बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ। बेलायतको इतिहासमा सबैभन्दा बढी ७० वर्ष शासन चलाएकी एलिजाबेथको बिहीबार ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको हो। उनी बेलायतसँगै अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुन् ।
२१ अप्रिल १९२६ मा लन्डनको मेफएरमा जन्मिएकी महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन्। उनको शासनकालमै बेलायतमा १५ जना प्रधानमन्त्री भए।
नेपाल भ्रमणका क्रममा १८ अक्टोबर १९६० मा राजा महेन्द्रसँग महारानी एलेजाबेथ द्वितीय।
एलिजाबेश नेपालप्रति सद्भाव राख्थिन्। ब्रिटिश गोर्खाका कारण नेपाल र बेलायतबीचको मित्रता विशेष रहेको छ। नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको पहिलो मुलुक बेलायत हो। सन् १८१६ मा नेपाल र भारतको तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारबीच भएको सुगौली सन्धिसँगै बेलायत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
सन् १८१६ मा नेपाल र इस्ट इन्डिया कम्पनीबीच सुगौली सन्धिपछि नेपालीहरू ब्रिटिश सेनामा भर्ती हुन थाले। भारत स्वतन्त्र भएपछि सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच त्रिपक्षीय सम्झौता भयो। सोही बमोजिम नेपालीहरू बेलायती गोर्खा सेनामा भर्ती हुँदै आएका छन्।
प्रधानमन्त्री जंगबहादुर राणाले सन् १८५० मा बेलायत भ्रमण गरेपछि नेपाल(बेलायतबीच उच्चस्तरीय भ्रमण हुँदै आएको छ। यस क्रममा सन् १९६० र १९८६ मा महारानी एलिजाबेथले नेपालको दुई पटक भ्रमण गरेकी थिइन्। तत्कालीन राजा महेन्द्र र वीरेन्द्रको पालामा एलिजाबेथको राजकीय भ्रमण भएको थियो।
नेपालमा तीन दिन शोक मनाउने
महारानी एलिजावेथ द्वितीयाको निधनप्रति नेपालले तीन दिन शोक मनाउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
दिवंगत महारानीको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ।
बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा हिजो भदौ २३ गते निधन भएको थियो। उनको निधनप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।
सरकारले दुःखद घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।