काठमाडौँ – आगामी चुनावी मैदानमा नेताहरुले चाटुकार, आसेपासे र धनवालालाई रोजेपछि अधिकांश दलहरुमा नेता र कार्यकर्ताहरुले विद्रोह गरेका छन ।
कांग्रेस, माओवादी र एमालेभित्रै बागी उम्मेदवारीको बाढी लागेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पत्नी आरजुमार्फत गृहनगर डडेलधुराबाट उम्मेदवारी दर्ता गराएका छन् । ०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका देउवाको यो सातौं प्रतिस्पर्धा हो । देउवाका पूर्वस्वकीय सचिवसमेत रहेका कांग्रेस पूर्वजिल्ला सभापति कर्ण मल्लले पनि यही क्षेत्रबाट प्रतिस्पर्धा गर्दै छन् । बीपी कांग्रेसबाट मनोनयन दर्ता गराएका उनलाई एमालेको समर्थन छ ।
डडेलधुराबाट ६ पटक चुनाव जितेर पाँच पटक प्रधानमन्त्री भए पनि जिल्ला र क्षेत्रको विकासमा उल्लेख्य काम गर्न नसकेको मुद्दा अघि सारेर मल्ल देउवाविरुद्ध होमिएका छन् । पार्टी महाधिवेशनका बेला देउवासँग खटपट बढेपछि मल्ल कांग्रेस छाडेर बीपी कांग्रेसमा प्रवेश गरेका हुन् । देउवालाई अब विश्राम दिनुपर्ने मुद्दा अघि सार्दै अर्का युवक सागर ढकालले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
कैलाली–५ मा अघिल्लो पटक आरजु राणाले प्रतिस्पर्धा गरेकी थिइन् । यसपालि उनी समानुपातिकमा सरेकी छन् भने उनको जोडबलमा डिल्लीराज पन्तलाई गठबन्धनबाट उम्मेदवार बनाइएको छ । कांग्रेस नेता पुष्करनाथ ओझाले त्यहाँ स्वतन्त्र उम्मेदवारी दिएका छन् । सोही निर्वाचन क्षेत्रको ‘ख’ प्रदेश क्षेत्रबाट आरजुका स्वकीय सचिव प्रकाश देउवालाई उम्मेदवार बनाइएको छ । उनको उम्मेदवारीविरुद्ध नेविसंघका पूर्वउपाध्यक्ष क्षितिज भण्डारीले बागी हालेका छन् । प्रधानमन्त्री देउवा र आरजुको हैकमविरुद्ध आफूले बागी उम्मेदवारी दिएको उनले बताए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले मनोनयन दर्ता गराएको गोरखा–२ बाट कांग्रेसकी माधवी भट्टले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । सत्यनिरूपण तथा मेलमिलाप आयोगकी पूर्वसदस्य भट्ट गोरखाकै हुन् । यसअघि दाहाल चितवन–३ बाट उम्मेदवार बन्ने चर्चा थियो । तर, गठबन्धनका नाममा चितवनमा कांग्रेसलाई सधैं छायामा राख्न खोजिएको भन्दै विरोध बढेपछि दाहालमाथि जोखिम बढेको थियो, त्यसैले उनी गोरखा सरेका हुन् ।
आफू गोरखा सरे पनि चितवन–३ मा दाहालले बफादार भोजराज अधिकारीलाई अघि सारेका छन् । विरोधमा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले उम्मेदवारी दिएका छन् । भरतपुरको मेयरमा दाहालपुत्री रेनुविरुद्ध उम्मेदवारी दिएका जगन्नाथ पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्र्रेस नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएको तनहुँ–१ मा यस पटक पनि गोविन्दराज जोशीको स्वतन्त्र उम्मेदवारी परेको छ । पटक–पटक मन्त्री र कांग्रेसको सहमहामन्त्री भइसकेका जोशीको उम्मेदवारीले पौडेलको चुनौती बढाएको छ । ०७४ को संसदीय निर्वाचनमा पनि जोशीले पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए । भ्रष्टाचार मुद्दा सर्वोच्चमा विचाराधीन रहेको कारण देखाएर पौडेलले निर्वाचन आयोगमा निवेदन दिई जोशीको उम्मेदवारी खारेज गराएका थिए ।
त्यसैबेला बागी उम्मेदवारी दिएको आरोपमा जोशीमाथि पार्टीले अनुशासनको कारबाही गरेको थियो । जोशीको यस पटकको उम्मेदवारी पनि पौडेलविरुद्ध लक्षित छ । यस क्षेत्रबाट एमालेले एकबहादुर रानालाई उम्मेदवार बनाएको छ ।
कांग्रेसका पूर्वसांसद अमरेशकुमार सिंहले सर्लाही–४ बाट बागी उम्मेदवारी दिएका छन् । उक्त निर्वाचन क्षेत्रमा कांग्रेसकै नागेन्द्रकुमार रायलाई गठबन्धनका तर्फबाट उम्मेदवार बनाइएको छ । सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतविरुद्ध कांग्रेसका पूर्वक्षेत्रीय सभापति बद्री चौलागाईंले म्मेदवारी दिएका छन् । सिन्धुपाल्चोक–१ माओवादीले पाएपछि बस्नेतलाई २ नम्बरबाट टिकट दिइएको थियो । गठबन्धनबाट माओवादीले पाएको क्षेत्र १ मा पनि रामकुमार जीसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । जीसी सुनकोसी गाउँपालिका–२ का इकाई सभापति हुन् ।
उता, राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य
चिह्नबाट उम्मेदवार बनाइएपछि एमाले कार्यकर्ताले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । थापालाई जिताउन एमाले अध्यक्ष केपी ओलीले मकवानपुर १ खाली गरिदिएका थिए । एमाले स्थायी कमिटी सदस्य प्रभु साहले रौटहट ३ मा स्वतन्त्रको हैसियतमा मनोनयन दर्ता गराएका छन् । तालमेल गर्दा जनता समाजवादी पार्टीको भागमा परेका सबै क्षेत्रमा साह समूहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ । आफ्नो नेतृत्वमा एमाले प्रवेश गरेका अन्य नेतालाई एमालेले टिकट नदिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
रूपन्देही ५ मा एमालेका आधिकारिक उम्मेदवार खिमलाल भट्टराईविरुद्ध एमाले प्रदेश कमिटी सदस्य बासुदेव घिमिरेले बागी उम्मेदवारी दिएका छन् । आइतबार बिहानसम्म घिमिरे नै आधिकारिक उम्मेदवार थिए, यसका लागि उनलाई पार्टीले पत्रसमेत दिएको थियो । तर मनोनयन दर्ताको केही समयअघि घिमिरेको टिकट खोसेर एमालेले राष्ट्रिय सभा सदस्य भट्टराईलाई उम्मेदवार बनाएको छ ।
ओलीको स्वेच्छाचारसँग सम्झौता गरिरहन नसक्ने भन्दै एमाले त्याग गरेका घनश्याम भुसालले सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट माओवादीको भागमा परेको रूपन्देही १ मा उनले उम्मेदवारी दिएका हुन् ।
दाङ १ मा एमालेका आधिकारिक उम्मेदवार शान्ता चौधरीविरुद्ध गंगा चौधरी सत्गौवाले उम्मेदवारी दर्ता गराएकी छन् । काठमाडौं–७ मा एमालेबाट टिकट नपाएपछि रामवीर मानन्धरले पनि बागी उम्मेदवारी हालेका छन् । एमालेबाट कास्की ३ मा पनि बागी उम्मेदवारी परेको छ । एमालेका आधिकारिक उम्मेदवार दामोदर बैरागीविरुद्ध प्रदेश सचिवालय सदस्य जगन्नाथ बास्तोलाले बागी उम्मेदवारी दिएका हुन् ।
कैलालीमा टिकट वितरणमा असन्तुष्टि प्रकट गर्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मानबहादुर रावलले पार्टीबाटै राजीनामा दिएका छन् । दैलेख १ मा एमालेका आधिकारिक उम्मेदवार रवीन्द्रराज शर्माविरुद्ध एमाले नेता गोपाल
नेपालीले बागी हालेका छन् । स्याङ्जा–२ मा एमाले सचिव पद्मा अर्यालविरुद्ध कपिलदेव न्यौपानेले बागी उम्मेदवारी दिएका छन् । एमाले–जसपा गठबन्धनका उम्मेदवार प्रमोद साहविरुद्ध सर्लाहीमा एमालेका मानबहादुर खड्काले बागी उम्मेदवारी हालेका छन् ।
माओवादीबाट पनि गठबन्धनका उम्मेदवारविरुद्ध बागी परेको छ । काठमाडौं १० मा सत्तागठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार राजन केसीविरुद्ध माओवादी स्थायी कमिटी सदस्य अञ्जना विशंखेले उम्मेदवारी दर्ता गराएकी छन् । धनकुटामा कांग्रेसका सुनीलबहादुर थापाविरुद्ध माओवादीको पोलिटब्युरो समितिबाट राजीनामा दिएका हेमराज भण्डारीले उम्मेदवारी दिएका छन् । माओवादीका सप्तरी इन्चार्ज अशोककुमार मण्डलले सप्तरी १ मा बागी उम्मेदवारी दिएका छन् । कपिलवस्तु १ मा गठबन्धनका तर्फबाट माओवादीका सचिव एवं पूर्वमन्त्री चन्द्रप्रसाद खनालविरुद्ध कांग्रेसका ललित गुरुङले समेत उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट कास्की ३ का माओवादी उम्मेदवार रामजी बरालविरुद्ध अनिता भुर्तेलले उम्मेदवारी दिएकी छन् । उनी सहिद परिवारकी हुन् । माओवादीका उपमहासचिव हरिबोल गजुरेलले सिन्धुली २ बाट टिकट पाउने चर्चा थियो तर अध्यक्ष दाहालले सिन्धुली जिल्ला अध्यक्ष राजन दाहाललाई अघि सारेका छन् । अन्य पदाधिकारीले टिकट पाउँदा आफूलाई बाहिर पारिएको भन्दै गजुरेलले असन्तुष्टि पोखेका छन् ।
गुल्मी २ मा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीविरुद्ध कांग्रेसका दामोदर भुसालले उम्मेदवारी दिएका छन् । भुसाल कांग्रेस गुल्मीका क्षेत्रीय सभापति हुन् । कास्की–२ मा एकीकृत समाजवादीका श्रीनाथ बरालविरुद्ध कांग्रेसका पूर्वराज्यमन्त्री महादेव गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
भारतका लागि पूर्वराजदूतसमेत रहेका कांग्रेस नेता दीपकुमार उपाध्याय पार्टी नेतृत्वले आफ्नो सुरक्षा र स्वार्थलाई प्राथमिकतामा राखेर उम्मेदवार चयन गरेकाले देशभरै बागी र स्वतन्त्र उम्मेदवारी परेको बताउँछन् । ‘पार्टीको विचार र कार्यक्रममा होइन, गठबन्धन गरेर मात्रै चुनाव जित्न सकिन्छ भन्ने परम्परा दलहरूले स्थापित गर्न खोजेका छन्, जसरी पनि जित्ने र हराउने यो खेलले पार्टीको सम्भावना बोकेका नेताहरूसमेत बाहिर परेका छन्, यसले मुलुकलाई हित गर्ने देखिन्न,’ उनले भने, ‘नेताहरूले मतदातालाई पनि स्वतन्त्रतापूर्वक मत हाल्न नदिने र बन्धक बनाउने काम गरे ।’