा सुपरटेक कम्पनीले अनुमति पाएको भन्दा फरक ढंगले दुवै भवन बनाएको थियो । सन् २००४ मा नोएडाका अधिकारीहरूले सुपरटेक हाउजिङलाई १० तलाको १४ वटा टावर बनाउने अनुमति दिएपनि त्यसविपरित सन् २००९ मा २४ तलाको दुईवटा बिल्डिङ निर्माण गरे । र सन् २०१२ मा त्यसलाई ४० तलाको बनाउन थाले । ३२ तलाको निर्माण भइसकेको थियो । उक्त भवनाम रहेका ६ सय ३३ फ्लैट बिक्री भइसकेको थियो । बहुतले भवनको निर्माणमा ७० करोड खर्च भएको थियो ।
अवैध तरिकाले उक्त बिल्डिङ बनाईएको उजुरी परेपछि इलाहावाद उच्च अदालतले सन् २०१४ मै उक्त दुवै भवनलाई अवैध घोषणा गरेर भत्काउने आदेश दिएको थियो । साथै त्यहाँ फ्ल्याट खरिद गरेकालाई १४ प्रतिशत व्याजसहित पैसा फिर्ता गर्न बिल्डरको नाममा आदेश गरिएको थियो । मुद्दा सर्वोच्चमा पुग्यो । सर्वोच्चले गत वर्ष अगस्ट २०२१ मा उच्च अदालतको आदेश अनुसार नै भवनलाई भत्काउने आदेश दियो । सर्वोच्चले ३१ अगस्ट २०२१ मा तीन महिना भित्रै ट्विन टावरलाई भत्काउन आदेश गरेको थियो । तर, आवश्यक तयारी गर्दा गर्दै उक्त आदेशको एक वर्षपछि मात्रै ट्विन टावरलाई भत्काइएको हो ।
३२ तलाको दुईवटा भवन भत्काउन कम्ता चुनौतिपूर्ण थिएन । टावर भत्काउने काम भारतको एडीफाइस र साउथ अफ्रिकाको जेट डिमोलिसन कम्पनीले पाएका थिए । ठूला बिल्डिङ भत्काउने अनुभवी ती कम्पनीले नोएडाको भवन पनि सफलतापूर्वक ध्वस्त पारेका थिए ।
ट्विन टावर भत्काउने क्रममा भवनमा ९८०० प्वाल पारेर हरेक प्वालमा १४ सय ग्राम विस्फोटक बारुद राखिएको थियो । बिल्डिङ भत्काउन ३७ सय किलो बारुदको प्रयोग गरिएको जनाइएको छ । ३ सय २५ किलो सुपर पावर जेल, ६३ हजार ३ सय मिटर सोलर कार्ड, सफट् ट्युब र १० हजार ९ सय डेटोनेटर लगायत सामग्रीको प्रयोग गरिएको छ । भवनलाई ध्वस्त बनाउन १७ करोड ५५ लाख खर्च गरिएको छ । उक्त खर्च अवैध रुपमा भवन बनाएको सुपर टेक कम्पनीबाटै असुल गरिनेछ ।
भवनलाई भत्काउनुअघि आधा किलोमिटरको क्षेत्रलाई खाली गराइएको थियो । वरपरका भवनलाई नोक्सान हुन नदिन सतर्कता अपनाइएको थियो । ट्विन टावरलाई भत्काउन ‘इम्प्लोजन’ प्रविधिको प्रयोग गरिएको हो । यस प्रविधिमा विस्फोटपछि सामग्रहीहरु बाहिर नछरिएर भित्रैपट्टि समेटिन्छ । जसले गर्दा बाहिरीको क्षेत्रलाई नोक्सान हुनबाट जोगाउँछ । आसा गरे अनुसार नै भवन भत्किएको र त्यस क्षेत्रमा धनजनको क्षति नभएको बताइएको छ । भवन ध्वस्त पारेपछि ८० हजार टनको धुलोको पहाड बनेको आकलन गरिएको छ । त्यसलाई सफाइ गर्न ३ महिना लाग्ने बताइएको छ ।